काठमाडौं । उपकुलपति नियुक्ति सिफारिस समितिको सदस्यहरू सधैं उही दोहोरिने कारण सधैं विवादमा पर्दै आएको काठमाडौं विश्वविद्यालय उपकुलपति सिफारिस समितिमा पुनः उनै दुई व्यक्ति परेपछि फेरि एकपटक विवादले चर्चा पाएको छ । त्यसको विरुद्ध काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले विज्ञप्ति नै जारी गरी कुलपति प्रधानमन्त्री केपी ओली र सहकुलपति शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई ध्यानाकर्षण गराएका छन् ।
आगामी माघ ७ गतेदेखि काठमाडौं विश्वविद्यालयका वर्तमान उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठको दोस्रो कार्यकाल पनि समाप्त हुँदैछ । आठ वर्षीय लामो कार्यकाल पूरा गरी बिदा हुँदै गर्दा नयाँ नेतृत्व सक्षम र अनुभवी व्यक्तिलाई हस्तान्तरण गर्न बारेमा यही पुस १३ गते सम्पन्न ८८औं साधारणसभा (सिनेट) मा छलफल भएको थियो । र सिनेटबाट नै सहकुलपति शिक्षामन्त्रीको अध्यक्षतामा विद्वान प्रबुद्ध व्यक्तिबाट सदस्यहरू मनोनयन गर्नुपर्ने माग उठ्दा उठ्दै ऐनमा व्यवस्था नै नभएको प्रावधानबमोजिम उपकुलपति छनोट समितिका सदस्यहरू परेपछि अहिले सर्वत्र आलोचना भएको छ । सिनेटभन्दा माथि जस्तो गरी काठमाडौं विश्वविद्यालय संरक्षण समिति नियम २०४९ को हवाला दिएर सदाझैं संस्थापक भीसी सुरेशराज शर्मा र उनैले सधै रुचाएका पूर्वसभामुख दमननाथ ढुंगाना परेपछि विरोधले चर्को रूप लिएको हो । शर्मा र ढुंगाना सिनेटर पनि होइनन् मात्र ट्रस्टी हुन् । फेरि यी दुवै जना समितिमा छैटौ पटक परेका हुन् । त्यसैले पनि समिति मिलिभगतमा पुनः डा. माकजूलाई नै उपकुलपति बनाउन गठन गरिएको चर्चा छ ।
सिनेटलाई छली संरक्षण समितिको नाममा सदैव एउटै गुटको कब्जामा केयूको नेतृत्व रहने भएपछि त्यहाँ कार्यरत सम्पूर्ण क्षमतावान् एवं इमानदार प्राध्यापकहरू अहिले विरोधमा उत्रिएका छन् । त्यसैको प्रतिनिधित्व गर्दै काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले ध्यानाकर्षण विज्ञप्ति निकालेको हो । स्वयम् वर्तमान उपकुलपति डा. माकजू आफू हुनुभन्दा पहिला एक पद एक व्यक्ति भनेर सिनेटमा चिच्याउने पात्र हुन् । साथै, उनले उपकुलपति दुई कार्यकालभन्दा रहनु हुँदैन भनेर संकल्प प्रस्तावमा हस्ताक्षर गरेका छन् । तर अहिले आएर उनै मुखियाहरूलाई सिफारिस समितिको सदस्य चयन गरेपछि केयूमा कार्यरत प्राध्यापकहरूले उनको नियतमाथि पनि शंका गरेका छन् ।
प्रतिक्रिया