काठमाडौं । पश्चिमी वायुमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावका कारण आइतबार देशका धेरैजसो भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबारदेखि सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडी तथा तराईका थोरै भूभागहरूमा हल्का वर्षाको पनि सम्भावना रहेको छ।
आइतबार रातिदेखि पुष २१ गतेसम्म बागमती प्रदेश, प्रदेश १ र प्रदेश २ का धरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात र पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।
आंशिकदेखि सामान्य बदलीका कारण वर्षा र हिमपात हुन जाँदा अधिकतम र न्युनतम तापक्रममा केही गिरावट आई देशैभरी चिसो बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार २२ पुसदेखि भने यो प्रणाली कमजोर हुँदै जानेछ ।
प्रतिक्रिया