देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिसिएमसीमा दुई मन्त्री पाेखरेल र भट्टराईबीच विवाद

देशान्तर

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको सिसिएमसी निर्देशक समितिले अनुमति नदिँदा मंगलबार दुई सय ६६ नेपाली दुबई विमानस्थलबाट उडन पाएनन् । घर आउने सम्पूर्ण तयारी पूरा गरी विमानस्थल पुगेका उनीहरू निराश भएर त्यहाँबाट फर्कनुप-यो । जहाज रित्तै फर्कियो । यस विषयलाई लिएर सरकारका दुई मन्त्रीबीच विवाद भयो ।

यसअघि सरकारले कोरोना महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई घर ल्याउने निर्णय गरेको थियो । तर सोमबार साँझ सिसिएमसीले कोरोनाकै कारण देखाएर एकाएक विदेशबाट नेपाली नल्याउन पत्राचार ग-यो । घर फर्कन दुबई विमानस्थलमा तयारी अवस्थामा बसेका दुई सय ६६ नेपाली सिसिएमसीको यस्तो पत्राचारका कारण उड्न पाएनन् । सिसिएमसीको निर्णयको पर्यटनमन्त्री योगेश भट्टराईले विरोध गरेपछि उनी र रक्षामन्त्री पोखरेलबीच विवाद भएको छ ।

पोखरेलको संयोजकत्वमा गठित ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिले उद्धार उडान गर्न रोक लगाएको हो । स्रोतका अनुसार संयोजक पोखरेलले सरोकारवाला अन्य पक्षसँग समन्वय नगरी विदेशबाट उद्धार उडान गर्न रोक लगाएका हुन् । सरकारले कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि सिसिएमसी गठन गरेको हाे ।

सिसिएमसीको मंगलबार बसेको बैठकमा पर्यटनमन्त्री भट्टराईले विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन सिसिएमसीले उडान भर्न रोक लगाउँदा सरकारको छविसमेत बिग्रेको तर्कसहित विरोध गरेका थिए । उनले सिसिएमसीले सरोकारवाला पक्षसँग समन्वय नगरी उद्धार उडानमा रोक लगाएको भन्दै आपत्ति जनाएका थिए । उनी पनि सिसिएमसीका सदस्य हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा मुलुकमा कोरोना संक्रमण फैलिएकाले त्यसको रोकथाम र नियन्त्रणका लागि ठोस प्रस्ताव ल्याउन सिसिएमसीलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनबमोजिम मंगलबार सिसिएमसीको बैठक बसेको थियो । सो बैठकमा मन्त्री भट्टराईले विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन कुन आधारमा रोक लगाइएको हो ? उनीहरू विमानस्थलबाट फिर्ता हुनुपर्ने अवस्था किन आयो ? भन्दै पोखरेलसँग प्रश्न गरेको स्रोतले बतायो । नागरिक दैनिकमा खबर छ।