देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएलमा कोलकाताकाे सानदार जित

देशान्तर

इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नेई सुपर किङ्ग्स चौथो पटक पराजित भएको छ। बुधबार राति यूएईको आबुधाबीमा भएको खेलमा कोलकाता नाइट राइडर्सले चेन्नेईलाई १० रनले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा १६७ रन बनायो । पहिलो विकेटका लागि सुभमन गिल र राहुल त्रिपाठीले ३७ रनको साझेदारी गरेका थिए । गिल व्यक्तिगत ११ रन बनाएर आउट भए । उनलाई सार्दुल ठाकुरले आउट गरेका थिए ।

त्यसपछि नितिश राना र त्रिपाठीले कोलकाताको पारी अघि बढाए । राना व्यक्तिगत ९ रन जोडेर आउट हुँदा कोलकाताको स्कोर २ विकेट गुमाएर ७० रन रहेको थियो । तेस्रो विकेटको रुपमा आक्रामक पारी अघि बढाउन खोजेका सुनिल नराइन पनि व्यक्तिगत १७ रनमा पभेलियन फर्किए । ९ बल खेलेका नराइनले एक छक्का र एक चौका प्रहार गरे ।

इयोन मोर्गनले कोलकाताको स्कोर १०० रन कटाएका थिए । ११४ रन पुग्दा मोर्गन ७ रन बनाएर आउट भए । आन्द्रे रसेल पनि व्यक्तिगत २ रनमा आउट भएका थिए । ओपनिङ आएका राहुल त्रिपाठीले भने उत्कृष्ट प्रदर्शन गरे । उनी ८१ रन बनाएर छैटौं विकेटको रुपमा आउट भए । ५१ बल फेस गरेका त्रिपाठीले तीन छक्का र ८ चौका प्रहार गरे । उनलाई ब्राभोले वाट्सनबाट क्याच आउट गराएका थिए ।

सातौं विकेटको रुपमा कप्तान दिनेश कार्तिक १२ रन बनाएर पभेलियन फर्किए । पेट कमिन्स १७ रनमा नट आउट रहे । चेन्नाईका लागि डुवान ब्राभोले तीन विकेट लिँदा साम करन, सार्दुल ठाकुर र कर्ण शर्माले दुई दुई विकेट लिए।

जवाफमा चेन्नेईले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५७  रनमा रोकियो । ३० रनमा पहिलो विकेट गुमाएको चेन्नेईले ९९ रनमा दोस्रो विकेट गुमाएको थियो। दोस्रो विकेटका लागि सेन वाटसन र अम्बाती राइडुबीच ६९ रनको साझेदारी भएको थियो । त्यसको लगत्तै चेन्नेईले तेस्रो विकेट खेर फाल्यो ।

चेन्नेईका लागि सेन वाट्सनले ५० रन बनाए भने फाफ डुप्लिसिसले १७ रन बनाए भने अम्बाती राइडुले ३० रनको योगदान गरे । त्यसपछि कप्तान महेन्द्रसिंह धोनी ११ रनमा आउट भए भने साम कुरान १७ रनमा पेभेलियन फर्किए । अन्तिममा रविन्द्र जडेजाले २१ रन बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन् ।

यो जितसँगै कोलकाता पाँच खेलमा ६ अंक बनाएको छ र लिगको तेस्रो स्थानमा उक्लिएको छ ।