इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दोस्रो जित हात पारेको छ । युएईमा बिहीबार सम्पन्न खेलमा मुम्बईले किंग्स इलाभेन पञ्जाबलाई ४८ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो ।
शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।
पन्जाबका लागि निकोलस पुरनले ४४ रन जोड्दा मायांक अग्रवालले २५ रन बनाए । कप्तान केएल राहुलले १७ तथा ग्लेन म्याक्सवेलले ११ रन जोडे । क्रिश्नापा गोथ्वामले अविजित २२ रन बनाए । मुम्बईका जस्प्रित बुम्राह, राहुल चाहर र जेम्स प्याटीनसनले २–२ विकेट लिए ।
यसअघि मुम्बई इण्डियन्सले किंग्स ११ पञ्जाबलाई जितका लागि १ सय ९२ रनको लक्ष्य दिएको थियो । अलराउण्डरद्वय काइरन पोलार्ड र हार्दिक पान्ड्याले बिस्फोटक ब्याटिङ गरेपछि शेख जायद स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ रन ९१ बनायो । मुम्बईका लागि कप्तान रोहितले सर्वाधिक ७० रन बनाए ।
यस्तै आक्रामक ब्याटिङ गरेका पोलार्डले २० बलमा ३ चौका र ४ छक्काको मद्दतमा ४७ रन जोडे । हार्दिक पान्ड्याले ११ बलमा ३ चौका र २ छक्का सहित ३० रन जोडे ।
पाेलार्ड र हार्दिक अविजित रहे । ओपनर क्विन्टन डी ककले खाता खोल्न सकेनन् भने इसान किशनले २८ रन बनाए । पञ्जाबका कोटरेल, मोहमद सामि र कृष्णप्पा गोवथामले एकएक विकेट लिए । जितसँगै मुम्बईले ४ खेलमा ४ अंक जोडेको छ भने तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया