देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इजरायल र यूएईबीच ऐतिहासिक शान्ति सम्झौता

देशान्तर

 इजरायल र यूएईबीच सम्बन्ध सामान्य बनाउने विषयमा ऐतिहासिक सहमति भएको छ । अमेरिकाको मध्यस्थतामा दुई देशबीच भएको सम्बन्ध सामान्य बनाउने सहमतिले खाडी क्षेत्रमा शान्ति बढ्ने अपेक्षा गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र आबुधाबीका युवराज मोहम्मद अल नाहयानले संयुक्त विज्ञप्ति जारी गर्दै सहमति सार्वजनिक गरेका हुन् । इजरायल आफुले कब्जा गरेको वेस्ट बैंकका थप भागमा त्यसलाई विस्तार गर्ने विवादास्पद योजना रद्द गर्न सहमत भएको छ ।

आगामी साता इजरायल र यूएईका प्रतिनिधिहरू सहमति अनुसारका द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर हुने बताइएको छ । दुई देशले लगानी, पर्यटन, सीधा हवाई उडान, सुरक्षा, दूरसञ्चार, प्रविधि, ऊर्जा क्षेत्रमा सहयोग आदान प्रदान गर्ने तयारी गरेका छन् ।

साथै स्वास्थ्य सेवा, संस्कृति, वातावरण, दुवैतर्फ दूतावास स्थापना र अन्य द्विपक्षीय फाइदाका विषयमा सम्झौता हुने भएको छ । ट्रम्पले सम्झौतालाई ठूलो सफलता भनेका छन् । इजरायल र यूएईले उक्त सम्झौतालाई ऐतिहासिक र शान्तिको दिशामा एउटा सफलता भनेका छन् ।

प्यालेस्टिनीहरूले यो कदमले आफ्नो भविष्यमा एउटा स्वतन्त्र देश बन्ने आशालाई नष्ट गरिदिने जनाएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भने सम्झौताको स्वागत गरेका छन् ।

इजरायलले अहिलेसम्म कुनै पनि खाडी मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थिएन । इरानलाई लिएर बढ्दो साझा चिन्ता बढिरहेको बेला अमेरिकाको मध्यस्ततामा युएईसँग शान्ति सम्झौता भएको हो ।