देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनसँग सीमा विवाद छैन भने सगरमाथामा चीनको अझै कब्जा किन ?

देशान्तर

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सत्तारूढ नेकपाको पोलिटब्युरोको चालू बैठक शृंखलामा भारत र चीनसितको सीमा विवादमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा कालापानी एरियाबाट फिर्ता जान भारतले तत्परता नदेखाएको तर एक दिन नेपालले फिर्ता जान बाध्य पारी छाड्ने कटिबद्धता व्यक्त गर्दै चीनसँग चाहिँ कुनै प्रकारको सीमा विवाद नरहेको भनेर उत्तरतिरको सीमा समस्यालाई ढपक्कै ढाकेर हाकाहाकी चीनको ताबेदारी गरेको देख्दा स्वाभिमान नेपालीलाई उनी नेपालका परराष्ट्रमन्त्री हुन् कि चीनका परराष्ट्र विभागका कर्मचारी हुन्, त्यो छुट्ट्याउन मुस्किल परेको थियो । चीनले नेपालतर्फको सीमा मिचेको कुरा बिल्कुलै निराधार हो भनेर उनले दर्जनौं स्थानमा सीमा मिचेको घटनालाई त छोप्ने काम गरे नै, सारा संसारले चिनेको सगरमाथाको आधा भाग चीनको कब्जामा रहेको तथ्य पनि ठाडै इन्कार गरे । उनले त्यसो भनेर अरु कसैलाई होइन, आफ्नै कामरेडहरूलाई ढाटेका थिए । उनले जुन मनोविज्ञानले झुट बोलेका थिए, अरू कामरेडहरूको पनि त्यही मनस्थिति भएकाले त्यसपछि न कसैले प्रश्न उठाए, न कुनै विवाद चल्यो । सबैले समवेत स्वरमा भने, भारतले कब्जा गरेको कालापानी क्षेत्र फर्काउनै पर्छ, तर चीनले सीमा मिचेको कुरा चाहिँ कसैले पनि उठाउन पाइन्न । नेपालका कम्युनिस्टहरूले उनीहरू जुन बेला त्यो पार्टीको सदस्य बनेका थिए, त्यसै बेलादेखि साँझ बिहान गायत्री मन्त्र जपेजस्तै गरी जप्ने गरेको मूलमन्त्र त्यही थियो । मन्त्री ज्ञवालीबाट त्यही मन्त्र, सुन्न पाउँदा उनीहरू कृतकृत्य भए ।

सगरमाथाको पोजिसन पहिले के थियो, चीनले तिब्बत कब्जा गरेपछि सीमांकन गर्दा के भएको थियो र अहिलेको अवस्था के छ ? त्यसको तथ्य र तथ्यांकका आधारमा विवेचना र समीक्षा कसैले गरेनन् । पोलिटब्युरोका सदस्यहरू सबका सबले आफूले विद्यार्थीकालदेखि चीन र भारतका बारेका घोकेका र कण्ठ पारेका पाठ कि भारत विस्तारवादी हो र चीन जनवादी भएकाले विस्तारवादी होइन । त्यही पाठ बुझाएर उनीहरू राष्ट्रवादीको तक्मा छातीमा भिरेर आ–आफ्नो घर फर्के । समस्या जहाँको तहीँ रह्यो– न दक्षिण सुल्झियो न उत्तर ।
सगरमाथाका बारेमा उनीहरूले अध्ययन गर्न चाहेका भए त्यसको आधा भाग, कुन परिस्थिति र परिवेशमा कसरी चीनको कब्जामा पुग्यो ? त्यसको नालीबेली सबै प्रस्ट हुने थियो । त्यो भनेको नेपाल, तिब्बत र चीनको इतिहास र भूगोल दुवैको इतिवृत्तान्त नजानेसम्म त्यो कसरी उसका कब्जामा पुग्यो, त्यसको यथार्थ प्रष्ट हुन सक्तैन । त्यही प्रयास उनीहरूले गरेनन् । उनीहरूले पत्ता लगाउन नसक्ने भएका कारण होइन, नचाहेकाले जानाजानी खोजबिन नगरेका हुन् । त्यत्ति मात्र पनि होइन, त्यसको वास्तविकता उदांग होला भन्ने चिन्ताले पनि उनीहरूले त्यसको ढाकछोप गर्नु परेको हो ।

नेपाललाई के कुरा, सम्पूर्ण विश्वलाई ज्ञान भएको कुरा हो कि सगरमाथाको सफल आरोहण गर्ने प्रथम आरोही थिए, एडमण्ड हिलारी । उनका सहयोगी साथी थिए– तेन्जिङ शेर्पा । उनीहरूलाई आरोहणको अनुमति नेपाल सरकारले दिएको थियो र उनीहरूले शिखरमा झन्डा पनि नेपाल र न्युजिल्यान्डको गाडेका थिए । तिब्बत अथवा चीनको स्वीकृति उनीहरूले लिएका थिएनन् । त्यसैले उनीहरूका झन्डा पनि त्यहाँ गाडिएनन् । उनीहरू, सन् १९५३ को मे महिनाको २९ तारिखमा सगरमाथाको शिखरमा पुगेका थिए । त्यसअघि विभिन्न देशका आरोहीहरूले त्यस्तो साहसिक अभियानमा भाग लिए पनि सफलता पाउन सकेका थिएनन् । त्यस क्रममा धेरैले ज्यान भने गुमाइसकेका थिए । त्यस्तो ऐतिहासिक सफलता उनीहरूलाई मिलेकाले हिलारी र तेन्जिङलाई त्यस बेलाका प्रायः सबै सरकार प्रमुखले बधाईज्ञापन गरेका थिए । यद्यपि चीनले तिब्बतमाथि आक्रमण गरेर उसको ठूलो भूभागमाथि कब्जा जमाइसकेको थियो, तैपनि उसको रक्तरञ्जित हात नेपालको सगरमाथासम्म पुग्न सकेको थिएन । विश्वको सबैभन्दा अग्लो माउन्ट एभरेस्ट, अर्थात् सगरमाथाको पहिलो सफल आरोहणसम्बन्धी समाचार र टिप्पणीको विश्वव्यापी प्रचार प्रसारको रेकर्ड हेर्दा पनि त्यसको पुष्टि हुन्छ ।

सगरमाथा आरोहणको दुई वर्षपछि सन् १९५५ अगस्त १ तारिख अर्थात् विसं २०१२ साल साउन १७ गते तिब्बतलाई चीनको स्वशासित प्रदेशको दर्जा प्रदान गरेर नेपाल र कम्युनिस्ट चीनका बीचमा दौत्य सम्बन्ध कायम भएको थियो । त्यसअघि चीनका सैनिकले तिब्बतलाई सामन्ती शासनबाट मुक्त गर्ने नाममा आक्रमण गरेर त्यहाँका राष्ट्रप्रमुख तथा धार्मिक नेता दलाई लामासँगै सम्झौता गर्न पेकिङको केन्द्रीय सरकारले बाध्य पारेको थियो । विस्तारवादको स्वभाव नै हो कि प्रतिकूलतामा सम्झौता गर्ने, अनि परिस्थिति आफ्नो अनुकूल हुनेबित्तिकै आक्रमण गरेर कब्जा गर्ने ! चीनले पनि त्यही ग¥यो । आफैंले गरेको सम्झौता उल्लंघन गरेर चीनले तिब्बतको राजधानी ल्हासामा आक्रमण मात्र गरेन, त्यसमाथि कब्जा नै जमायो । दलाई लामा तिब्बत छाडेर भारतमा शरण दिन पुगे । त्यसपछि सुरु भएको हो, नेपाल र चीनका बीचको सीमा र सोझै आमनेसामनेको स्थिति ।

चीनले तिब्बतमाथि कब्जा जमाएपछि पहिलो समस्या खडा भयो– सीमांकनको । नेपाल र तिब्बतका बीचमा त्यसअघि वैज्ञानिक तरिकाको सिमाना छुट्ट्याउने काम भएकै थिएन । सीमाको रेखांकन आधुनिक पद्धतिअनुसार गर्ने सोच र जनशक्ति तिब्बत र नेपाल दुवैसित थिएन । त्यसैले खोलानाला, पहाड, जंगल आदि नै सीमा विभाजनका आधार थिए । आधुनिक सीमा पद्धतिअनुसार दुई देशको सीमा छुट्ट्याउने काम भएकै थिएन । त्यसको प्रारम्भ भएको थियो, तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको चीन भ्रमणका समयमा । २०१७ साल वैशाख महिनामा भएको त्यो राजकीय भ्रमणका बेला भएको सम्झौताअनुसार तयार पारिएको सीमाको रेखांकन र विभाजनको विवरण, २०१८ साल असोज १९ गते पेकिङमा नेपालका राजा महेन्द्र र चीनका राष्ट्रपति लिउ साओचीले हस्ताक्षर गरेर सार्वजनिक भएको थियो । तर त्यसको सीमा स्तम्भ खडा गर्ने काम भने २०१९ सालमा मात्र भएको थियो । अर्को शब्दमा भन्नुपर्दा राष्ट्राध्यक्षको स्तरमा हस्ताक्षर भएर सीमांकन भएको नक्सा सार्वजनक भइसक्दा पनि सिमाना छुट्ट्याउने काम भने भएको थिएन ।

त्यसको उदाहरण हुन्– तत्कालीन उपसचिव दमनराज तुलाधर, जसमाथि सुदूरपश्चिमका १८ ओटा पिलर खडा गर्ने जिम्मा दिइएको थियो । तर उनलाई न त्यससम्बन्धी प्राविधिक ज्ञान थियो, न कुनै प्रकारको तालिम । कोही पनि जान नचाहेको त्यस्तो काममा उनलाई पठाइएको थियो । उनी त्यो क्षेत्रमा ज्ञान र सीप भएका कर्मचारीका नाताले होइन, अनुशासित तथा कर्तव्यनिष्ट राष्ट्रसेवकका नाताले खटाएको ठाउँमा पुगेका थिए । उनले त्यस समयको तिब्बतमाथि चीनको कब्जाको अवस्था कस्तो थियो र नेपालबाट तिब्बत पुगेका कर्मचारीलाई चिनियाँ अधिकारीले कस्तो व्यवहार गर्थे, त्यसको मार्मिक विवरण प्रस्तुत गरेका छन्– आफ्नो जीवनको अनुभव र भोगाइलाई समेटेर तयार पारिएको उनको आत्मकथामा । दमनराज तुलाधर शीर्षकको उक्त पुस्तक, २०३९ सालमा संग्रह प्रकाशनले प्रकाशित गरेको हो । त्यसको वितरक भने साझा प्रकाशन हो ।

त्यही ग्रन्थमा उनी भन्छन्, “कामकै सिलसिलामा खोजरनाथ जाने बाटोमै मानसरोवर र राक्षसदह पर्दो रहेछ । त्यहाँ पुगेपछि मभित्रको धार्मिक संस्कार जागृत भयो । नुहाउन भनेर म लुगा खोल्न थालें । एकजना चिनियाँ अफिसरले मेरो पाखुरामा समातेर के गर्न लागेको भनेर सोध्यो । मैले नुहाउन लागेको भन्दा उसले यहाँ नुहाउन हुँदैन भन्यो र केही वेरको वादविवादपछि पाँच मिनेटको समय दियो, मुखसम्म धुनलाई । मैले आफ्ना माता पितालाई तर्पण दिएर निक्लेपछि थाहा पाएँ, म त चिनियाँहरूको कैदी पो रहेछु भन्ने सोचेर रिसले चुर भएको थिएँ ।” (पृष्ठ २०६)

त्यस्तै उनीहरूका कैदी बनेका नेपाली कर्मचारीलाई साक्षी राखेर काम गर्ने सबै चिनियाँ कर्मचारी भएकाले नेपाली प्रतिनिधिलाई बाध्य पारेर आधा सगरमाथामाथि चीनले कब्जा जमाएको हो । साँच्चै परराष्ट्रमन्त्री ज्ञवालीले भनेको जस्तो चीनसित सीमा समस्या छैन भने आधा सगरमाथामाथिको चीनको कब्जा फिर्ता हुनुप¥यो र त्यहाँ जडान गरिएका स्याटेलाइट पनि हटाउनु प¥यो । त्यसका लागि नेपालको माग हुनुपर्छ उत्तरी सीमाको रेखांकन वैज्ञानिक आधारमा फेरि गरौं ।