पश्चिम अफ्रिकी देश मालिका राष्ट्रपति इब्राहिम बुबाकार केयटाले राजीनामाको घोषणा गरेका छन् । सैनिकहरूको कब्जामा परेपछि उनले राजीनामा घोषणा गरेका हुन् ।
सरकारी टेलिभिजनलाई सम्बोधन गर्दै उनले सरकार र संसद् पनि भङ्ग गरेका छन् । आफुलाई शक्तिमा राखिरहन रगत नबगोस भन्ने आफुले चाहेको राष्ट्रपति इब्राहिमले बताएका छन् । सेनाले उनी र प्रधानमन्त्रीसहित अन्यलाई गिरफ्तार गरेर राजधानी नजिकैको एउटा छाउनीमा राखेको छ ।
भाइचारा संवादको निम्ति अपिल गरेपनि प्रधानमन्त्री बूबू सीसे पनि पनि पक्राउ परेका छन् । सो घटनाको क्षेत्रीय सङ्गठन सहित अन्तर्राष्ट्रिय रूपमा भर्त्सना गरिएको छ ।
यसअघि कनिष्ठ सैनिक अधिकृतले उच्च कमान्डरलाई कब्जामा लिएर राजधानीमा मार्च गरेका थिए । उनीहरूलाई राजधानीमा राष्ट्रपतिविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूले खुसी प्रकट गर्दै स्वागत गरेका छन् । लगत्तै उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएका हुन् ।
पक्राउ पर्नेमा राष्ट्रपतिका छोरा, माथिल्लो सदनका सभामुख, विदेशमन्त्री र अर्थमन्त्री रहेको बताइएको छ । सो घटनाको नेतृत्व कटी सैनिक छाउनीका उपप्रमुख कर्णेल मलिक डिव र अर्का कमान्डर जनरल सादिओ कमाराले गरेको बताइएको छ ।
बिद्रोहीको मागबारे अझै केही प्रस्ट भएको छैन । स्थानीय सञ्चारमाध्यमले भने रकम भुक्तानी विवादले उक्त छाउनीमा विद्रोहको अवस्था सिर्जना गरेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया