देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संक्रमितहरू घरमै

देशान्तर

 धादिङका एक पुरुषलाई असार २७ मा कोरोना संक्रमण देखियो । कोरियाबाट फागुन १९ मा फर्किएका उनी कहिले धादिङ बस्थे, कहिले काठमाडौं ।

सरकारले पैसा तिरेर कोरोना परीक्षण गर्ने व्यवस्था ल्याएपछि उनी अस्पताल गएका थिए । परीक्षणमा पोजिटिभ देखियो । ‘कुनै लक्षण थिएन तर रिपोर्ट पोजिटिभ आयो,’ उनले भने, ‘मलाई टेकु अस्पतालमा भर्ना गर्न एम्बुलेन्स पठाउँछु भनेका थिए । मैले घरमै बस्ने प्रस्ताव गरें । सुरक्षित विधि अपनाउँछु भनेपछि मेरो प्रस्ताव स्वीकार भयो ।’
उनी अहिले स्थानीय तहको सहमति र चिकित्सकको निगरानीमा मनमैजुस्थित आफ्नै घरमा आइसोलेसनमा बसेका छन् । ‘अस्पताल गएर पनि उपचार हुने होइन ।

त्यहाँ पनि आराम गर्ने हो । त्यसैले घरमा बसेको छु,’ उनले भने । उनी घरकै आइसोलेसनमा बसेको जानकारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले काठमाडौं महानगरपालिकालाई पनि दिएको छ । त्यही दिन कोरोना देखिएका पर्वत स्थायी घर भएका मनमैजुकै अर्का एक जना पनि घरमै आइसोलेसनमा बसेका छन् । चाबहिलका एक रेस्टुरेन्ट सञ्चालकलाई पनि बुधबार कोरोना पुष्टि भयो ।

लकडाउनमा कतै नगएको उनको दाबी छ । त्यसैले ईडीसीडीले ‘ट्राभल हिस्ट्री’ नभएको संक्रमितमा उनको नाम राखेको छ । रसुवा स्थायी ठेगाना भएका उनी अहिले चन्द्रागिरिमा होम आइसोलेसनमा बसेका छन् । ‘छुट्टै कोठामा बसेको छु । परिवारको सदस्यसँग पनि टाढै छु,’ उनले भने, ‘अरूलाई नसरोस् भन्नेमा सचेत छु ।’ सरकारी कर्मचारीले अस्पतालमा भर्ना हुन एम्बुलेन्स पठाउने प्रस्ताव गरे पनि आफूले घरमै बस्ने जानकारी गराएको उनले बताए । घरकै आइसोलेसनमा बस्नेको संख्या काठमाडौंमा बढ्दो छ ।

ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार असार २५ गते अघिसम्म घरमा आइसोलेसनमा बस्ने चिकित्सक र स्वास्थ्यकर्मी मात्रै हुन्थे । ‘अहिले भने सर्वसाधारणले सुरक्षित तरिकाले घरमै बस्छु भन्दा अनुमति दिने गरेका छौं,’ उनले भने । कान्तिपुरमा खबर छ।