कोरोना विश्व–महामारी बनेको छ । महामारी अरू पनि आएका छन्, संसारभर । त यस्तो महामारी पहिले न देखियो, न सुनियो । त्यसैले यसलाई ‘नोभेल’ भनियो । हुन त सोसल मिडियामा सय वर्षअघि आएको थियो, भोलि दुई सय–तीन सय वर्षको पनि इतिहास आउला । ती अनुसन्धानका विषय हुन् । हाललाई यसलाई देख्ने–भोग्ने–सुन्ने यस संसारमा छैनन् । हामीकहाँ पनि सकेसम्म बन्दोबस्त गरिएको छ, तर रोगीको संख्या बढेको बढ्यै छ । यो दोष दिने कुरा होइन सरकारलाई । सकेको गर्दैछ । तर ‘क्वारेन्टिन’मा बलात्कार हुन्छ । म सोच्थें, यस्तोमा बाहिर पनि ‘बलात्कार’ नहोला । किनभने, यो रोग मानवबाटै मानवमा सर्ने हो भने, अच्किन्छन् होला । यहाँ त, स्वास्थ्य लाभ गर्न आएकी महिलामाथि नै आक्रमण, त्यो पनि स्वास्थ्य–कर्ममै खटिएका पुरुषहरूबाट । ती पुरुषहरू त आँटिलै रहेछन् । तिनको कुकृत्यपछि महिलालाई त अपरिचयात्मक राख्नुपथ्र्यो, ठीक भयो । तर ती कुकृतिकारहरूको, कमर्स कमसेकम के भइरहेछ ? कारबाही गरिँदैछ कि छैन ? जमानत आदि पाएर, पुनः मोजलोकमा फर्किसके कि ? कतैबाट केही आएको छैन । हाम्रो ‘मिडिया’को पनि सरकारजस्तै ‘सस्पेन्स’ राख्ने बानी त बस्न लागेन ?
…….
अज्ञानको पनि एउटा मनोविज्ञान हुन्छ । अज्ञान हुनु र अर्को मलाई अज्ञान छ भन्नु । यो राजनीतिमा एउटा राम्रो ‘हत्कण्डा’ बन्दो छ अचेल । प्रधानमन्त्रीले भन्नुभयो, म अर्थनीति जान्दिनँ, केवल राजनीति जान्दछु । त्यसकारण, जहिलेजहिले, जहाँजहाँ, आर्थिक चुहावट हुन्छ, त्यो मज्जाले गरे हुन्छ, किनभने प्रधानमन्त्री त त्यो जान्नुहुन्न, यस्तो सन्देश केही सक्रिय प्राणीमा जान थालेजस्तो छ । नमुना हामी देखिरहेकै छौं, यस्तो महामारीका समयमा समेत आर्थिक ‘घोटाला’का खबर आउँछन्, ठीक छ । हामीलाई पनि त थाहा छैन वास्तवमा त्यो के हो ? ‘खान्न र खान दिन्न’ भनेको त ‘प्रोक्सी’मा भनेजस्तो लाग्दोरहेछ । धेरै पुरानो कथन हो, त्यसकारण कसैले सम्झने झर्को पनि किन बेसाउनु ? यस्तामा तिनको स्वास्थ्य–क्षमतालाई मान्नु पर्दछ, जो जुनसुकै औषधि पनि खाइदिन सक्छन् र आफ्नो ‘इम्युनिटी’ बढाउन सक्छन् । यसैलाई पीएमले भनेको होला, नेपालीको ‘इम्युनिटी’ बढी छ । हामी पनि तिनकै ‘इम्युनिटी’ सापट लिएर बाँच्नुपर्ने जस्तो छ । मान्छे बढीमा बढी ग्रस्त हुँदै छन्, मृत्युदर पनि बढ्दै छ, तै पनि तिनले बनाएको ‘इम्युनिटी’ देशलाई हितकर मान्नु पर्दछ ।
………
यस्तो कोलाहलमा के कुरा गर्नु साहित्यको ? अर्थमन्त्री कर्मठ हुनुहुँदो रहेछ, कितावमा ट्याक्स लगाएरै छाड्नु भएछ । स्वदेशी उद्योगलाई प्रोत्साहन हुन त होला, तर हामी त ज्ञानको ढोका चारैतिर उघारेरै बस्न चाहन्छौं । त, अब बाह्य पुस्तक पढ्नु प¥यो भने, त्यो कर प्रत्यक्ष रूपमा व्यवसायीलाई लगाएको होला, किनभने, पुस्तक पनि बेपार हो । तर वास्तविक रूपमा भने, यो एक विशुद्ध मध्यमवर्गीय कर होे, जुन हामीजस्ता किताब पढ्ने मध्यमवर्गीय पाठकलाई लगाइएको छ । राम्रो भयो । अब बाह्य–पुस्तक कि त आउनै छाड्छ, कि हामीले प्रत्यक्ष रूपमा बढी कर तिरेर पढ्नु पर्छ । त्यो कर अन्य निकायले तिर्छ त ? त हामी त यसरी ज्ञानी बनौंला–नबनौला । तर सरकारले त ‘मलाई ज्ञान छैन’ भनेर छुटकारा पाइहाल्छ । एउटा उचित संस्कृतिको विकास हुन्छ ‘अज्ञान संस्कृति’ । संस्कृति त संस्कृति हो, त्यसलाई स्वागत गरौं, एउटा नयाँ संस्कृतिका रूपमा, होइन ? अरु उपाय के छ त ?
…………….
मैले धेरै साथीभाइलाई सम्पर्क गरें, फोनमा । प्रायः सबै त्रस्त छन्, घरबाट निस्केका छैनन् । हो, अलिकति ‘भिडियो कन्फ्रेन्सिङ’को जुन हावा चलेको छ, त्यसको आनन्द लिन्छन् । ठीक छ, यसरी पनि केही अक्सिजन प्राप्त हुन्छ भने नराम्रो हैन । यो आवश्यकताका लागि हो, सोखको विषय त बन्ने होइन । एकपटक, मलाई फोन आएको थियो, अमेरिका आदि कुनकुन विदेश जोडेर नेपाली साहित्यकारको ‘भिडियो कन्फ्रेन्स’ गर्ने । मैले– “विषय के हो ?” जवाफ आयो– “साहित्य ।” माने बुझेअनुसार यो ‘अपारे काव्य–संसारे’मा हाम फाल्ने विषय रहेछ ।
– “मलाई त आउँदैन” भनें । वास्तवमा म प्रविधि मैत्री हुनै सकेको छैन । हो पनि प्रभात दीक्षित र शंकर भारतीको सञ्चालन हुनाले मैले त्यसमा सहभागिता जनाएँ । प्रविधिमैत्री नभए पनि धेरै थोरै मैत्रीका साथ, शुभकामना दिएँ, मोबाइलमा बोलेर । यति मैत्री त थियो नै ।
‘थाहा छैन’ संस्कृति, कस्तो लहलाउँदो छ, हामीकहाँ । त्यति लामो बाटो बन्यो, कति महिना र वर्षमा, थाहा छैन । मान्छे ‘क्वारेन्टिनबाट’ भागिरहेका छन्, थाहा छैन किन भाग्छन् । क्वारेन्टिनबाट निस्केर नजिककोहरूमा गएर झुन्डिन्छन्, क्वारेन्टिनभन्दा, त्यही ‘सेफ’ हुन्छ भनेर, थाहा छैन । तर यो त निर्मला वा सुन–चाँदीदेखि नै चलिआएको छ, त्यसमा अचम्म मान्नुपर्ने के छ ? एउटा वकिलले आफ्नो क्लाइन्टलाई सिकाएछ, विरोधी वकिलले जे सोधे पनि, थाहा छैन हजुर भन्नु भनेर । वकिलले अभियुक्तसँग सोध्यो– “तिम्रो आमाबाबुको नाउँ के हो ?” अभियुक्तले भन्यो– “थाहा छैन हजुर, थाहा छैन ,” – “तिम्रा अरु पनि साथी थिए कि ?” – “थाहा छैन ।” – “फलानो दिन चोरी हुने समयमा तिमी कहाँ थियौं ?” – “थाहा छैन ।” – “तिम्रो आफ्नो नाम राम हो ?” – “थाहा छैन हजुर ।” गर्दागर्दै अभियुक्तले मुद्दा जितेछ । पछि वकिलले आफ्नो क्लाइन्टको पिठ्युमा धाप मार्दै भन्यो– “वेल डन, अब मेरो फि देऊ ।” क्लाइन्टले जवाफ दियो– “थाहा छैन हजुर, मलाई केही पनि थाहा छैन ।”
प्रतिक्रिया