देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना खोप व्यवस्थापनका लागि सरकारले सातवटै प्रदेशमा संयोजक तोक्यो

देशान्तर

काठमाडौ । सरकारले कोरोना भाइरस विरुद्धको खोपको व्यवस्थापनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड खोप अभियान सञ्चालनलाई व्यवस्थित बनाउन र खोपको उचित व्यवस्थापनका लागि महाशाखा प्रमुखलाई संयोजकको जिम्मेवारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार खोप व्यवस्थापनका लागि प्रदेश १ को जिम्मेवारी डा तारानाथ पोखरेललाई दिइएको छ भने डा मदनकुमार उपाध्यायलाई प्रदेश २ को जिम्मेवारी दिइएको छ ।

त्यस्तै बागमती प्रदेशको डा। गुणराज लोहनी, गण्डकी प्रदेशमा डा। जागेश्वर गौतम, लुम्बिनी प्रदेशमा डा। विकास देवकोटा, कर्णाली प्रदेशमा डा- अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा डा। कृष्ण पौडेललाई संयोजक तोकिएको छ ।

उनीहरुलाई सम्बन्धित प्रदेशमा खोप अभियानका लागि तयारी, खोप लगाउने व्यक्तिको नामावली, तयारीका क्रममा हुने समस्या समाधानका लागि सहजीकरण गर्नेलगायतको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

भारत सरकारले नेपाललाई बिहीबार १० लाख डोज कोभिड खोप उपलब्ध गराएको छ । उक्त खोपलाई आवश्यक तयारी पुरा गरी सबै प्रदेशमा पठाउने तयारी मन्त्रालयले गरेको छ । १४ गते बुधबारदेखि सातै प्रदेशमा खोप अभियान सुरु गर्ने सरकारको तयारी छ ।