देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वर्षौं भयो, बनेनन् राजधानीकै सडक

देशान्तर

काठमाडौं – त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक निर्माण थालेको पाँच वर्ष भयो । तर अझै निर्माण सकिएको छैन । त्रिपुरेश्वर खण्डको निर्माण सकिए पनि कलंकी–नागढुंगा खण्ड पूरा हुन सकेको छैन । यो सडकको म्याद तीन पटक थपिइसक्यो ।

सडक निर्माण गरेर हस्तान्तरण नगर्दै विभिन्न खण्डका कालोपत्रमा क्य्राक (पिच बिग्रिनु) देखिएको छ । नौ किमि सडकखण्डमा करिब १० प्रतिशत क्य्राक देखिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

‘केही ठाउँमा क्य्राक देखिएको छ, त्यसमा ओभरले गर्नुपर्छ,’ आयोजनाका प्रवक्ता अशोक यादवले भने, ‘कालोपत्रमा क्य्राक देखिएका ठाउँमा निर्माण व्यवसायीलाई आफ्नै पैसाले ओभरले गर्न भनेका छौं ।’ त्यसपछि मात्र सडक फाइनल हुनेछ । एक वर्षअघि यो खण्डको भौतिक प्रगति ९० प्रतिशत थियो । अहिले पनि त्यति नै छ ।

कलंकी–नागढुंगा खण्ड निर्माणको जिम्मा शैलुङ कन्स्ट्रक्सनले ज्वाइन्ट भेन्चरमा लिएको छ । शैलुङ नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी हो । नौ किमि सडक पाँच वर्ष पुग्दा पनि पूरा हुन सकेको छैन । उक्त खण्डको तीनतीन किलोमिटर गरेर ठेक्का गरिएको छ । दुई खण्डको ठेक्का शर्मा–शैलुङ–कान्छाराम जेभी र एक खण्डको लुम्बिनी–शैलुङ–साप जेभीले लिएका हुन् ।

‘तीन खण्डकै शैलुङले लिड गरेर काम गरिरहेको छ, अब त ठेक्का पनि पुरानो भइसकेको छ,’ उनले भने, ‘त्यति बेलै सम्पन्न गर्नुपर्ने हो, सडकपेटी बनाउनेलगायत काम नगरेर धेरै समय राखिदिँदा अहिले सडकमा समस्या देखिन थालेको हो ।’ सामान्यतया पाँच वर्षमा सडकको ओभरले गर्ने गरिन्छ ।

‘सडक समयमै बनाएर हस्तान्तरण नगर्दा कालोपत्रमा समस्या देखियो,’ यादवले भने, ‘यो सडकको सबै काम जेठसम्म सक्नैपर्छ ।’ यो सडकखण्ड धेरै सवारी गुड्नेमध्ये पर्छ । दैनिक करिब १० हजार सवारी यो खण्डबाट ओहोरदोहोर गर्छन् । चार खण्ड (त्रिपुरेश्वर–कलंकी खण्डसहित) कै ठेक्का रकम १ अर्ब ५२ करोड ३२ लाख ५१ हजार रुपैयाँ रहेको उनले जानकारी दिए ।

जोरपाटी–सुन्दरीजल सडकमा दुई वटा ठेक्कामार्फत काम भइरहेको छ । २०७३ असारमा सात किमि सडकको ठेक्का भएको हो । ‘अहिले प्रगति राम्रो छ, समग्रमा भौतिक प्रगति ५० प्रतिशत छ,’ यादवले भने, ‘स्थानीय तहबाट राम्रो सहयोग भएकाले काम अघि बढेको छ ।’

स्थानीयले समयमै सडकमा पर्ने घरटहरा नभत्काइदिँदा विस्तारको काम अघि बढ्न सकेको थिएन । यो पुरानो ठेक्का हो । ‘पुरानै ठेक्का सकिएका छैनन्, त्यसमा पनि नयाँ ठेक्का त भएकै छैन,’ उनले भने, ‘अहिले जेजस्तो उपलब्ध चौडाइ छ, त्यहीअनुसार सबै खण्डमा काम भइरहेको छ ।’ कान्तिपुर दैनिकबाट