काठमाडौं । भूकम्पले भत्किएको रानीपोखरीमा पाँच वर्षपछि पानी भरिएको छ । भूकम्पपछि पुनःनिर्माणका लागि खाली चौर बनाइएको रानीपोखरीमा पानी भरिएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पोखरीसँगै पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरकोसमेत पुनःनिर्माण भएको छ ।
धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी पुनर्निर्माणपछि पानी भरेपछि सुन्दर र मनमोहक बनेको छ । खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले २ दिन लगाएर रानीपोखरीमा पानी भरेको हो ।
रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ । जसमा पानी भर्नका लागि निर्धारण गरिएको ९ फिट गहिराईमा पानी भरिएको छ । रानीपोखरीमा ३ करोड लिटर पानी भरिएको छ ।
रानीपोखरीको शिलान्यास २०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । पुनःनिर्माणका क्रममा कंक्रिट प्रयोग भएपछि बीचमा यो विवादमा तानिएको थियो । विवादपछि भक्तपुरका कालीगढको सहयोगमा कालोमाटो प्रयोग गरेर पोखरी निर्माण गरिएको हो ।
प्रतिक्रिया