देशभर ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा कार्यान्वयन गराउन खटिएका नेपाल प्रहरीमा पछिल्लो १८ दिनमा कोरोना संक्रमणको ग्राफ ह्वात्तै बढेको छ । संक्रमण हुने प्रहरीको संख्या १ सय ५९ बाट ५ सय ८३ पुगेको छ । यो आँकडाअनुसार औसतमा प्रत्येक दिन २३ प्रहरी कोरोना संक्रमित भइरहेका छन् । तीव्र संक्रमणबीच प्रहरीको ड्युटी समय पनि बढेको छ ।
प्रहरीमा कोरोना संक्रमण कसरी बढ्दै छ भनेर बुझ्न झन्डै एक महिनाको पछिल्लो तथ्यांक काफी छ । साउन ११ मा कोरोना संक्रमण भएर उपचार गराइरहेका प्रहरीको संख्या २४ मात्रै थियो । आठ दिनपछि अर्थात् साउन १९ मा यो संख्या बढेर १ सय ५९ पुग्यो भने त्यसयताको १८ दिनमा अर्थात् शुक्रबारसम्म उपचाररत संक्रमित प्रहरीको संख्या ५ सय ८३ पुगेको छ । प्रहरीभन्दा नागरिकसँग कम सम्पर्कमा रहने भएकाले होला सशस्त्र प्रहरीमा भने कोरोना संक्रमणको दर कम देखिन्छ । साउन ११ मा देशैभरि २६ सशस्त्र प्रहरी कोरोना संक्रमण भएर उपचाररत थिए । भदौ ५ मा सक्रिय संक्रमितको संख्या २ सय २४ पुगेको छ । अर्थात् २६ दिनको अवधिमा औसतमा दिनहुँ ७ जनाभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ ।
देशव्यापी रूपमा कोरोना संक्रमण तीव्र बन्दै जाँदा प्रदेश २ र ५ का प्रहरीमा संक्रमणको दर सबैभन्दा उच्च देखिएको छ । साउन १९ मा प्रदेश २ मा १२ जना मात्रै संक्रमित प्रहरी उपचाररत थिए भने प्रदेश ५ मा ४ जना । १८ दिनपछि अर्थात् शुक्रबार उपचाररत संक्रमित प्रहरीको संख्या ह्वात्तै बढेर प्रदेश २ मा १२८ जना र प्रदेश ५ मा ७९ पुगेको छ । संकलित तथ्यांक विश्लेषण गर्दा प्रदेश २ मा पछिल्लो १८ दिनमा प्रत्येक दिन औसत ६ जनाभन्दा धेरै प्रहरी संक्रमित भइरहेका छन् ।
प्रदेश २ का डीआईजी धीरजप्रताप सिंहले प्रहरीमा संक्रमण दर तीव्र देखिएकाले दैनिक ड्युटी समय पनि १२ देखि १४ घण्टाबाट बढाएर १६ देखि १८ घण्टा पुर्याइएको बताए । प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला दिनमा संक्रमित प्रहरीको संख्या मात्रै बढेको छैन, लक्षणसहितका संक्रमित प्रहरीको संख्या पनि देखिन थालेको छ । शनिबारसम्म प्रदेश २ मा संक्रमित दुई प्रहरीको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
प्रहरीमा संक्रमणको दर अन्यमा भन्दा प्रदेश २ मा बढी किन देखियो त ? डीआईजी सिंहले खुला सिमाना भएका कारण भारतबाट लुकीछिपी आउने लागूऔषध तस्करहरू र यसका सेवनकर्तालाई पक्राउ गर्दा उनीहरूबाट धेरै प्रहरी संक्रमित हुनुपरेको बताए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया