काठमाडौं । विभिन्न माग राखी विगत ४६ दिनदेखि हडतालमा रहेका वीर अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलन सुनियोजित रूपमा तुहाइएको छ । शुक्रबार वीर अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान र आन्दोलनरत पक्षबीच वार्ता भई पाँचबुँदे सम्झौता भएको भनिए पनि भित्री रूपमा वीरका पदाधिकारीहरूले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको डर तेस्याएपछि आन्दोलनका नाइकेहरू सहमतिमा आउन बाध्य भएको खुलासा भएको छ ।
स्रोतका अनुसार शुक्रबार प्रतिष्ठान र आन्दोलनरत पक्षबीच भएको वार्तापछि पाँचबुँदे सम्झौता भई आन्दोलन स्थगित गरेको भनिए पनि वार्ताका क्रममा आन्दोलनकारीहरूलाई वीरका वर्तमान पदाधिकारीहरूले हामीले राजीनामा दिएपछि प्रतिष्ठान भित्रैबाट नभई बाहिरबाट हाल स्वास्थ्य मन्त्रालयको प्रवक्ताको रूपमा कार्यरत डा. जागेश्वर गौतम प्रतिष्ठानको उपकुलपतिमा नियुक्त हुने त्यसपछि यति माग पनि पूरा नहुने भन्दै धम्क्याएका थिए । उक्त धम्कीपछि आन्दोलनकर्मीका तर्फबाट वार्तामा बसेकाहरू सहमतिमा आउन बाध्य भएको स्रोतले बतायो । ‘पदाधिकारीहरूले आन्दोलनकारीहरूलाई हामीले राजीनामा दियौं भने जागेश्वर गौतम उपकुलपति भएर आउँछ अनि तिमीहरूलाई बाजा बजाउँछ भनेर धम्क्याउने काम गरे’, स्रोतले भन्यो ।
वार्तामा मन्त्रालयको प्रतिनिधिको रूपमा डा. रोशन पोखरेल सहभागी भएका थिए । पोखरेलले वर्तमान पदाधिकारीले राजीनामा दिए डा. जागेश्वर गौतम अर्को उपकुलपति हुने जानकारी दिएको स्रोतले बतायो । गौतम उपकुलपति भएर आए कुनै पनि माग पूरा नहुने डर देखाएपछि आन्दोलनकर्मीका तर्फबाट वार्तामा बसेका डा. ऋषिकान्त अर्याल नेतृत्वको टोली पाँचबुँदे सहमतिमा हस्ताक्षर गर्न राजी भएको स्रोतले जानकारी दिएको ।
तर उक्त सहमतिप्रति वीरका धेरैजसो कर्मचारी तथा स्वास्थ्यकर्मीहरू असन्तुष्ट छन् । पाँचबुँदे सहमतिमा उनीहरूलाई साउनदेखिको दुई महिनाको मात्र भत्ता दिइने उल्लेख छ । जबकि सरकारले गत चैतदेखि नै कोभिड भत्ता दिने घोषणा गरेको थियो । कोभिड भत्ताको रूपमा उनीहरूले तलबको शतप्रतिशत मागे पनि ५० प्रतिशत अतिरिक्त रकम मात्र दिनेगरी सम्झौता गरिएको छ । यस अनुरूप अस्पतालमा फ्रन्टलाइनमा खटिनेमा कनिष्ट कर्मचारीहरूले भन्दा उच्च तहमा बसेकाहरूले लाभ उठाउने अवस्था बनेको छ । कनिष्ठ कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको तलबमान थोरै भएकोल भत्ता पनि थोरै नै पाउनेछन् । तर उनीहरूको तुलनामा उच्च तहका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले तलब बढी भएकाले ५० प्रतिशतको दरले पनि उल्लेख्य रकम हात पार्नेछन् । त्यसैले फ्रन्टलाइनमा खटिनेहरू यो सहमतिबाट असन्तुष्ट भएका छन् । सरकारले चैतदेखिकै कोभिड भत्ता उपलब्ध गराउने भने पनि बीर अस्पतामा कात्तिकदेखि मात्रै भत्ता वितरण गरिएको छ ।
पाँचबुँदे सहमति बमोजिमको माग पूरा गर्न वीरका पदाधिकारीहरूले ६ हप्ताको समय मागेका छन् । ६ हप्ताभित्र माग पूरा नभएर स्थगित आन्दोलन फेरि सुचारु हुने आन्दोलनरत पक्षले जनाएको छ । पाँचबुँदे सहमतिपछि प्रतिष्ठानको विभिन्न पदाधिकारीको कार्यालयमा लागेको तालासमेत खोलिएको छ ।
पाँचबुँदे सहमतिअनुसार आन्दोलनकारीहरूको मागमा सम्बन्धमा कोभिड भत्ता वितरणमा देखिएका त्रुटि सम्बोधनमा अस्पताल प्रशासन र आन्दोलनरत पक्षको प्रतिनिधिसमेतको समिति बनाई समानुपातिक वितरणका आधारमा सुधार गरी वितरण गर्ने व्यवस्था गर्ने भनिएको छ । यसैगरी कोभिड बिमा क्षतिपूर्तिका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक निर्णय गर्नेछ । कर्मचारीहरूले पाउने आर्थिक वर्ष २०७६/७७ को औषधि खरिद खर्च कार्यकारी परिषद्बाट निर्णय गरी आगामी ७ दिनमा उपलब्ध गराउने भनिएको छ । यसैगरी सेवा विस्तार भत्ताका सम्बन्धमा आगामी ६ हप्ताभित्र दुई महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित गर्दै जाने । बुँदा नं २ का सम्बन्धमा अस्पतालको पूर्ववत् सेवाहरूसहित थप सेवाहरू अझै प्रभावकारी रूपले सञ्चालन गर्ने भनिएको छ । बुँदा नं. ३ का सम्बन्धमा प्रतिष्ठान सेवातर्फ कार्यरत कर्मचारीको तलबभत्ता र अवकाशपछि प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष पत्राचार गर्ने भनिएको छ । बुँदा न ४ का सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको फैसलाबमोजिम गर्ने भनिएको छ ।
प्रतिक्रिया