मास्क नै कोरोनाको संक्रमणलाई एक व्यक्तिबाट अर्कोमा सर्न नदिने उपयुक्त तरिका भएको एक अध्ययनले देखाएको छ । टेक्सस र क्यालिफोर्नियाका अनुसन्धानकर्ताहरुको एक टोलीले इटली र न्युयोर्कमा मास्क लगाउँदा र नलगाउँदाका संक्रमण दरको तुलनात्मक अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन् ।
जसमा दुवै स्थलमा मास्क लगाउनु अनिवार्य बनाइएपछि मात्र संक्रमणको संख्यामा कमी आएको अध्ययनले देखाएको हो । सार्वजानिक स्थलमा ‘फेस मास्क’ लगाउनु नै मान्छेबाट मान्छेमा सर्न नदिने सबैभन्दा प्रभावकारी उपाय साबित भएको प्रतिवेदनमा उल्लेख छ ।
यसपछि सामाजिक दुरी, क्वारेन्टिन अनि कन्ट्याक्ट ट्रेसिङले पनि खोप निर्माण हुनु अगाडि कोरोना नियन्त्रणमा मुख्य भूमिका खेलिरहेको प्रतिवेदनले जनाएको छ । भाइरस सबैभन्दा बढी मान्छेले खोकेर वा हाँक्ष्यु गर्दा सीधै अर्को व्यक्तिमा सर्ने गरेको पाइएको हो ।
यसबारे स्पष्ट पत्ता लगाउन उनीहरुले कोरोनाको एपिसेन्टर वुहान, चीन, इटली र न्युयोर्कमा संक्रमणको ट्रेन्डबारे अनुसन्धान गरिएको थियो । यसमा मास्क लगाउनुले हावाबाट हुने संक्रमण र सिधा सम्पर्कबाट भाइरस सर्न जोगाउने हुनाले नै सबैभन्दा उचित तरिका साबित भएको हो ।
त्यस्तै सामाजिक दुरी, क्वारेन्टिन र आइसोलेसनले अर्को व्यक्तिसँग सम्पर्कमा आउन नदिने हुँदा संक्रमण दर न्युनिकरण गराउने तर हावा मार्फत हुन सक्ने संक्रमणबाट भने सुरक्षित राख्न नसक्ने बताइएको छ ।
प्रतिक्रिया