काठमाण्डौ – कोरोनाको कारण गएको साता विदेशमा रहेका थप २१ नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार साउदी अरबमा १४ जना, यूएईमा १ जना, कुवेतमा ५ जना, युगान्डामा १ जना गरी गएको साता मात्रै थप २१ जना नेपालीको कोरोनाबाट मृत्यु भएको हो ।
शनिबार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको स्वास्थ्य समितिले जनाएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याँक अनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपालीमा कोरोना पुुष्टि भएको छ । तीमध्ये ३५ हजार ७८ जना कोरोनाबाट निको भएका छन् ।
यो कुल सङ्क्रमितमध्ये ९२ प्रतिशत हो । समितिका संयोजक डा. सञ्जीव सापकोटाका गएको साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, यूएई र अमेरिकामा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको हो ।
प्रतिक्रिया