देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना चुनौती र असफल सरकारको रवैया

देशान्तर

यतिबेला कोरोनाले मानव सभ्यतालाई नै चुनौती दिएको स्थिति छ । कोरोना कहरको बीचमा नेपालमा जे जस्ता गतिविधिहरू भइरहेका छन्, त्यसलाई हेर्दा नेपालमा अझ बढी भयावह स्थिति हुने देखिन्छ । कोरोनाका बारेमा सरकारले कुनै अनुमान नगरेको, त्यो खालको तयारी पनि नगरेकोले कोरोनाका कारण तत्कालीन र दीर्घकालीन अवस्था भयावह हुने जुन स्थिति देखिएको छ, त्यसले गर्दा पनि हामीबीचमा एकदमै ठूलो त्रास सिर्जना गरेको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या घटेको छ भनेर भनिएको छ । तर, विचारमा परीक्षण नै कम गरिएकाले संक्रमितको संख्या पनि कम देखिएको हो भन्ने प्रष्ट हुँदै गएको छ । प्रधानमन्त्रीले जनसंख्याको २ प्रतिशतलाई परीक्षण गर्ने भन्नु भएको थियो । त्यो भनेको ६ लाख हो । तर अहिलेसम्म साढे २ लाख पनि पीसीआर परीक्षण पुगेको छैन । सरकारले जे प्रतिबद्धता जनाएको थियो त्यसअनुसार काम पनि गरेको छैन । बीचमा सरकारको गतिविधि प्रधानमन्त्रीको अभिव्यक्तिहरू झन् गैरजिम्मेवर देखिएका छन् ।

कोरोनाको संख्या बढ्नुमा सरकार नै जिम्मेवार छ । सुरुमा प्रधानमन्त्रीले भारतबाट आउने नेपालीहरूलाई निरुत्साहित गर्नुभयो । सरकारसँग सोधेर नेपाल आउँदा घर पुग्न नसकिने स्थिति प्रधानमन्त्रीको अभिव्यक्तिबाट बन्यो । त्यसले गर्दा भारतबाट नेपाल आउने नेपालीहरू लुकिछिपी आएर आफ्ना घरसम्म पुगे । जसले गर्दा कोरोना संक्रमण बढ्यो । प्रधानमन्त्रीले सुरक्षित तरिकाले नेपाल आउनुपर्छ, सीमामा निश्चित सुरक्षा मापदण्ड पूरा गर्नुपर्छ भनेर सुरुमै भनेको भए अहिलेको जस्तो भयावह अवस्था आउने थिएन ।

नेपाली कांग्रेसले सरकारलाई यसबीचमा १ सय ६५ भन्दा बढी सुझाव दिएको छ । कांग्रेसले विज्ञप्ति निकालेर होस् वा ज्ञापनपत्र बुझाएर होस् हरेक पटक सरकारलाई राम्रो काम गर, जनताको जीवनरक्षाका लागि थप प्रभावकारी कदम चाल्नका लागि पटकपटक आग्रह गर्दै आएको छ ।

विभिन्न फोरमबाट सरकारलाई हामीले सुझाव दिए पनि सरकारले हाम्रो कुरा नसुनेको हो । सुनाउने शैली परिवर्तन गर्नुपर्ने थियो होला शायद । जबरर्जस्त गर्नुपर्ने थियो होला, संसद् नै बन्द गर्नुपथ्र्यो होला । सरकारले कांग्रेसको मात्रै होइन अरू कसैको पनि कुरा सुनिरहेको छैन । स्वास्थ्य मन्त्रालयले आरडीटी परीक्षण नगर भनेर भन्यो तर त्यो परीक्षण निरन्तर गरिरह्यो । विज्ञहरूले जे कुरा नगर भनिरहेका छन् सरकारले त्यो काम निरन्तर गरिरहेकै छ । सरकारको स्वार्थ जनताको स्वास्थ्य सुरक्षामा होइन कि त्यहाँभित्र कसरी कमिसन प्राप्त गर्न सकिन्छ भन्नेमा केन्द्रित छ ।

नेकपाको संसद्मा दुई तिहाइको नजिक बहुमत छ । यो व्यवस्थामा विरलै प्राप्त हुने बहुमत हो यो । यति ठूलो समर्थन प्राप्त गरेर पनि उहाँहरूले देशलाई केही दिन नसक्नु भनेको नेकपाको अयोग्यता हो । राजनीति स्थिरता त धेरै परको कुरा हो यथास्थितिमा पनि उहाँहरूले देश चलाउन सक्नु भएन । किनकि भ्रष्टाचारको ग्राफ पहिलेभन्दा अहिले धेरै बढेको छ भने कुशासनको विषय जताततै देखिन्छ । विकासको दृष्टिकोणले हेर्ने हो भने पनि नयाँ काम केही भएको छैन । अहिले भर्खरै महालेखाले निकालेको बेरुजुको तथ्यांकबाट पनि प्रष्ट हुन्छ । चारैतर्फबाट हेर्ने हो भने निराशामात्रै देखिन्छ । मुलुकमा झन्डै दुई तिहाइको सरकार छ । केन्द्रीय सरकार एउटै पार्टीको छ । सातमध्ये ६ प्रदेशमा आफ्नै पार्टीको सरकार छ । हरेक ठाउँमा एउटै पार्टीको बहुमत हुँदा पनि काम गर्न नसक्ने सरकारले के गर्दा गर्न सक्छ त ? यो त सरकारको नेतृत्व गर्ने पार्टी र नेतृत्वकर्ताकै कमजोरी हो ।

यसरी हेर्दा नेकपाको अहिलेको नेतृत्व असफल भएको छ । अहिलेको असफल सरकार नेकपाले फेर्न सकेन भने नेकपा नै असफल हुन्छ । किनकि केपी ओलीभन्दा योग्य मान्छे नै नेकपामा छैन भन्ने म्यासेज जान्छ । केपी ओलीभन्दा योग्य मान्छे नेकपामा नभएकै कारण ओलीले जति गैरजिम्मेवार अभिव्यक्ति दिए पनि नालायक काम गरे पनि नहटाउनु भनेको त यही कुरालाई पुष्टि गर्छ, होइन र ? अझ भनौं जति गलत काम गरे पनि जति गैरजिम्मेवार काम गरे पनि जति मनलाग्दी ढंगले बोले पनि प्रधानमन्त्रीको मर्यादा कायम गर्न नसके पनि, संवैधानिक व्यवस्थामाथि ठाडै प्रहार गरे पनि आखिर नेकपाले केपी ओलीको विकल्प त दिन सकेन । त्यसकारण केपी ओलीभन्दा योग्य मान्छे नेकपा भित्र कोही रहेनछ । केपी ओलीको योग्यता मूल्यांकन गर्ने हो भने त उहाँले यति बेसुरमा तथ्यहीन ढंगबाट बोलिरहनु भएको छ त्यसले प्रधानमन्त्रीको मर्यादा कायम गर्न पनि सकेन । नेपालभित्र पनि त्यसले एकदमै असन्तुष्टि बढाएर लगेर गयो । कूटनीतिक मर्यादा पनि कायम गर्न सकेन । अन्य देशसँगको सम्बन्ध बिगार्ने परिस्थति बनेको छ । त्यसले नेतृत्व असफल मात्रै होइन, नेपालको सबै पक्षलाई बिगार्नेतर्फ उन्मुख भएको देखिन्छ ।

प्रधानमन्त्री ओलीको पछिल्लो रवैया भनेकै जबरजस्त भारतको विरोध गर्नु रहेको छ । भारतविरोधी सेन्टिमेन्ट यहाँ बढाउनुपर्छ । भारत विरोधीहरूको समर्थन आफूलाई पाउनका लागि जतिसक्दो चिढ्याउने काम प्रधानमन्त्रीबाट भइरहेको छ । कतिपय कुराहरू भारतसँग हाम्रा समस्याहरू छन् ।

ती समस्याहरू छन् भन्दाभन्दै तथ्य, इतिहास परम्परामा नभएका कुराहरूमा दाबी गर्नु राम्रो कुरा होइन । पछिल्लो प्रकरणले नेपाल भारत सम्बन्ध झन् टाढा हुने अवस्था आएको छ । अझ भनौं वार्तामा बसेर सीमालगायतका विभिन्न कुराहरू सल्टाउनुपर्ने विषयमा नेपालले झनै भारतलाई चिढ्याएर वार्ताको टेबलमा बस्नै नसकिने अवस्थातर्फ लैजाँदै छ । यसले गर्दा नेपालको अरू देशसँगको सम्बन्धमा पनि असर पर्दै जान्छ । यसले अन्तर्राष्ट्रिय सहयोगलगायतका विषयमा पनि समस्या हुने भएकाले ख्याल गर्न जरुरी छ । प्रधानमन्त्रीमा पछिल्लो समय मानसिक असन्तुलन जस्तो देखियो । जे मनलाग्यो त्यही बोल्ने, तथ्य तथ्यांकभन्दा बाहिर गएर हावादारी कुरा गर्ने र अहंकार देखाउने काम भइरहेको छ । त्यसैले म फेरि पनि भन्छु नेकपाको सरकार छ, तर, सरकारको नेतृत्व गर्ने केपी ओली एकदमै नालायक व्यक्ति हुनुहुन्छ । उहाँको विकल्प दिनका लागि हामीले नेकपालाई पनि आग्रह गर्दछौं । किनकि म नेपाली कांग्रेसको भए पनि प्रधानमन्त्री मेरो पनि हो । उहाँले मेरो पनि शिर निहु¥याउने काम गर्नुभयो । नेपालको राष्ट्रिय स्वाधीनता र स्वाभिमान गिराउने काम गर्नुभयो । नेपालमा कस्तो प्रधानमन्त्री छ भनेर अरूले होच्याउने अवसर दिनुभयो । आफ्नो पद रक्षाका लागि यो किसिमिले प्रस्तुत हुने प्रधानमन्त्रीको तरिका एकदमै गलत हो ।
हामीले नयाँ संविधान जारी गरेका छौं । यो व्यवस्था टिकाउनका लागि सरकारले डेलिभर गर्न सक्नुपर्छ । नेपालको कानुनी व्यवस्थालाई पूर्णरूपमा कार्यान्वयन गर्नुपर्छ । नेपालमा विगतमा जुन अस्थिरता थियो त्यो अन्त्य हुनुपर्छ । त्यसकारण नेकपा फुटेपछि नेपाली कांग्रेस स्वतः ठूलो हुन्छ भन्ने हिसाबबाट हेरिरहेका छैनौं । पाँच वर्ष नेकपालाई सरकार चलाउने म्यान्डेट दिएका छन् ।

कांग्रेसलाई प्रतिपक्षमा बसेर प्रभावकारी भूमिका खेल्न भनेका छन् । त्यसैले हामी यो बीचमा सरकारमा पनि जाँदैनौं । सरकारले राम्रो काम गरेको अवस्थामा हामी सधै सरकारलाई सहयोग गर्र्छांै भन्दै आएका छौं । तर सरकार यति धेरै असफल भयो, गलत काम गर्दै गयो । यसलाई मर्यादित तरिकाले करेक्सन गर भन्दा पनि सरकारले सुनेको छैन । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीमा अहंकार देखियो । त्यसैले नेकपाले सरकारको नेतृत्व गर्ने व्यक्तिलाई बदल्न जरुरी छ । त्यो भनेको नेपाली कांग्रेस सरकारमा जाने भन्ने होइन । अब बाँकी रहेको समय अर्थात् यो कार्यकालभरि कांग्रेस प्रतिपक्षमा बस्छ । कांग्रेसकै नेतृत्वमा सरकार बन्ने अवस्था आयो भने पनि हामी सरकार बनाउनतर्फ लाग्दैनौं । जनताले हामीलाई निर्वाचनको माध्यमबाट प्रतिपक्ष हुने म्यान्डेट दिएका छन् । त्यो प्रतिपक्षको भूमिकालाई कांग्रेसले न्याय गर्छ ।
– वार्तामा आधारित