देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा पछिल्लो पटक थप १४ जना कोरोना संक्रमितको मृत्यु

देशान्तर

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा पछिल्लो पटक थप १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश १ मा आठ जना, रुपन्देही र अर्घाखाँचीका दुई र काभ्रेका दुई तथा ललितपुर र बागलुङका एक–एक जना रहेका छन् । संक्रमणका कारण प्रदेश १ मा एकै दिन आठ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच जना र विराटनगरमा तीन जनाको मृत्यु भएको हो ।

यस्तै रुपन्देही र अर्घाखाँचीका दुई जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का ७३ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा आईसीयू अभाव भएपछि दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । यसैगरी बुटवल उपमहानगरपालिका–७ की ७० वर्षीया महिलाको धागो कारखानामा सन्चालित कोरोना विशेष अस्थायी अस्पतालमा आज बिहान मृत्यु भएको छ ।


यसैगरी, कोरोना संक्रमण पुष्टि भएका बनेपाका २ जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत दुई जनाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा। नरेन्द्रकुमार झाले जानकारी दिए ।

यता, ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । ललितपुर इमाडोलका ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए ।

उता, बागलुङमा एक जना पुरुषको संक्रमणका कारण मृत्यु भएको छ । बागलुङ नगरपालिका–२ का ७७ वर्षीय पुरुषको चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको अस्पतालले जनाएको छ ।