देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीन सुरूङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै

देशान्तर

काठमाडौँ – बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्नेसहित तीन सुरूङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताएका छन्। हेटौंडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको १०४ वर्ष पुरानो २०० मिटर सुरूङ मार्ग निरीक्षणका क्रममा उनले सो जानकारी दिएका हुन्।

मन्त्री फुयाँलले काठमाडौंको बूढानीलकण्ठ र गोकर्णेश्वर-बालुवाताल तथा मकवानपुरको भीमफेदी-कुलेखानी पोष्टबहादुर बोगटी सुरूङ मार्ग निर्माणका लागि बजेट विनियोजित गरिसकेको बताए। उनले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले तीनै सुरूङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्ने क्रममा कानूनी प्रक्रिया पूरा गरिरहेको र केही दिनभित्रै सूचना प्रकाशित गरिने जानकारी दिए।

मन्त्री फुयाँलले प्रदेशका जनतामा विकासप्रतिको भरोसा दिलाउन इञ्जिनियर प्राविधिकलाई इमान्दारीका साथ काम गर्न निर्देशन दिए। उनले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयद्वारा केही दिनअघि पदपूर्तिको लागि दिइएको प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएका २२ इन्जिनियरलाई स्वागत गरे।

मन्त्री फुयाँलले हेटौंडा उपमहानगरपालिका–१५ स्थित राणाकालमा निर्मित १०४ वर्षीय पुरानो सुरूङ मार्गको स्थलगत अवलोकन गरेका थिए। यसै आर्थिक वर्षभित्र उक्त पुराना सुरूङ मार्गलाई सञ्चालन गर्न सम्भाव्यता प्राविधिक सर्वेक्षण भइरहेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ।