टोखा नगरपालिकामा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सञ्चालनमा आएको छ ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण २०७६ चैतदेखि नेपाल सरकारले गरेको बन्दाबन्दीसँगै स्थगित भएको सेवा शनिबार (आज) देखि पुनः सञ्चालनमा आएको हो ।
२०७३ असारदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको ग्रान्डीले हालसम्म ५६ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिसकेको अस्पतालका प्रशासक हरि खड्काले जानकारी दिए ।
ग्रान्डीले अस्पतालभित्र हुने शल्यक्रियालाई आवश्यक पर्ने रगतका लागि आफ्नै ‘रक्तसञ्चार केन्द्र’समेत स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।
२०० शय्यामार्फत बिरामीलाई सेवा प्रदान गर्दै आएको ग्रान्डीले कोरोना संक्रमित बिरामीको उपचारका लागि ५४ शय्या छुट्याएर भेन्टिलेटर, आईसीयूसहित सेवा प्रदान गर्दै आइरहेको छ । ग्रान्डीले हालसम्म ३३० कोरोना संक्रमित बिरामीको उपचार सम्पन्न गरिसकेको छ ।
कोभिड संक्रमणसँगै ग्रान्डीमा बिरामीको चापसमेत घटेको छ । कोभिड संक्रमण सुरु हुनुपूर्व दैनिक ५०० देखि ७०० सम्म बहिरंग (ओपीडी) सेवा प्रदान गर्दै आएकामा हाल दैनिक २०० देखि ३०० बिरामी बहिरंग सेवाका लागि आउने गरेको अस्पतालका महाप्रबन्धक विकासमान सिंहले जानकारी दिए ।
कोभिड संक्रमणको समयमा ग्रान्डी अस्पतालमा शल्यक्रियासमेत घटेको छ । कोभिड-१९ अगाडि मासिक ४०० व्यक्तिको विभिन्न रोगको शल्यक्रिया गर्दै आएको ग्रान्डीले कोभिड सुरु भएसँगै महिनाको १०० हाराहारीमा शल्यक्रिया गरेको छ ।
कोभिडको समयमा सामान अभावसँगै भाउ बढ्दा उपचारमा समेत समस्या आएको उनको भनाइ छ ।
सरकारले कोभिड-१९ को उपचारका समयमा निजी स्वास्थ्य सेवा प्रदायक संस्थासँग छलफल नगरी एकतर्फी निर्देशिका जारी गर्दा समस्या परेको महाप्रबन्धक सिंहको भनाइ छ । २०६९ पुसमा स्थापना भएको ग्रान्डी अस्पतालमा हाल एक हजार स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् ।
-रासस
प्रतिक्रिया