७ जेठ २०३९, बिहानको ९ बजे । गौशालाको विजेश्वरीस्थित कोइराला निवासको एक तलामाथिको बैठक । भर्याङ उक्लेर बैठकमा पुग्दा सान्दाजु कुर्चीबाट उठिसक्नु भएको थियो । पछाडिबाट उहाँलाई दुवै पाखुरामा भर दिएर उठ्न सघाइरहनु भएको थियो– गणेशराजजीले । उहाँसँगै बैठकमा उपस्थित सबैजना एकसाथ जर्याकजुरुक उठिसकेका थिए । त्यसैबेला म टुप्लुक्क पुगें । मैले देखें, चार महिनामा सान्दाजु धेरै दुब्लाउनु भएको रहेछ, कृशकाय शरीर, कसैले आड दिएन भने ढलिहाल्नुहुन्छ कि जस्तो लाग्ने । दाह्री राम्ररी मुठारिएको भए पनि पहिलेको ज्वाजल्यमान कान्तिले दीप्त अनुहार अहिले मुर्झाएको थियो । म भित्रभित्रै काँतर बनें । उहाँ आराम गर्न बेडरुममा जानलाग्नु भएको देखेपछि आफू समयमै आउन नसकेकोमा दुःख पनि लाग्यो । भर्याङको डिलबाटै मैले अभिवादन गरें– जय नेपाल ।
ए, तिमी कहिले छुट्यौ ? मलाई देखेर प्रसन्नतापूर्ण खुसीले उहाँको अनुहार खिलेको थियो ।
‘हिजो राति’– मैले विनयपूर्वक उत्तर दिएको थिएँ ।
डाक्टरतिर हेरेर उहाँले भन्नुभयो– यिनी भरखर जेलबाट छुटेर आएका छन् । एक छिन बसौं है !
उठेर हिँड्न तयार भइसकेका सबैजना आ–आफ्नो स्थानमा फेरि बसे । यसपटक पनि सान्दाजुलाई गणेशराजजीले उहाँका लागि सुरक्षित अग्लो कुर्चीमा बस्न सघाउनु भयो । राम्ररी बस्न नपाउँदै उहाँले औंला ठड्याएर भन्नुभयो– “देख्यौ, तिमी त प्रमाण भएका छौं, देशमा घुसपैठको स्थिति कति गम्भीर छ भन्ने कुराको । घुसपैठको पर्दाफास हुँदा प्रशासनको जिम्मेदार तहमा बस्नेहरू कसरी तिल्मिलाउँदा रहेछन् । मलाई केही गर्ने आँट नपुगेर तिमीलाई थुने ।”
२०३८ सालको मंसिर महिनाको पुनर्जागरण मासिक पत्रिकामा सान्दाजुको एउटा लामो अन्तर्वार्ता प्रकाशित भएको थियो– “आत्मश्लाघाले आइडिट जन्माउँछ, मेलमिलापले देश बचाउँछ” शीर्षकमा । त्यसमा उहाँले इन्डोनेसियाका कम्युनिस्ट नेता डीएन आइडिटले घुसपैठका माध्यमबाट सत्ताकब्जा गर्ने विषयमा तयार पारेको फर्मुलालाई कसरी नेपालमा अनुसरण गरियो, त्यसको सविस्तार वर्णन गर्नु भएको थियो । त्यहाँका राष्ट्रपति डा. सुकार्णो चमत्कारिक नेतृत्वका धनी थिए र चुनाव पनि जित्थे, तैपनि उनको पार्टीको संगठनको जरा जनतामा फैलिएको थिएन । कम्युनिस्ट पार्टी भने संगठित, अनुशासित तथा सुदृढ थियो । तर निर्वाचनमा जहिले पनि सुकार्णोकै पार्टी जित्थ्यो, कम्युनिस्टहरू हार्थे । प्रजातान्त्रिक तरिकाबाट सत्ता प्राप्त हुने नदेखेपछि आइडिटले राज्यसत्ता हत्याउने नयाँ उपाय अपनाएका थिए– घुसपैठको । सुकार्णो, आफ्नो प्रशंसामा मक्ख पर्ने, अर्थात् आत्मश्लाघा रुचाउने व्यक्ति थिए । आइडिटले कार्यकर्तालाई गोप्य सल्लाह दिए, उनको खुब तारिफ गरिदेऊ र आफ्नो मिसन पूरा गर । त्यो भनेको सुकार्णोको पार्टी, प्रशासन र सेनामा आफ्ना मान्छेलाई घुसपैठ गर्न लगाउने र सबैतिर बलियोसित स्थापित भइसकेपछि एक सुनौलो बिहान कम्युनिस्ट पार्टीको निर्देशनमा सत्ता कब्जा गर्ने त्यो फर्मुलाको अभीष्ट थियो ।
२०१७ साल पुस १ गतेको राजा महेन्द्रको काण्डपछि यहाँका कम्युनिस्टहरूले पनि त्यही फर्मुला नेपालमा लागू गर्ने निर्णय गरे र सुनियोजित तरिकाले घुसपैठ गर्न थाले । अन्तर्वार्ताका माध्यमबाट उहाँले त्यही वास्तविकताको रहस्योद्घाटन गर्नु भएको थियो । त्यो अन्तर्वार्ता प्रकाशित भएपछि पञ्चायत व्यवस्थाले भूकम्पको जोडदार धक्का अनुभव गरेको थियो । चोरको खुट्टा काट् भन्दा चोरले खुट्टा उचालेजस्तै प्रशासनले पुनर्जागरणको दर्ता खारेज गरेर मात्र नपुगेर सम्पादकलाई समेत सुरक्षा कानुनअन्तर्गत जेलमा थुनेको थियो । चार महिनाको यातना झेलेर नक्खु जेलबाट एक दिन अघि मात्र म रिहा भएको थिएँ ।
स्वाभाविक हो, त्यसपछि एक क्षण आइडिट फर्मुलाको प्रक्षेपणपछि उत्पन्न राष्ट्रव्यापी प्रतिक्रियामाथि केन्द्रित रह्यो । निकोलस कोपर्निकसले उनका पूर्ववर्ती गणितज्ञ टोलेमीले प्रतिपादन गरेको त्यो सिद्धान्त कि पृथ्वी नै सौर्यजगतको केन्द्र हो भन्ने धारणाको खण्डन गरेर सम्पूर्ण सौर्यमण्डलको केन्द्र सूर्य हो, पृथ्वीले पनि अरू ग्रहहरूले जस्तै सूर्यको परिक्रमा गर्छ भन्ने सिद्धान्त प्रतिपादन गर्दा जसरी चर्च तथा सम्पूर्ण इसाईहरूको कोपभाजनको सिकार बन्नुपरेको थियो, त्यसैगरी त्यो अन्तरर्वार्तापछि बीपी कोइरालाले पनि चौतर्फी हमलाको सामना गर्नुपरेको थियो । पञ्चहरूले कुरै नबुझेर र कम्युनिस्टहरूले आफूलाई नाङ्गेझार पार्न लाग्यो भनेर आक्रमण तीव्र तुल्याएका थिए ।
कम्युनिस्टहरूबाट भएको त्यस प्रकारको आक्रमण र विरोधको चर्चा चलिरहेकै बेला मैले अवसर छोपेर सान्दाजुको ध्यान, त्यही अन्तर्वार्ताको त्यो प्रसंगमाथि आकृष्ट तुल्याएँ, जसका प्रति उहाँको कठोर टिप्पणी थियो– “रुसमा लेनिन क्रान्तिद्वारा होइन, एउटा सफल कपट प्रयोगबाट सत्तामा आएका थिए ।” क्रान्तिका अग्रदूतका रूपमा संसारभरि ख्याति अर्जित गरेका लेनिनमाथि त्यस प्रकारको आक्षेप अधिकांश बुद्धिजीवीहरूका निम्ति आश्चर्यजनक थियो । त्यो अन्तर्वार्ता पढेपछि धेरैले जिब्रो टोकेका थिए ।
कतिपय प्रजातन्त्रवादी चिन्तकले पनि त्यसलाई पचाउन सकेका थिएनन् । चार महिना जेलमा रहँदा रुसको इतिहासको त्यो विशेष कालखण्डको इतिहास दोहो¥याएर नपढुन्जेल म आफैंलाई पनि सान्दाजुको त्यो अभिव्यक्ति अतिशयोक्तिपूर्ण होलाजस्तो लागेको थियो । तर जब रुसको इतिहासको त्यो कठिन अवस्थाको अध्ययन र खास गरेर लेनिनका विश्वस्त साथी डेविड सुडले लेखेको उनको जीवनीका अतिरिक्त उनका तीन अन्तरङ मित्रहरू– सोलोमन, क्रसिन र गोर्कीले तत्कालीन रुसी परिस्थिति र लेनिनका क्रियाकलापमाथि प्रकाश पार्न लेखेका टिप्पणीहरू पढें, अनि बल्ल थाहा पाएँ, सान्दाजुको त्यस्तो निष्कर्ष, रुसको इतिहासको गहन अध्ययन, तत्कालीन रुसी परिस्थिति र प्रथम विश्वयुद्धको प्रभावको सूक्ष्म विश्लेषणमा आधारित रहेछ । मैले डेभिड सुडको पुस्तक, आत्मीय साथीहरूसँग भएका लेनिनका संवाद, पत्राचारहरू तथा उनले क्रान्तिलाई भन्दा सत्ताका लागि बुनेका षड्यन्त्रका तानावाना कस्ता थिए, ती सबैमाथि प्रकाश डाल्न केही नोट तयार पारेको र तिनलाई क्रमशः प्रकाशित गर्ने घृष्टता गरेको कुरा संकोचपूर्वक सान्दाजुलाई भनें । त्यतिन्जेल बडो ध्यानले सुनिरहनु भएको थियो, मैले त्यो विषयमा लेख्न खोजेको सुनेपछि प्रसन्नतापूर्ण आवेगमा आउनुभयो र भन्नुभयो– “लेख, लेख्ने मात्र होइन, तिमी त्यसमाथि एउटा बहस नै चलाऊ । त्यसमा म पनि भाग लिन्छु ।”
अनपेक्षित कुरा हठात् पाउँदा जसरी मानिसलाई विश्वास लाग्दैन, मलाई पनि त्यस्तै भयो । मैले उहाँसमक्ष कुनै असाधारण विषय राखेको थिइनँ । उहाँको अन्तर्वार्तामा व्यक्त भएका दुइटा विषय– आइडिट फर्मुला र लेनिनको कपट प्रयोगका सन्दर्भमा आफूले जेलमा थप अध्ययन गर्ने क्रममा तयार पारेका नोटहरूलाई लेखका रूपमा प्रस्तुत गर्ने विचार व्यक्त गर्दा त्यत्ति ठूलो अनुग्रह ! त्यो पनि प्राध्यापक, वकिल, डाक्टर, पत्रकारजस्ता बुद्धिजीवीसमक्ष मजस्तो अकिंचन कार्यकर्ताका लागि आत्मप्रेरणा बढाउन व्यक्त गर्नु भएको विश्वास र भरोसाको अचुक आश्वासन, यथार्थमा आशीर्वादभन्दा कम थिएन । तत्क्षण म उहाँको त्यस्तो अनुग्रहको भारले थिचिन पुगेको थिएँ ।
त्यसपछि पनि उहाँले केही भन्नुभएको थियो, मैले याद गर्न सकिनँ । मेरो मानसपटलमा त्यही एउटा कुरा, “तिमी बहस चलाऊ, म पनि भाग लिन्छु,” फन्फनी घुमिरहेको थियो ।
तर त्यसबेला कसलाई थाहा थियो कि त्यही उहाँको अन्तिम संवाद हुनेछ, उहाँ त्यसपछि हुने कुनै प्रकारका बहस र छलफलमा भाग लिन हामीबीच रहनु हुने छैन । त्यसको भोलिपल्ट क्यान्सरको अन्तिम चरणको उपचारका लागि उहाँ दिल्ली प्रस्थान गर्नुभयो । दिल्लीमा उपचार सम्भव नभएपछि बंैकक र त्यहाँ पनि औषधिले काम गर्न छाडेपछि काठमाडौं फर्कनुभयो । आफ्नो मातृभूमि र नेपाली जनताका लागि सम्पूर्ण जीवन समर्पण गर्नु भएका सान्दाजुको आफ्नै देशको माटोमा प्राण त्याग्ने उत्कट चाहना पूरा भयो । उहाँले २०३९ साउन ६ गते विजेश्वरीको कोइराला निवासमा भौतिक शरीर त्याग्नुभयो ।
आज उहाँ हुनुहुन्न तर उहाँको प्रेरणा र प्रोत्साहन भने मेरो जीवनको अमूल्य निधि बनेर रहेको छ । (२०४१ सालको राजधानी साप्ताहिकको वर्ष १ अंक २८ मा प्रकाशित बीपी विशेषांकबाट) यद्यपि उहाँको अनुपस्थितिमा विभिन्न कारणले त्यो बहस र छलफल त्यही रूपमा चलाउन सम्भव भएन, तथापि मैले आफ्नो तर्फबाट पुनर्जागरणका विभिन्न अंकमा ती दुई विषयमा संकलित तथ्य र तथ्यांकका आधारमा तयार पारेका टिप्पणीहरू क्रमशः प्रकाशित गरें र उहाँले सुम्पनु भएको विश्वास निधिको जगेर्नामा कुनै कसर बाँकी राखिनँ । पञ्चायतको अन्त्यपछि आइडिट फर्मुलाको सान्दर्भिकता समाप्त भएको मानेर धेरैले सञ्चो मानेका थिए । तर लोकतन्त्रको आवरणमा त्यसको पुनर्जन्म अहिले जसरी भएको छ, त्यसरी होला भन्ने चाहिँ सान्दाजुबाहेक अरू कसैले पूर्वानुमान लगाउन सकेका थिएनन् । दूरदर्शी राजनेताको अभाव खड्केपछि सबैका घैंटामा घाम लाग्न थालेको छ । कम्युनिस्टलाई चिन्ने र त्यसबाट राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रलाई जोगाउने चिन्ता र चिन्तन हिजोभन्दा आज झन् सान्दर्भिक हुन थालेको छ । उहाँको चिन्तनलाई सही परिप्रेक्ष्यमा बुझ्ने र कांग्रेसलाई त्यही दिशामा डोर्याउने चेत सबैमा खुल्नु परेको छ । अनि मात्र उहाँको जयन्ती मनाएको सार्थकता सावित हुन सक्छ ।
प्रतिक्रिया