बलेवा – खोला बगेको पानीमा बाँसको चपेरोले बनाएको पँधेरो । सबेरै पानी लिन पुगेका पँधेर्नीहरु बिहान ढल्केपछि घर आइपुग्थे । पालो कुर्नुपर्ने, गाग्री भरिन पनि समय लाग्ने पँधेरोबाट फर्किदा घरमा भएका बुढापाका ढिलो भयो भनेर कराउँथे । बालबच्चालाई विद्यालय पठाउन अबेला र उमेरकालाई काममा जाने हतारो ।
बागलुङ नगरपालिका–१४ नारायणस्थानका महिलालाई केही वर्ष पहिलासम्म यस्तै समस्या थियो । खानेपानी मुहानको अभाव रहेको नारायणस्थानमा विगत लामो समयसम्म पानीको समस्या भोग्यो । बढ्दो जनसङ्ख्या र बसाइँसराइँसमेत बस्ती विकास भइरहेको नारायणस्थानमा अब भने खानेपानी समस्याका कारण पुराना पुस्ताले भोगेको समस्या कथा जस्तै हुनेछन् ।
नारायणस्थानकी तिलकुमारी बराईलीले पानी भर्न पँधेरो पुगेर फर्किदा सासूले ढिला गरेको भन्दै झपारेको अहिले पनि सम्झनुहुन्छ । “बाटो हिँड्नेले खाने पानी पाउँदैनथे, लाइन बसेर ल्याएको पानी सबैलाई दिन पनि नसकिने”, उनले भने, “पानीकै लागि धेरै समय बिताइयो ।” अहिले नारायणस्थानका घर–घरमा पानीका धारा पुगेका छन् । खोलाको पँधेरा पुग्नुपर्ने बाध्यता केही वर्ष पहिला हटेको नारायणस्थानमा अहिले घर–घरमा आफ्नै धारा छन् । भान्छाकोठा र गोठमासमेत आवश्यकता अनुसार धाराबाटै पानी खसाल्न सक्छन् ।
साना नातीनातीनालाई पहिलेको पानीका दुःख सुनाउँदा अचम्म मान्ने गरेको उनले बताए। नारायणस्थनामा बागलुङ नगरपालिका–१३ पैञ्यूपाटाको धारापानी, वडा नं १२ अमलाचौरको धापेखोलाबाट केही वर्ष पहिले पानी आएको हो । दर्जनौं घरको एउटा सामुदायिक धारोबाट पानी खान्थे उनीहरु । अहिले कालीगण्डकी किनारको पानी बिजुलीले तानेर दुई किलोमिटरमाथि नारायणस्थानको शिरमा पु¥याइएको छ ।
जिल्लामा अहिलेसम्म बनेको सबैभन्दा ठूलो लिफ्टिङ प्रविधिको आयोजना हो, नारायणस्थान खानेपानी संस्थाले सम्पन्न गरेको आयोजना । प्रतिसेकेण्ड आठ लिटर पानी दिनमा आठ घण्टा तानेर नारायणस्थानका घरघरमा चौबिसै घण्टा पानी पु¥याइएको खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष चक्रबहादुर खत्रीले बताए।
“पहिले प्रतिसकेण्ड ६ लिटर पानी थियो, अहिले १४ लिटरभन्दा माथि हुन्छ”, उनले भने, “आठ घण्टा मात्रै कालीगण्डकी किनारको पानी तान्दा सबैधारामा दिनभर पानी बाड्न पुग्छ ।” नारायणस्थानका ७९७ घरमा धारा पुगेका छन् । ६० घर परिवारले अहिले पनि सामुदायिक धाराको पानी खान्छन् ।
‘लागेको हिसाब दिनु प¥या, पानी जति पनि छ’ तिलकुमारीले भने, “पहिले खानेपानी पुगेको थिएन्, अहिले तरकारी लगाउन पनि पुगेको छ, ।” खानेपानी संस्थाको धारा जोड्न १५ हजार रुपैयाँ लाग्छ । विपन्न परिवारका लागि पाँच हजारमा घरघरमा धारा जोड्ने व्यवस्था रहेको खत्रीले बताए।
घरघरमा धारा पुगेपछि अहिले स्थानीयवासीको दैनिकी फेरिएको छ । सुख्खा माटोका डल्ला पल्टिने नारायणस्थानमा लहलह तरकारी फल्न थालेको वडा सदस्य नारायणप्रसाद श्रेष्ठले बताए। बटुवाले पानी नपाउने ठाउँ भनेर चिनिने नारायणस्थानमा अहिले सामुदायिक धारामा बटुवाले नुहाउनसमेत पुग्नेगरी पानी रहेको उनले बताए।
नारायणस्थानमा भैरहेको बस्ती विकासलाई समेत ध्यानमा राखेर नारायणस्थानमा पानीको प्रबन्ध भएको छ । “कालीगण्डकी किनारका मुहान सङ्कलन गरेर ल्याइएको पानी हामीले चौविसै घण्टा तान्न सक्छौं”, वडाध्यक्षसमेत रहनुभएका खत्रीले भने, “जनसङ्ख्या र बस्ती बढेमा अझै पचास वर्षलाई पानीको समस्या हुन्न ।”
पछिल्लो पटक कालीगण्डकीको किनारका मुहान सङ्कलन गरेर लिफ्टीङ प्रविधिमार्फत पानी माथी पु¥याउन रु दश करोड खर्चिएको हो । नेपाल सरकारको ८० प्रतिशत र स्थानीयवासीको २० प्रतिशत साझेदारीमा गत चैतमा योजना सम्पन्न भएपछि नारायणस्थानमा पानीको अभाव टरेको हो ।
प्रतिक्रिया