बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा विजयी भएको छ । आइतबार राति भएको खेलमा कप्तान लियोनल मेस्सीले ६ सय ५० क्लब गोल पनि पुरा गरेका छन् । बार्सिलोनाले एथ्लेटिक विल्बाओलाई २–१ गोल अन्तरले पराजित गरेको हो । नतिजासँगै बार्सिलोना तालिकाको दोस्रो स्थानमा पनि उक्लिएको छ ।
बक्सको ठीक बाहिरबाट प्रहार भएको फ्रि–किकका लागि एथ्लेटिकले ५ जनाको वाल राखेको थियो । त्यसको पछाडि एकजना र पोष्ट नजिकै अर्का एक खेलाडी थिए । र, पनि मेस्सीले टप कर्नरबाट गोल गर्न सफल रहे । क्लबका लागि उनको यो ४९ औं फ्रि–किक गोल हो ।
पहिलो हाफमा अग्रता बनाए पनि दोस्रो हाफको सुरुमै जोर्डी अल्बाको आत्मघाती गोलका कारण एथ्लेटिकले खेल बराबरी गरेको थियो ।
तर, ७४ औं मिनेटमा एन्टोइन ग्रिजम्यानले ओस्कार मिनगुएजाको पासलाई सदुपयोग गरी विजयी गोल गरे ।
बार्सिलोनाले रियल मड्रिडलाई गोलअन्तरमा पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । तर यी दुवै चीर प्रतिस्पर्धी एट्लेटिको मड्रिडभन्दा १० अंकले पछाडि छन् ।
बार्सिलोना र रियलको २० खेलबाट ४० अंक छ । एक खेल कम खेलेको एट्लेटिकोको ५० अंक छ । उसले शनिबार मात्रै कार्डिजमाथि जित हासिल गरेको थियो ।
सिजनको निकै नै कमजोर सुरुआत गरेको बार्सिलोनाले पछिल्ला खेलहरुमा लय समाउन थालेको छ । पछिल्लो १० खेलमा उसले ८ जित र २ बराबरी खेलेको छ ।
प्रतिक्रिया