उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको उद्योगमाथि छानबिन शुरू गरिएको छ ।
मोरङस्थित राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले कानूनी मापदण्ड पूरा नगरी सेन्चुरी स्प्रिंकलर्स टेबल साल्टको नामबाट नून प्याकेजिङ बजारमा बिक्री वितरण गर्दै आएको खबर बाहिर आएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राज्यमन्त्री दुगडको उद्योगमाथि कारबाहीका लागि छानबिन अघि बढाएको हो ।
राज्यमन्त्री दुगडको उद्योगले कानूनविपरीत नून प्याकेजिङ गरी प्रति १०० ग्राम ३५ रुपैयाँमा बिक्री वितरण गरेको पाइएको छ । नून बिक्री वितरण गर्ने एकाधिकार नेपाल सरकारले हालसम्म साल्ट ट्रेडिङ कर्पाेरेसनलाई मात्र दिएको छ । मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले कानूनबमोजिम सञ्चालन गरेको छ वा छैन भनेर आन्तरिक छानबिन अघि बढाएको जानकारी दिए ।
सचिव अर्यालले राज्यमन्त्री दुगडको उद्योगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र लिए/नलिएको विषयमा छानबिन गरिने बताए । उनले विभागबाट अनुज्ञापत्र लिएको छैन भने कानूनबमोजिम कारबाहीका लागि अघि बढाइने बताए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कानूनविपरीत जो कोहीले पनि काम गरेको छ भने कानूनबमोजिम कारबाही हुने बताए ।
मन्त्री भट्टले भने, ‘सर्वसाधारण होस् वा मन्त्री होस्, जोसुकै होस्, कानूनअनुसार कारबाही हुन्छ ।’ मन्त्री भट्टले आफू ३ दिनदेखि काठमाडौं बाहिर भएकाले राज्यमन्त्री दुगडको उद्योग गैरकानूनी रूपमा सञ्चालन गरिएको भन्ने विषयमा केही थाहा नभएको बताए ।
उनले भने, ‘म काठमाडौं आएपछि यो विषयमा जानकारी लिन्छु । अहिले यो विषयमा मलाई केही थाहा नभएकाले कारबाही हुन्छ या हुँदैन, केही भन्न सक्दिनँ । तर उद्योग कानूनबमोजिम सञ्चालन भएको छैन भने मन्त्री भए पनि कारबाही हुन्छ ।’
राज्यमन्त्री दुगडले नूनको प्याकेजिङ गरी बिक्री वितरण गर्न साल्ट टे«डिङ कर्पाेरेसनसँग मौखिक सम्झौता भएको बताएका थिए । तर साल्ट टे«डिङ कर्पाेरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झाले राज्यमन्त्री दुगडको उद्योगसँग नूनको प्याकेजिङ गरी बिक्री वितरणका लागि कुनै सम्झौता नभएको बताए । उनले कुनै पनि व्यापारीलाई साल्ट टे«डिङ कर्पाेरेसनले नून प्याकेजिङ गरी आफ्नो ब्रान्डमा बिक्री वितरण गर्न दिने कानूनी अधिकार नै नभएको बताए ।
उनले भने, ‘साल्ट टे«डिङ कर्पाेरेसनले व्यापारीलाई आफ्नो ब्रान्डमा बिक्री वितरण गर्न अनुमति दिन सरकारको निर्णय र निर्देशन हुनुपर्छ । हामीलाई सरकारबाट कुनै निर्देशन आएको छैन । साल्ट टे«डिङलाई सरकारले वर्षाैंदेखि आम नागरिकलाई देशैभरि आयोडिनयुक्त नुन आपूर्ति गर्ने जिम्मेवारी दिएको छ ।’
विभागीय प्रमुख झाले भने, ‘नेपाल सरकारले साल्ट टे«डिङलाई नून आपूर्ति गर्न दिएको जिम्मेवारी र अधिकारअनुसार नै साल्ट टे«डिङले काम गरिरहेको छ । राज्यमन्त्री दुगडको दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालिले हामीसँग कुनै सम्झौता गरेको छैन । उनले साल्ट टे«डिङसँग मौखिक सम्झौता भएको भन्ने कुरामा पनि सत्यता छैन ।’
उनले धेरै व्यापारीले आफ्नो कम्पनीको ब्रान्डमा नुन प्याकेजिङ गरेर बजारमा महंगो मूल्यमा बिक्री गर्न चाहेको पनि बताए । यदि सरकारले अत्यावश्यक वस्तु नुन अन्य व्यापारीलाई आफ्नो कम्पनीको ब्रान्डमा प्याकेजिङ गर्न दिने हो भने सर्वसाधारण उपभोक्तालाई नुन किनेर खान पनि मुस्किल पर्ने उनको भनाइ छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले सेन्चुरी स्प्रिंकलर्स टेवल साल्टको नामबाट नुन प्याकेजिङका लागि विभागबाट हालसम्म अनुज्ञापत्र नलिएको बताए । उनले कुनै पनि उद्योगबाट खाद्य वस्तु उत्पादन, प्रशोधन तथा प्याकेजिङ गरी बजारमा बिक्री वितरण गर्न विभागबाट अनिवार्य रूपमा अनुज्ञापत्र लिनुपर्ने बताए ।
उनले अनुज्ञापत्रविना नै बजारमा बिक्री वितरण गरेको छ भने खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ बमोजिम कारबाही हुने बताए । प्रवक्ता महर्जनका अनुसार अनुज्ञापत्रविना नै उद्योगबाट खाद्य वस्तु प्रशोधन उत्पादन र प्याकेजिङ गरी बिक्री वितरण गरेमा १० हजार रुपैयाँ जरिमाना र गुणस्तरहीन खाद्य वस्तु झुक्याएर बिक्री गरेको छ भने ५० हजार जरिमाना वा ५ वर्ष कैद वा दुवै हुने सक्ने कानूनी प्रावधान रहेको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया