मस्को – रुसमा विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा विरोघ प्रदर्शन गर्ने १४ सय भन्दा बढी प्रदर्शनकारीलाई रुसी सरकारी अधिकारीहरूले पक्राउ गरेका छन् । नाभाल्नीलाई दिइएको करिब तीन वर्षीय जेल सजायको अन्तर्राष्ट्रिय रुपमा नै निन्दा भएको छ । ब्रिटेन, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका र युरोपियन युनियनले उक्त जेल सजायको निन्दा गर्दै नाभाल्नीलाई तत्काल रिहा गर्न आग्रह समेत गरेको छ ।
अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नाभाल्नीलाई बिना कुनै सर्त तत्काल रिहा गर्न आह्वान गरेका छन् । मस्कोको एउटा अदालतले पुटिनका आलोचक एलेक्सी नभाल्नीलाई पहिलाको जेल सजायका बेला राखिएका सर्तहरू उलङ्घन गरेको भन्दै करिब तीन वर्षको जेल सजाय सुनाएको छ । गत महिना जर्मनीबाट रुस फर्किएलगत्तै पक्राउमा परेका उनलाई सो समयदेखि हालसम्म हिरासतमै राखिएको थियो गत अगस्टमा घातक विष हालेर खुवाइएपछि बिरामी परेका नाभाल्नीको झण्डै ज्यान गएको थियो र उनको जर्मनीमा उपचार भएको थियो ।
नाभाल्नीको समर्थनमा बुधवारको बिहान सवेरै रुसी शहरहरुमा जुलुस निकालेका १४ सय ८ जना पक्राउ परेका थिए । ती व्यक्तिहरु प्रायः जसो मस्को र सेन्ट पिटर्सवर्गका रहेका नागरिक अनुगमन समूह ओभीडी-इन्फोले जनाइएको छ । प्रायः लाई नाभाल्नीको सजायअघि पक्राउ गरिएको थियो । पछिल्ला दुई सातादेखि नाभाल्नीको गिरफ्तारीको विरुद्ध हजारौं देशव्यापी प्रदर्शनमा सामेल भएपछि नाभाल्नीका समर्थकहरूले यस निर्णयको विरोधमा अझ ठुलो प्रदर्शनको आह्वान गरेका थिए ।
प्रतिक्रिया