काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओली खोक्रो राष्ट्रवादी भएको बताएका छन् ।
राजधानीमा आयोजित प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले भने, ‘हिजो उनले जुन जुन शक्तिलाई विरोध गरेर राष्ट्रवादको नारा लगाउनु हुन्थ्यो तिनैसँग कुनै न कुनै रुपले लम्पसार परेर पार्टी फुटाई छाड्ने दुस्साहस गर्नुभयो । म अरु कसै विदेशीलाई दोष दिन चाहेको पनि छैन । मलाई कसैप्रति केही भन्नु छैन ।’
प्रचण्डले ओलीमाथि नै आफ्नो प्रश्न रहेको भन्दै ओलीको राष्ट्रवादी खोक्रो राष्ट्रबाद सावित भएको दाबी गरे । अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनर्स्थापना गर्ने प्रक्रियाको शुरुवात भएको बताएका छन् ।
प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास गनाएको टिप्पणी गरेका छन् । ‘यो राजतन्त्र पुनस्र्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन शुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नु पर्छ’ उनले भने ।
प्रचण्डले प्रधानमन्त्री ओलीलाई भित्तामा पुर्याउने चेतावनी दिए । ‘मैले जनयुद्धको नेतृत्व गरेको हो । कठोर हुन सक्छु । तपाईंले प्रचण्डलाई प्रयोग गरेर माधव नेपाललाई भित्तामा पुर्याउँछु भन्ने ठान्नुभएको थियो । गल्ती गर्नु भयो । तपाईंलाई अब म भित्तामा पुर्याउन सक्छु,’ प्रचण्डले भने ।
प्रतिक्रिया