काठमाडौ – अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कबिहीन भएका छन्। अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।
‘केही दिनयता अन्नपूर्णका मिलका सञ्चालक हाम्रो सम्पर्कमा हुनुहुन्न’, प्रजिअ पौडेलले भने, ‘उखु उत्पादक किसानको बक्यौता दिनका लागि हामीले रोक्का गरेको खातामा रकम भए पनि अग्रवाल सम्पर्कमा नरहेका कारण भुक्तानी हुनसकेको छैन।
उद्योगले दिएको जानकारी अनुसार उखु उत्पादक किसानको करिव रु १७ करोड पुरानो बक्यौता मिलले तिर्न बाँकी रहेको थियो ।
‘उद्योगले किसानको भुक्तानी दिन करीब रु १७ करोड बाँकी रहेको बताएको थियो’, प्रजिअ पौडेलले भने।
यसैबीचमा रु ११ करोड १६ लाख उद्योगले किसानलाई भुक्तानीसमेत गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए।
उद्योगपतिको बैंक खाता रोक्का गरी उद्योगपतिलाई उखु उत्पादक किसानकै खातामा रकम हाली दिन प्रशासन र प्रहरीले संयुक्त रुपमा पहल गरेको थियो ।
अहिले पनि उद्योगपति अग्रवालको बैँक खातामा रु एक करोड ७३ लाख रहेको छ । उद्योपति सम्पर्कविहीन हुँदा किसानले पैसा पाएनौं भन्दै गुनासो गरिरहनुभएको प्रमुख राठौरले बताए।
प्रतिक्रिया