इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित हात पारेको छ । मंगलबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले जारी आईपीएलमा पहिलो जित हात पारेको हो । यसअघिका दुबै खेलमा जित निकालेको दिल्लीको भने यो पहिलो हार हो ।
युएईमा भएको खेलमा हैदराबादले दिएको मध्यम लक्ष पछ्याएको दिल्ली पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ४७ रनमा समेटियो । दिल्लीका लागि ओपनर सिखर धवनले सर्वाधिक ३४ रन बनाए । ३१ बलमा ४ चौका प्रहार गरेका धवन रसिद खानको बलमा आउट भए । यस्तै ऋषव पन्तले २८ रन बनाए । हेटमायरले २१ , कप्तान श्रेयस ऐयरले १७ रन बनाउँदा मार्कुस स्टोनिसले ५, पृवी सोंले २ तथा अक्क्षर पटेलले ५ रन बनाए । हैदराबादका रसिद खानले २, भुवनेश्वर कुमारले २, थंगारसु नटराजन र खलिल अहमदले समान एक/एक विकेट लिए ।
यसअघि हैदराबादले दिल्लीलाई चुनौतीपूर्ण लक्ष दिएको थियो । युएईमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले दिल्ली क्यापिटल्सलाई १ सय ६३ रनको लक्ष दिएको हो । निर्धारित २० ओभर खेल्दै हैदराबादले ४ विकेटको क्षतीमा १ सय ६२ रन बनाएको थियो ।
उसका लागि जोनी वेयरस्टोले सर्वाधिक ५३ रनको अर्धशतकिय पारि खेले । हैदराबादले पहिलो विकेटको रुपमा डेभिड वार्नरलाई गुमाएको थियो । उनी ४५ रन बनाउँदै थर्ड अम्पायरको निर्णयको आधारमा आउट भए । अमित म्रिश्राको बल विकेटकिपर ऋषव पन्तले क्याच गर्दै रिभ्यू मागेपछि ३३ बलमा ३ चौका र २ छक्का हिर्काएका वार्नर पेविलियन फर्किए । त्यसपछि क्रिजमा आएका मनिस पाण्डे मात्र ३ रनमा आउट भए । उनलाई पनि अमित मिश्राले कागिसो रबाडाको हातबाट क्याचआउट गराए ।
हैदराबादले तेस्रो विकेटको रुपमा जोनी वेरस्टोलाई गुमायो । निकै सुस्त गतिमा रन बनाएका वेयरस्टो रबाडाको बलमा एन्रिच नोर्टजेको हातबाट ५३ रनमा क्याच आउट भए । उनले ४८ बलको सामना गर्दै २ चौका र १ छक्का हिर्काए । केन विलियम्सनले बिस्फोटक पारि खेल्दै ४१ रन बनाए । २६ बलमा ५ चौका हिर्काएका उनी अन्तिम ओभरको पाचौं बलमा राबाडाको बलमा अक्क्षर पटेलको हातबाट क्याच आउट भए । विलिम्सन यो सिजनको आईपीएमा तेस्रो खेलपछि मात्र देखापरेका हुन् । यसअघि उनी चोटका कारण टिम बाहिर थिए ।
डेब्यू खेल खेलेका अब्दुल समद १२ रन तथा अभिषेक शर्मा १ रनमा नटआउट रहे । दिल्लीका अमित मिश्राले २ विकेट लिए भने रबाडाले २ विकेट हात पारे ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्लीको यो संस्करणको आईपीएलमा पहिलो हार हो । हैदराबादको भने पहिलो जित हो । हैदराबादविरुद्ध वलिङमा केही सुधारिएको प्रदर्शन गरेको दिल्लीले नेपाली स्पिनर सन्दीपलाई भने प्लेइङ् ११ मा राखेको थिएन ।
प्रतिक्रिया