देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अड्कल र अन्दाजको बजारमा नेकपाको छलाङको वास्तविकता के हो ?

देशान्तर

राजनीतिक होस् अथवा आर्थिक सवालमा होस्, कसैले कुनै आश्चर्यजनक परिणामको प्रक्षेपण अथवा विश्लेषण गरेको छ तर तथ्य र तथ्यांकले पुष्टि गर्न सकेको छैन भने त्यसलाई अंग्रेजी भाषामा हाइपोथेसिस भन्ने गरिन्छ । नेपालीमा त्यसको अर्थ काल्पनिक अथवा अनुमानित हुन्छ । अर्को शब्दमा, अनुमानित तर धेरै हदसम्म मिल्दोजुल्दो कल्पनाशील विचार र विश्लेषणमा सत्यका अंश धेरै र काल्पनिक अथवा अनुमानित उडानका मात्रा थोरै हुने भएकाले त्यसबाट निक्लने निष्कर्ष तथ्य र तथ्यांकमा आधारित विश्लेषणका निष्कर्षजस्तै हुने गर्छन् । तैपनि त्यस्ता विश्लेषणका निष्कर्ष जतिसुकै मिल्दोजुल्दो अथवा उल्टो भए पनि त्यसलाई काल्पनिक अथवा अनुमानित नै भनिन्छ ।

त्यस्तो किन हुन्छ भने विषय वा प्रसंगले अर्को अर्थ नलागेमा हाइपोथेसिसले लक्ष गरेको गन्तव्यको भविष्य र स्वरूप कस्तो हुन्छ, त्यसको निक्र्योल गर्न जुन विधि र प्रक्रिया प्रयोग गरिन्छ, त्यही विश्लेषण हो । त्यसैले तथ्यांकविद् हुन् अथवा अर्थविद्, शिक्षाविद् वा समाजशास्त्री किन नहुन्, उनीहरू सबैले आफ्नो भिजनको व्याख्या गर्न विश्लेषणकै सहायता लिने गर्दछन् । राजनीतिक दल तथा तिनका नेताले पनि आफ्ना क्रान्ति र परिवर्तनका विचार प्रक्षेपण गर्दा मात्र होइन, भविष्यका योजना र कार्यक्रम तर्जुमा गर्दा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको अध्ययन र विश्लेषण गर्नै पर्ने हुन्छ । त्यसका निम्ति माथि उल्लेख गरेझैं तथ्य र तथ्यांकको संकलन र संग्रह अनिवार्य हुने नै भयो, किनभने त्यसैका आधारमा विश्लेषण र संश्लेषण हुने गर्दछ । कहिलेकाहीँ त्यस्ता शाश्वत नियममा पनि अपवादको अतिक्रमण हुने गर्दछ । त्यही अपवाद, तथ्य र तथ्यांकभन्दा पनि जब वैयक्तिक सपना साकार पार्ने कल्पनाको वायुपंखी उडानमा सवार हुन थाल्छ, तब स्वाभाविक रूपमा विश्लेषणको स्थान हाइपोथेसिसले लिने गर्दछ ।

विश्वव्यापी अभ्यासमा विश्लेषण प्रक्रियाका मुख्य तत्व अथवा गुदी भनेका फ्याक्टस् एन्ड फ्याक्टर नै हुन् । त्यसलाई अझ सरल शब्दमा भन्नुपर्दा राजनीतिक विश्लेषणका मूल र त्यसका सहायक तत्व भनेका विचार र विद्यमान समयका आन्तरिक तथा बाह्य स्थिति हुन् । त्यसो त विश्लेषण गर्दा राजनीतिमा प्रभाव पार्ने जति तत्व हुन्छन्, ती सबै फ्याक्टर हुन् । तसर्थ, जुन विषयमा विश्लेषण गर्ने हो, त्यसका लागि सर्वप्रथम त्यसका तथ्य र तथ्यांक अर्थात् फ्याक्टरहरूको संकलन र संग्रह अपरिहार्य हुन्छ । त्यसपछि तिनका एक—एक केस्रा केलाएर निष्कर्ष निकाल्ने प्रक्रियालाई नै यथार्थमा विश्लेषण भनिएको हो । विषयमा आधारित विश्लेषणबाट जुन निचोड निक्लन्छ, त्यही त्यसको निष्कर्ष हुन्छ । त्यही निष्कर्षका आधारमा ठूल्ठूला निर्णय हुन्छन् ।

विश्लेषणको त्यो विधिमा कहिलेकाहीँ तथ्य जुटाउन अनेक कारणले सम्भव हुँदैन । अथवा यसो भनौं, त्यसमाथि जब विश्लेषणकर्ताहरूको पहुँच पुग्दैन, तब उनीहरूले अनुमानको आड लिनुपर्ने हुन्छ । हाइपोथेसिस अथवा अनुमानको मर्म र महत्वले त्यसै बेला त्यो प्रक्रियामा प्रवेश पाउँछ । नेपाली राजनीतिमा विश्लेषणको निष्कर्षले कम, अड्कल र अनुमानको अंशले ज्यादा काम गर्ने गरेको कारण पनि त्यही हो कि यहाँ यत्र तत्र सर्वत्र हाइपोथेसिस अर्थात् अनुमानले काम गर्ने गरेको छ । त्यसको परिणाम यो हुने गरेको छ कि तथ्य र तथ्यांक मित्था सावित हुने गरेका छन् र अज्ञात कारणले ती सबै प्रभावित हुने गरेका छन् । सामान्यतया अन्दाज र अड्कलभन्दा भिन्न र बेग्लै परिणाम निक्लने विडम्बनाको कारण पनि त्यही हो ।

यति लामो गन्थनपछि अब विषय प्रवेश गरौं । त्यो भनेको नेपाल कम्युनिस्ट पार्टीभित्रको अन्तरसंघर्षमा उत्पन्न गतिरोधको नियति के होला भन्ने आम जिज्ञासा जुन थियो, त्यो अन्ततोगत्वा धेरैको अपेक्षाविपरीत भागबन्डामा पुगेर टुंगिएको छ ! चीनबाट फैलेर विश्वव्यापी बनेको कोरोनाले आक्रान्त पारेदेखियता नेकपाको अन्तरकलह सार्वजनिक भएको थियो । जनवादी अभ्यास गरिरहेको साँचो कम्युनिस्ट पार्टी हुन्थ्यो भने यस्ता कलहको निदान निक्लेर एकथरीले अर्काथरीलाई पराजित गरेर थान्को लगाइसकेपछि मात्र त्यस्ता समाचार सार्वजनिक हुन्थे । संघर्षरत दुवैथरीले “विनविन”को अवस्थामा चित्त बुझाउने र अर्को कलहको प्रतीक्षा गर्ने चलन संसदीय प्रतिक्रियावादीको “विकृति” हो । संसदीय भासमा आकण्ठ जाकिन पुगेका नेकपाका क्रान्तिकारीहरूले संसदीय व्यवस्थाका त्यही विकृतिलाई नयाँ संस्कृतिका रूपमा सर्लक्क अँगालेकाले कहिले “ह्याङओभरको वाक्वाकी” र कहिले परधर्माे भयावहको पश्चातापमा पर्नु अस्वाभाविक होइन । आफ्नै ह्याङओभर र परधर्मो भयावहजस्ता दुवै प्रकारका संकटबाट केही कालका निम्ति मात्र भए पनि पार्टी मुक्त भएको मानेर धुमधामले उत्सव मनाउन थालिएको छ ।

नेकपाका कार्यकर्ताले राहतको अनुभव गर्न पाएकाले उनीहरू आधा मनले नै सही त्यस्ता उत्सवमा सामेल हुन थालेका छन् । नहुन पनि किन ? सरकार गिर्ने र पार्टी विभाजित हुने संघारमा नेकपा पुगिसकेको थियो । देशभरिका कार्यकर्ता पंक्ति कता कुन फ्याकमा लाग्नुपर्ने हो, त्यस्तो द्विविधामा परिसकेका थिए । त्यस्तो दोधार र संकटमा पार्टीलाई पुर्‍याउने नेताहरूले नै फेरि फनक्क फर्केर पार्टी र सरकारलाई चमत्कारिक ढंगले बचाएको देखेपछि हर्षबढाइँ गर्नु नितान्त स्वाभाविक हो । तैपनि उनीहरूले जति खुसी मनाउनुपर्ने हो, त्यत्ति उत्साहले मेलमिलापको स्वागत गरेको देखिएन । शंका र अविश्वासले उनीहरूलाई लघारिरहेको तथ्य उनीहरूका चेहराको उडेको रङले प्रकट गरिरहेको छ ।

हो, यहीबाट हाइपोथेसिसको अध्याय प्रारम्भ हुन्छ । विचार र सिद्धान्तका आधारमा यो एकता भएको हुन्थ्यो भने उनीहरूले छाती ठोकेर भन्ने थिए, यो मेल र एकता स्थायी हो र अब फेरि कसैले कसैलाई धोका दिने र पिठ्युँमा छुरी घोप्ने छैनन् । तथ्य र तथ्यांकले नेताहरूका एकतामाथि विश्वास गरिहाल्न उनीहरूका मनले मानिरहेको छैन । अब एकता हुने र अधिवेशनका माध्यमबाट पार्टी एकीकरण पनि सम्पन्न हुने विश्वास त पलाएको छ तर पत्याउन सकिरहेका छैनन्, किनभने जुन विश्लेषणका आधारमा एकता र मेलमिलाप भएको छ, त्यो तथ्य र तथ्यांकमा होइन, हाइपोथेसिसमा आधारित छ । अनुमान र कल्पनामा उनीहरू नेताहरूका बीचको एकता दिगो र स्थायी हुने विश्वास गर्न चाहन्छन् तर जब त्यसलाई तथ्य र तथ्यांकको कसीमा घोटेर हेर्छन्, तब उनीहरू तीन बल्ड्याङ खान पुग्छन् ।

जसलाई उनीहरू सक्कली सुन ठानिरहेका थिए, त्यो त नक्कली सुनको जलपको अविश्वसनीय चमक मात्र देख्न पुग्छन् । त्यस्तो सत्यको दर्शन तब मिल्न पुग्छ, जब उनीहरू नेताहरूका मेलमिलापको घोषणाका पछाडिका फ्याक्ट एन्ड फ्याक्टरको जाँच र परीक्षण गर्दछन् । तब उनीहरू झल्यास्स हुन्छन्, जब हिन्दीको बहुचर्चित कहावत चरितार्थ हुन्छ– खोदा पहाड, निकला चुहा ।
नेकपाभित्रको सत्ता संघर्ष लामो समयदेखि चलिरहेकै थियो । त्यो टड्कारो संकट बनेर तब प्रकट भएको थियो, जब स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागियो । बाहिर जहाँ जस्ता क्रिया– प्रतिक्रिया देखिए पनि संकटको जड त कांग्रेसको एजेन्डा पो रहेछ, त्यो उनीहरूको बैठकको निष्कर्षले शंकारहित रूपमा पुष्टि ग¥यो । त्यो भनेको एमसीसीलाई पारित गर्ने निर्णय हो ।

चीनका राष्ट्रपति सी जिङपिङको विचारधारा अपनाउने घोषणा गरेको नेकपाले कांग्रेस सरकारमा भएका बेला अमेरिकासँग गरेको सम्झौताको अनुमोदन किन गर्‍यो ? इन्डो–प्यासिफक रणनीतिको अंग घोषित तथा चीनविरोधी अभियान सञ्चालन गर्न अमेरिकालाई नेपालमा खुला छुट दिने एमसीसी सम्झौतालाई अनुमोदन गर्ने कुरा सर्वसम्मतिले पारित गरेर नेकपाले चीनलाई लोप्पा ख्वाएको हो कि आफैं लोप्पा खान पुगेको हो, ती सबै विश्लेषणबाट मात्र बोधगम्य हुन सक्छन्, हाइपोथेसिसबाट होइन । चीनको काखमा बसेर भारत र अमेरिकाको विरोध गर्न थालेको अभियोगबाट नेकपाको सरकारले इन्डो–प्यासिफिक एलाइन्समा छलाङ मार्नु भनेको निकै ठूलो कलावाजी प्रदर्शन गर्नु हो । त्यसले चीन र भारतमध्ये कसको वास्तविक सेवा पुर्‍याउन खोजेको छ, त्यो पत्ता लगाउन हाइपोथेसिसले पुग्दैन, विश्लेषणकै खाँचो पर्छ । त्यो काम सबैले आ–आफ्ना ठाउँबाट गरिरहेकै होलान् । बेला आएपछि प्रकट हुने नै छ ।