समूह चरणको अन्तिम खेलमा जर्मन टोली बोरुसिया मोन्चेनग्लाडबाचलाई पराजित गरी स्पेनिस महारथी रियल मड्रिडले युरोपेली च्याम्पियन्स लिगमा नकआउट चरणको यात्रा पक्का गरेको छ ।
बुधबार राति घरेलु मैदान सान्टियागो बर्नबाउमा निर्णायक खेलमा फ्रान्सेली स्ट्राइकर करिम बेन्जिमाले निर्णायक गोल गरे ।
बेन्जिमाले खेलको सुरुआतमै २ गोल गरेका हुन् । उनले नवौं मिनेटमा लुकास भाज्क्वेज र ३१ औं मिनेटमा रोड्रिगोको पासमा गोल गरेका हुन् ।
१३ पल्टको युरोपेली च्याम्पियन रियललाई अन्तिम १६ मा पुग्न समूहको अन्तिम खेलसम्म कुर्नुपर्यो । तर अहिले ६ खेललबाट १० अंक बनाएको रियल समूह विजेता पनि बनेको छ ।
अन्तिम खेलमा पराजित भए पनि बोरुसिया मोन्चेनग्लाडबाचले नकआउट चरणको यात्रा तय गरेको छ । शक्तर डोनेस्कसँग समान ८ अंक भए पनि हेड टू हेडमा बोरुसियाले पछि पारेको हो ।
गएराति नै भएको खेलमा शक्तर डोनेस्कसँग गोलरहित बराबरी खेलेको इटलीको इन्टर मिलान समूह चरणबाटै बाहिरिएको छ । समूहको तेस्रो स्थानमा रहेको डोनेस्कले युरोपा लिग खेल्नेछ ।
प्रतिक्रिया