प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधिका लागि प्रदेश एक र विभागीय क्लब एपीएफ भिड्ने भएका छन् । शनिबार भएका सेमिफाइनलमा एपीएफले सुदूरपश्चिम र प्रदेश एकले लुम्बिनी प्रदेशलाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् ।
शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश १ प्रतियोगिताको फाइनल पुगेको हो ।
खेलमा लुम्बिनीले प्रस्तुत गरेको ५३ रनको विजयी लक्ष्यलाई प्रदेश १ ले ८।५ ओभरमा विना विकेट गुमाएर पूरा गर्यो ।
जस अन्तर्गत टिमका लागि काजल श्रेष्ठले २२ तथा कप्तान रुविना क्षेत्रीले २६ रनको योगदान गरिन् ।
त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी १४।१ ओभरमा अलआउट हुँदै ५२ रनमा सिमित हुन् पुगेको थियो ।
लुम्बिनीका लागि नितु भण्डारीले सर्वाधिक २१ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक समेत जोड्न सकेनन् । ३० बलको सामना गरेकी नितुले उक्त रन बनाउने क्रममा १ चौका समेत प्रहार गरेकी थिइन् ।
बलिङतर्फ प्रदेश १ की संगिता राई र निग्मा तामाङले २–२ विकेट हात पार्दा कप्तान रुविना क्षेत्रीले पनि १ विकेट लिन सफल भएकी थिइन् ।
यस्तै, शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूर पश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपीएफ प्रतियोगिताको फाइनल पुगेको हो ।
फाइनल पुग्ने क्रममा सुदूर पश्चिमले दिएको ६१ रनको विजयी लक्ष्यलाई एपीएफले १५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।
टिमलाई जिताउन ओपनर ब्याटर ज्योती पाण्डेले अविजित रहदै २६ रनको योगदान गर्दा सरिता मगरले पनि अविजित रहदै १९ रन बनाएकी थिइन् । त्यसअघि ४।४ ओभरमा टिमको स्कोर १४ रन हुँदा कविता कुवँरको बलमा क्याच आउट हुन् पुगेकी कप्तान सीता राना मगरले ७ रन बनाएकी थिइन् ।
त्यसअघि खराब मौसमका कारण १६ ओभरमा घटाईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूर पश्चिम प्रदेशले निर्धारित पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ६० रन बनाएको थियो ।
टिमले उक्त रन बनाउने क्रममा उसका लागि मध्य क्रममा ब्याटिङ गर्न आएकी कविता जोशीले सर्वाधिक ठूलो पारी खेलिन् । अविजित रहेकी उनले २१ बलको सामना गर्दै २ चौकासहित २२ रनको योगदान गरेकी थिइन् ।
यस्तै टोलीका लागि ओपनर ब्याटर रेवती धामीले १२ रन तथा कविता कुवँरले ९ रन बनाएकी थिइन् ।
बलिङतर्फ एपीएफका लागि करुणा भण्डारीले सर्वाधिक ३ विकेट हात पारिन् । ४ ओभर बलिङ गरेकी उनले उक्त विकेट लिने क्रममा मात्र ११ रन खर्चिएकी थिइन् । यस्तै कप्तान सिता राना मगरले पनि १ विकेट लिन सफल भएकी थिइन् । फाइनल खेल आइतबार हुने छ ।
प्रतिक्रिया