इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टोन भिल्ला एक एक गोलको बराबरीमा रोकिएका छन् । सोमबार राति भएको खेलमा चेल्सीले सुरुवाती अग्रता जोगाउन नसक्दा स्पष्ट तीन अंक लिन पाएन । ३४ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा त्यो अग्रता कायम राख्न सफल भएको चेल्सीले दोस्रो हाफको पाँचौं मिनेटमा गोल खान पुग्यो । एस्टोनका लागि अनवार घाजीले गोल गर्दै खेल बराबरी गरेका थिए । सोमबार रातिको नतिजासँगै चेल्सीले लगातार पाँच खेलमा स्पष्ट तीन अंक लिन असफल रह्यो ।
यस्तैमा, चेल्सीका पूर्व स्ट्राइकर क्रिस सटनले नियमित जितको निरन्तरता दिन नसक्ने हो भने क्लबका प्रशिक्षक फ्र्यांक लाम्पार्डको भविश्य खराव बन्दै गइरहेको टिप्पणी गरेका छन् ।
१२ डिसेम्बरमा एभर्टनलाई पराजित गर्न सकेको भए चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा पुग्ने थियो । तर त्यसो हुन सकेन । पछिल्ला ५ मध्ये चौथो खेलमा चेल्सीले स्पष्ट तीन अंक हासिल गर्न नसकेको अवस्थामा उनको यस्तो प्रतिक्रिया आएको हो ।
‘यो समयमा उनीहरु संघटग्रस्त क्लब हुन् । किनभने उनीहरुले राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्,’ सटनले बीबीसी रेडियोसँग भने, ‘उनीहरु भुत्ते भएका छन् र फ्र्यांकले छिट्टै केहि गर्नुपर्छ । हामी सबैले बुझेका छौं चेल्सी खराव दिशामा छ ।’
चेल्सीको १६ खेलबाट २६ अंक भएको छ भने तालिकाको छैटौं स्थानमा छ । शीर्ष स्थानको लिभरपुलसँग ६ अंकको दूरीमा छ ।
सोमबार रातीकै खेलमा क्रिष्टल प्यालेस र लेस्टर सिटीबीचको खेल पनि १–१ को बराबरीमै सकिएको छ । लिगमा लगातार दोस्रो बराबरी खेलेको लेस्टर दोस्रो स्थानमा यथावत छ । उसको १६ खेलबाट २९ अंक भएको छ । कोरोना संक्रमित पाइएपछि म्यानचेस्टर सिटी र एभर्टनबीचको खेल स्थगित गरिएको छ ।
प्रतिक्रिया