पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि नाघेरै सुरक्षाकर्मीको दुरुपयोग गर्दै आएका छन् ।
सरकारले पूर्वप्रधानमन्त्रीदेखि पूर्वउपप्रधान तथा मन्त्रीहरूसहित अन्य विशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेपछि केहीले भने त्यसरी खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेका छन् । कतिपय पूर्वविशिष्टहरूले आफैं सुरक्षाकर्मीलाई फिर्ता पठाएका छन् ।
यसरी सुरक्षाकर्मी फिर्ता गर्नेमा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीहरू रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, भीम रावल, कृष्णप्रसाद सिटौला, कमल थापा छन् । यस्तै, पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह र गोपालमान श्रेष्ठले पनि सुरक्षाकर्मी फिर्ता गरेका छन् ।
पूर्वगृहमन्त्री जनार्दन शर्मा र पूर्णबहादुर खड्काले पनि सुरक्षाकर्मी फिर्ता गरिसकेका छन् । उनीहरूले सशस्त्र प्रहरी प्रधान कार्यालयमा फोन गरेर नै सुरक्षाकर्मी फिर्ता पठाएका हुन् ।
यसैगरी, पूर्वमन्त्रीहरू रामशरण महत, शक्ति बस्नेत, गोविन्दराज जोशीलगायतले आफूसँग भएका दुई तिहाइ सुरक्षाकर्मी फिर्ता गरिसकेका छन् । यसरी फिर्ता भएका सुरक्षाकर्मीमध्ये धेरै सशस्त्र प्रहरीतर्फका छन् ।
पूर्वराजपरिवारको सुरक्षामा समेत सयभन्दा बढीको संख्यामा सुरक्षाकर्मी खटिँदै आइरहेका छन् । पूर्वप्रधानमन्त्री र पूर्वराजपरिवारको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सुरक्षाकर्मी खटिँदै आएका छन् । पूर्वराजा र राजपरिवारको सुरक्षामा एक सय जनाको फौज परिचालित छ ।
पूर्वप्रधानमन्त्रीहरूमध्ये सबैभन्दा धेरै सुरक्षाकर्मी नेकपा अध्यक्षसमेत रहेका पुष्पकमल दाहालको सुरक्षामा खटिएका छन् । उनको सुरक्षामा सशस्त्रका प्रहरीका ४८ सुरक्षाकर्मी खटिएका छन् । उनको सुरक्षाका लागि नेपाल प्रहरीबाट समेत डीएसपीको नेतृत्वमा छुट्टै समूह खटिएको छ ।
यसैगरी, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकहाँ १४, माधवकुमार नेपालकहाँ १३, लोकेन्द्रबहादुर चन्दकहाँ १०, झलनाथ खनालकहाँ ९ र डा. बाबुराम भट्टराईकहाँ ८ जना सुरक्षाकर्मी खटिएका छन् । राजधानी दैनिकमा खबर छ।
प्रतिक्रिया