देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली सेनाको सहयोगमा घरघरमा खानेपानी

देशान्तर

पवर्त । नेपाली सेना केवलजङ्ग गुल्मको सहयोगमा पर्वतको मोदी गाउँपालिका–५ बाजुङको ओखलढुङ्गा बस्तीमा खानेपानी आयोजना सञ्चालनमा आएको छ । सेनाको रु १० लाख र मोदी गाउँपालिकाको रु २ लाख गरी रु १२ लाखको लागत तथा एक लाख बराबरको जनश्रमदानमा उक्त योजना सम्पन्न भएको हो ।

स्वच्छ खानेपानीको समस्या झेल्दै आएका ओखलढुङ्गावासीका लागि करिब दुई महिनाको अन्तरालमा खानेपानी योजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । खानेपानी पर्याप्त नहुँदा समस्यामा परेका ओखलढुङ्गाका २२ घरपरिवारका लागि अहिले घरघरमा खानेपानीका धारा सञ्चालनमा आएका छन् ।  

खोलाबाट पाइपमा पानी ल्याएर गाउँमा दुईवटा मात्रै धारा सञ्चालनमा ल्याइएको र सोही पानीलाई सबै परिवारले उपभोग गर्दै आएकामा नेपाली सेनाले आयोजना सञ्चालनमा ल्याएपछि स्थानीयवासीलाई राहतको महसुस भएको स्थानीयवासी कृष्णबहादुर क्षेत्रीले बताए । 

कार्यक्रममा खानेपानी आयोजनाको नेपाली सेना पश्चिम पृतना हेडक्वाटरका पृतनापति विनयविक्रम राणा र मोदी गाउँपालिकाका प्रमुख प्रेम पौडेलले संयुक्तरूपमा शुभारम्भ गरेका थिए । कार्यक्रममा पृतनापति राणाले नेपाली सेना सदैव जनताको साथमा रहेको बताउँदै सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा समाजमा प्रभाव पार्ने काम सेनाले सञ्चालन गर्दै आएको स्पष्ट पारे । 

मोदी गाउँपालिका पर्वतका अध्यक्ष प्रेम पौडेलले नेपाली सेनाको सामाजिक सेवाभावप्रतिको जागरुकताको कदर गर्दै साँच्चिकै समस्यामा परेका नागरिकलाई सेनाले सदैव सहयोगी भाव दर्शाउनसमेत अनुरोध गरे । 

 उक्त आयोजनाबाट मोदी गाउँपालिका–५ बाजुङ ओखलढुङ्गा गाउँका २२ परिवारसहित एक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी लाभान्वित हुने भएका छन् । समुदायको मागबमोजिम नेपाली सेना र समुदायको सक्रियतासँगै मोदी गाउँपालिकाको समन्वयमा खानेपानी आयोजना समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको केवलजङ्ग गुल्म पर्वतका गुल्मपति रमेश थापाले बताए । रासस