कोरोना फेरि फर्केर आएको हो कि जाँदै गएको थिएन ? त्यो सामान्य रोग, अथवा आफ्नै शरीरभित्रको भाइरस मात्र हुन्थ्यो भने औषधि र पर्याप्त सतर्कताले धेरै पहिले निर्मूल नभए पनि कम त अवश्य भइसकेको हुने थियो । तर त्यसो भएन, त्यसको फैलावट निरन्तर बढिरहेछ । नेपालमा दिन दुगुना, रात चौगुनाका हिसाबले बढ्न थालेपछि हिजोसम्म वैश्विक महामारी भनेर चित्त बुझाउनेहरू पनि आज त्यसमाथि शंका र अविश्वास गर्न थालेका छन्– यो दैवागत हो कि मानव निर्मित रोग हो ! विकसित देशमा, जहाँ अत्याधुनिक अस्पताल, उपचारका विधि, औजार र चिकित्सक छन्, त्यहाँ पनि त्यो फर्की फर्की आउने गरिरहेको छ ! यो जगजाहेर छ कि कोरोनाको भ्याक्सिन उपलब्ध छैन तर त्यो रोगको रोकथामका उपाय हुँदै नभएको भने होइन । त्यही उपायको प्रयोगले लाखौं–लाख निको भएर घर फर्केका छन् र सामान्य जीवन बाँच्न सफल भएका छन् । भ्याक्सिनका लागि अमेरिका, बेलायत, रुस, भारत र चीनका चिकित्सकहरूको टोलीले अनुसन्धानका अनेक चरण पूरा गरिसकेका छन्, तापनि त्यो प्रक्रियाले पूर्णता भने अझै पाउन सकेको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चीनमा निर्मित तथा निर्यातित रोगको नामकरण गरेर सुरुदेखि अहिलेसम्म नथाकिकन त्यसलाई त्यही रूपमा उठाउने गर्दै आएका छन् । उनले त्यसमा विश्व स्वास्थ्य संगठन पनि संलग्नता रहेको आरोप पनि लगाएका छन् र त्यो विश्व संस्थालाई अमेरिकाले दिने गरेको अनुदान पनि बन्द गरिदिएका छन् । विश्व स्वास्थ्य संगठन– डब्लूएचओले त्यसलाई कोभिड— १९ को नामकरण गर्नुअघि अमेरिकी मिडियाले पनि त्यसलाई चिनियाँ भाइरस नै भन्ने गरेका थिए । युरोपका कतिपय देशका अतिरिक्त अस्ट्रेलिया र जापानले पनि चिनियाँ भाइरसलाई आश्चर्यजनक तथा रहस्यमय ठानेका थिए । उनीहरूका प्रारम्भिक प्रतिक्रियाले पनि त्यही संकेत गरेको थियो, जुन सबैको रेकर्डमा अहिले पनि सुरक्षित नै रहेको छ ।
नेपालमा कहिले लकडाउन, कहिले खुकुलो, अनि फेरि निषेधाज्ञा र अहिले छुट दिन थालेदेखि कोरोना संक्रमणको दर ह्वात्तै बढेर गएको छ । राजधानीका तीन जिल्लामा देशका शेष भागको भन्दा भयावह रूपमा भाइरसको संक्रमण बढेको बढ्यै छ । अस्तिसम्मको तथ्यांकअनुसार एकै दिनमा ४ हजार ३६४ नयाँ संक्रमित थपिएका छन् । त्यो भनेको सीमित संख्यामा गरिएको स्याम्पलिङबाट निक्लेको परिणाम हो । हाम्रो परीक्षणको क्षमता नै सीमित छ । यदि सबै नेपालीको एकसाथ परीक्षण गर्ने हो भने त्यसको कति गुणा बढी संख्यामा संक्रमण देखिने थियो होला, त्यसको अनुमान स्वास्थ्य मन्त्रालयको के कुरा, विश्व स्वास्थ्य संगठनकै टोली आएर जाँचेको भए त्यसले पनि लगाउन सक्ने थिएन । अहिले अवस्था यस्तो छ, राजधानीका अस्पतालले बिरामी थेग्न सकेका छैनन् । हिजोआज ठूला बडा तथा जनप्रतिनिधिहरूको काम, आफ्ना नातेदार समर्थक तथा सहयोगी बिरामीलाई जसरी भए पनि अस्पतालमा बेड दिलाउनमै खर्च भइरहेको छ । त्यसरी भनसुनका भरमा कोरोनाका बिरामीलाई भर्ना गर्नुपर्दा विपन्न तथा असहाय बिरामीहरू रोगले भन्दा उपचार नपाएर मरिरहेका छन् । अझ कति मर्ने हुन्, त्यसको आकलन कसैले गर्न सकेका छैनन् ।
विश्वलाई यस्तो अवस्थामा पु¥याउने चीन हो भन्नेमा कसैलाई शंका नभए पनि कसरी उसले यस्तो लक्ष्यभेदी षड्यन्त्र ग¥यो भन्ने बारेमा भने सबैको एक मत छैन । अब यो तथ्य पुष्टि भइसकेको छ कि चीनका जति प्रतिस्पर्धी छन्, त्यो भाइरसले तिनैलाई मात्र बढी आक्रान्त पारेको छ । त्यही भाइरसले चीनको अर्थतन्त्र र आर्थिक संरचनामा नोक्सान नपुर्याउने, अमेरिका, युरोपियन देश, भारत, अस्ट्रेलिया, ब्राजिलजस्ता प्रजातान्त्रिक देशमा ठूलो क्षति पुर्याउनु संयोग मात्र हुनै सक्तैन, त्यो लाटाले पनि बुझ्ने कुरा हो । तर कसरी, कुन प्रविधि र माध्यमबाट त्यस्तो षड्यन्त्रकारी मनसुवा पूरा गर्न सफल भइरहेछ, त्यसको प्रमाण जुटिनसकेकाले उनीहरू कसैले पनि मुख फोरेका छैनन् । तर त्यसमाथि सघन अध्ययन र अनुसन्धान भने भइरहेका छन्, जसको संकेत अमेरिकन र अस्ट्रेलियनले मात्र चुहाएका छैनन्, विश्व स्वास्थ्य संगठनका सूत्रले पनि त्यसको पुष्टि गरिसकेको छ ।
यो त्यत्ति बेलैको कुरा हो, जुन बेला चीनको बुहानमा कोरोना भाइरसको विस्फोटको भविष्यवाणी गर्ने चिकित्सक डा.ली वेनलियाङको अचानक भएको मृत्युलाई लिएर विश्वभरि चासो, चिन्ता र शंका प्रकट गरिएको थियो । चीनमा कोरोना भाइरस नामको नयाँ रोग फेला परेको र त्यो अहिलेसम्मकै गम्भीर तथा विनाशकारी महामारीका रूपमा सबैतिर फैलिन सक्ने सम्भावनाको प्रक्षेपण गरेर पहिले आफ्ना वरिष्ठ अधिकारीलाई, अनि जब उनीहरूले वास्ता गरेनन्, तब विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र आमजनसमुदायको ध्यानाकर्षण गर्न आफ्नो खोज र अनुसन्धानका प्रतिवेदनका प्रतिहरू पठाएका मात्र थिएनन्, सावधान रहन सचेत पनि गराएका थिए । उनको त्यस्तो मानव कल्याणप्रति समर्पित प्रयासलाई चीनले कठोरतापूर्वक दमन गर्यो । चीनका उच्चपदस्थ अधिकारीहरूले लीमाथि कोरोना भाइरसको अनावश्यक अफवाह फैलाएर अन्तर्राष्ट्रिय जगत्मा चीनलाई बदनाम गर्न खोजेको आरोपमा उनलाई तत्कालै हिरासतमा लिइएको थियो । त्यही अवस्थामा उनको मृत्यु भएको र उनको मृत्युका बारेमा उच्चस्तरीय जाँच गर्ने राष्ट्रिय सुपरिवेक्षण आयोगको निर्णयलाई कम्युनिस्ट पार्टीले समेत अनुमोदन गरेको घटनाले उनको मृत्यु, स्वाभाविक नभएर हत्या नै थियो भन्ने सवाल चीनभित्र मात्र होइन, बाहिर पनि उठेको थियो । चीनमा त्यस्तो जाँचबुझ आयोग गठन गर्ने चलन नै थिएन । अचम्मको कुरा, कुनै संघसंस्थाले त्यसको माग पनि गरेका थिएनन् । तैपनि सरकारले जाँच आयोग गठन मात्र गरेन, कम्युनिस्ट पार्टीले त्यसको अनुमोदन पनि गरेको थियो । त्यसैबाट पनि चोरको मन धरमर भन्ने उखान चरितार्थ हुन पुगेको थियो । कालान्तरका घटनाक्रमले त्यस्ता आशंकाको पुष्टि पनि भएको थियो ।
राष्ट्रपति ट्रम्पले कोरोनाका नाममा रासायनिक विषाणुको प्रक्षेपन भएको हुन सक्ने अनुमान गरेर त्यो रोगलाई चिनियाँ भाइरस भनेको तथ्य वैज्ञानिक आधारमा पुष्टि हुन बाँकी भए पनि उनको अर्को दाबी कि लामो समयसम्म लकडाउन गर्नु हुन्न, रोग लागेर मानिसहरूको मृत्यु भयो भन्दैमा आर्थिक तथा सामाजिक जीवन ठप्प हुनेगरी तिनका क्रियाकलाप अवरुद्ध पार्नु हुन्न । स्वास्थ्यसम्बन्धी सतर्कता अपनाएर आर्थिक क्रियाकलाप बिनाबिघ्नवाधा चल्न दिनुपर्छ । उनको प्रस्तावको अमेरिकामा मात्र होइन, विदेशमा पनि खुब विरोध भएको थियो । जुन महामारी कति समयसम्म चल्छ, त्यसको थाहा पत्तो कसैलाई छैन, त्यस्तो रोग नथामिएसम्म सम्पूर्ण आर्थिक क्रियाकलाप रोक्नु आपत्तिमाथि विपत्ति थप्नु हो भन्ने उनको कथन शतप्रतिशत सही र दुरुस्त थियो । कालान्तरमा सबैले उनको अनुसरण गर्नै पर्यो । उनको दूरदर्शिताको लोहा सबैले मान्नै प¥यो । भोलि पनि मान्नै पर्नेछ ।
निकट भविष्यमा हुने निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प फेरि जित्लान् वा नजित्लान् त्यो अमेरिकी मतदाताले निर्णयमा भरपर्ने विषय हो । तर विज्ञान, अर्थ र सञ्चारका क्षेत्रमा बढ्दो चिनियाँ षड्यन्त्र हस्तक्षेपलाई चिरेर प्रजातन्त्र र अमेरिकालाई जोगाउने हो भने उनकै जस्तो साहसी एवं गतिशील नेतृत्व प्रदान गर्न सक्ने व्यक्तिको खाँचो, विश्वलाई पहिलेभन्दा अहिले अझ बढी तड्कारो देखा परेको छ । अमेरिकी जनताले त्यस्तो सुझबुझ र बुद्धिमत्ताको परिचय दिने हुन् कि होइनन्, त्यसका लागि निर्वाचनको परिणामको प्रतीक्षा गर्नै पर्छ । कोरोनाको यथार्थ पनि त्यसपछि मात्र रहस्योद्घाटन हुनेछ ।
प्रतिक्रिया