देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पचास शय्याको जाजरकाेट अस्पतालमा बिरामी बोक्न डोको

देशान्तर

पचास शय्याको अस्पताल रहेको जाजरकाेट सदरमुकाम खलङ्गामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउने गरिएको छ ।

एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म मर्मत नगरेपछि जाजरकोट अस्पताल एम्बुलेन्सविहीन भएको छ । अस्पतालको एम्बुलेन्स नेपालगञ्जको कल्लु ग्यारेजमा थन्किएको छ ।

दुईवटा टायर फेर्न र मोबिल इञ्जिन फेर्नका लागि दुई वर्षअघि एम्बुलेन्स ग्यारेजमा लगिएको भए पनि रकम अभावमा मर्मत हुन नसकेको चालक राकेशकुमार शाहले बताए ।

एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पतालसम्म लैजान समस्या भएको छ । एम्बुलेन्स सञ्चालनमा नरहे पनि चालकले भने नियमित तलब भत्ता खाइरहेका छन् । रेडक्रसको एम्बुलेन्स पनि बिग्रिएपछि जाजरकोटमा एउटा पनि एम्बुलेन्स छैन ।

जिल्लानै एम्बुलेन्सविहीन हुँदा पनि मर्मत गरी सञ्चालन गर्नेतर्फ सम्बन्धित निकायको ध्यान नजानु दुःखद् पक्ष रहेको नागरिक बताउँछन् ।

एम्बुलेन्स नहुँदा स्थानीयले स्ट्रेचर र डोकोको सहारा लिने गरेका छन् भने जिल्लाबाहिर लैजान सार्वजनिक तथा निजी गाडी रिजर्भ गर्नुपर्ने बाध्यता छ ।

एक लाख ५० हजारको अभावमा अस्पतालको एम्बुलेन्स मर्मत गरेर सञ्चालनमा ल्याउन नसकिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा सुनिल पुनले जानकारी दिए ।

यद्यपि अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले उक्त एम्बुलेन्स निकै पुरानो भएको र मर्मत गरे पनि दुर्गममा चलाउन मुस्किल पर्ने भएकाले प्रदेशस्थित सामाजिक विकास मन्त्रालयबाट नयाँ एम्बुलेन्स माग्ने प्रक्रिया अघि बढाइएको बताए ।

भेरी नगरपालिकाले एम्बुलेन्स दिने घोषण गरेको वर्ष दिन बिते पनि अझै प्राप्त भएको छैन । उत्ता छेडागाड नगरपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ ।

सो नगरपालिकाले आफैँ चिकित्सक नियुक्ति गरेर सेवा दिँदै आएको छ । जुनिचाँदे गाउँपालिकाले समेत सोही कार्य अगाडि बढाएको छ । स्थानीय तहले एम्बुलेन्स खरिद गरी एम्बुलेन्स सञ्चालन कार्यविधि बनाएर काम गर्दै आएका छन् ।