देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भोलिदेखि अनलाईनबाट पुनः श्रम स्वीकृति

देशान्तर

काठमाडौं – वैदेशिक रोजगार विभागले भोलि (शुक्रबार) देखि अनलाईन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट आवेदन दिई श्रम स्वीकृति लिन सक्ने व्यवस्था मिलाएको हो ।

भोलि (शसक्रबार) देखि नै अनलाइन आवेदन भरेर पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताएका छन् । यो सेवा लागू भएसँगै पुनः श्रम स्वीकृति लिनका लागि विभागको कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने पनि उनले बताए ।

एकपटक विभागबाट आईडी लिएका, फिङ्गर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेका व्यक्तिहरुलाई पुरानै विवरणको आधारमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइएपछि अनलाइनबाटै आवेदन दिएर निःशल्क सेवा लिन सकिने व्यवस्था गरिएको दहालले जानकारी दिए । नयाँ श्रम स्वीकृतिका लागि पनि विभागले मेनपावर, मेडिकल र ओरेन्टेशन संस्थाहरुबाट बायोमेट्रिक विवरण तानेर अनलाइनबाट श्रम स्वीकृति दिने व्यवस्था गर्ने विषयमा छलफल गरिरहेको समेत दहालले बताए ।

अबको दुई महिना भित्रमा नयाँ श्रम स्वीकृति पनि अनलाइनमार्फत दिन सक्ने गरी काम भइराखेको बताए । बैदेशिक रोजगारीमा जान एकपटक श्रम स्वीकृति लिइसकेका व्यक्तिहरुले पुनः श्रम स्वीकृति लिनुपरेमा विभागको वेबसाइटमा रहेको अनलाइन श्रम स्वीकृति (एफईआईएमएस) मार्फत फारम भर्न सक्नेछन् । अनलाइनबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था गरेपछि विदेशमा बसेका नेपालीहरुलाई श्रम स्वीकृति लिन नेपाल आउनुपर्ने बाध्यता हटने पनि दाहालले बताए ।