देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अहिले फलाकेर के गर्नु

देशान्तर

अप्रिय सत्य हो तर २०४६ पछिका अधिकांश नेताहरू (अपवादबाहेक) दास मनोवृत्तिका छन् । यिनीहरूको राष्ट्रप्रेम ओठ, भाषण र पत्रपत्रिकाहरूमा मात्रै छ । अध्ययन, अठोट र अनुशासनको कमी छ ।

यिनीहरू आपराधिक पृष्ठभूमिका छन् । अधिकांश कांग्रेसी नेताहरू दम्भी र घमण्डी छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा नै अयोग्य भएर पनि पदमै टिकिरहन चाहन्छन् र नयाँ पुस्तालाई मौका दिँदैनन् । कम्युनिस्टहरू गफ दिन्छन्, सपनाहरू बाँड्छन् । स्वयम् प्रधानमन्त्री हावा कुरा गर्छन् । मधेसी दलहरू बार्गेनिङको खेलमा मस्त भएर सत्तामा टिकिरहन चाहन्छन् ।

सबै नेताहरूको पृष्ठभूमि फोहोरी र आपराधिक छ । यिनीहरू प्रकृतार्थमा भारत परस्त छन् । आफ्नो बुद्धि, विवेक र ज्ञानको परिधिमा रहेर काम गर्न सक्दैनन् । यिनीहरूले व्यक्तिगत रूपमा भारतबाट धेरै फाइदा लिएर नैतिक रूपमा तल परिसकेका छन् । जनतालाई गुमराहमा राख्न राष्ट्रियताको चर्को नारा दिन्छन् । म व्यक्तिगत रूपमा सबै पार्टीका शीर्षस्थ नेताहरूलाई चिन्दछु । यिनीहरू घृणित छन् र नेतृत्वशील क्षमता छैन ।

भारत नेपालमा सदैव अस्थिरता चाहन्छ । हाम्रा नेताहरूलाई खेलाउँछ चेसका गोटी सरह । हाम्रा नेता भनाउँदाहरू पनि सीमित लोभ–लालच र द्रव्यमा देश नै बेच्न तत्पर रहन्छन् ।

भारत नेपाललाई स्वतन्त्र राष्ट्रको रूपमा हेर्न चाहँदैन । भारतको एउटा प्रदेशको रूपमा मान्यता दिन्छ नेपाललाई । हाम्रो संविधानलाई अद्यपरिमित स्वागत गरेको छैन र गर्दैन पनि कहिल्यै ।

बेलाबेलामा सहयोग गरे जस्तो गरेर बढ़ी फाइदा उसैले लिइरहेको हुन्छ । नेपालका नदी–नालाहरू क्रमशः जुनसुकै सरकारका पालामा पनि उसैका भइरहेका छन् । हाम्रा नेताहरूको बोलीको ठेगान हुँदैन । बिहान एकथोक बोल्छन्, बेलुकी अर्कोथोक । ठाऊँ पिच्छे र मान्छेपिच्छे अलगअलग कुरा हुन्छन् ।

अहिले नेपालको पश्चिमी सिमानामा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रै नेपालको भूभागमा रहेता पनि भर्खर मात्रै हाम्रा प्रधानमन्त्री र धेरै मन्त्री, सांसद र ठूटे नेताहरूलाई थाहा हुँदैछ । नक्सा भर्खरै जारी गरे, खुसीको कुरा हो । जसरी भए पनि भूमि फिर्ता ल्याउँछौँ भनेर भने । वाह–वाह पाए । कुरा मात्रै गरेर हुन्छ कि कुर्बान पनि चाहिन्छ ।

राष्ट्रियताको चर्को नारा दिएर हुन्न । भारतलाई गालीगलौज गरेर, सड़कमा टायर बालेर, आपसी दुई देशको सम्बन्ध बिगारेर हुन्न । हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा एक्लो देश गएर पनि हुन्न । सतही कुरा बुझेर पनि हुन्न ।

राष्ट्रियता के हो भन्ने कुरा सबैले बुझेका हुन्नन् । यो केवल एउटा शब्द मात्रै हैन जनता तताउने । यसमा संवेदनशीलता जोडिएको हुन्छ । हाम्रा नेताहरूमा संवेदनशीलता छैन । किनभने राष्ट्रियतासँग भावना, भूगोल, माटो र त्यहाँका जनतासँगको प्रेम, सार्वभौमिकता आदि–इत्यादि जोडिएको हुन्छ । सिमाना मजÞबुत हुन्छ तर त्यहाँ हाम्रो सरकारको उपस्थिति छैन, प्रशासन छैन । हाम्रै भूमिबाट यति लामो बाटो बन्दा पनि हाम्रा नेताहरूको मौन स्वीकृति छ । त्यहाँका जनताको सुखसुविधा र आधारभूत सुविधा हाम्रो सरकारले दिँदैन भने त्यहाँका जनताले कसरी ‘नेपाली’ भनेर आफ्नो परिचय दिन्छन् ।

सिमानाका नेपालीहरूलाई आधार–कार्ड र अन्य राहतका सुविधा दिएर भारतले आफ्नो बनाई सक्यो भने हाम्रा नेताहरू घर–झगड़ा र भ्रष्टाचार, बलात्कार र व्यभिचारमै व्यस्त छन । हाम्रो सिमानामा हाम्रो सुरक्षा बल छैन, हाम्रा जनतालाई हाम्रो सरकारमा विश्वास छैन ।
सरकारले विद्वान र बुद्धिजीवीहरूलाई वास्ता गर्दैन । परामर्श र सरसल्लाह लिँदैन । दण्ड र पुरस्कारको व्यवस्था छैन । अयोग्य मानिसहरूलाई राजनैतिक नियुक्ति दिंइन्छ, राष्ट्रपति र राजदूत बनाइन्छ । सरकार अराजक, अप्रिय र जनताप्रति अनुत्तरदायी छ र सीमित घेराभित्र बन्धक छ । यसरी देशको गरिमा र अस्मिता जोगिँदैन ।

यसरी हेर्दा २०४६ पश्चात् एउटै अनुहारहरू सरकारमा आएका छन् र ‘चोर–चोर मौसेरे भाइ’ सरह देश र जनतालाई रसातलमा धकेलेर व्यक्तिगत रूपमा लुट मच्चाएका छन् ।

महेन्द्रले भारतलाई उतिखेर जग्गा बेचेको भन्ने कुरा भ्रामक हो । उसबखत, भारतसँगको सम्बन्ध राम्रो भएकाले अस्थायी रूपमा चाइनासँग लड्नलाई यो जमिन दिइएको कुराको प्रमाण हामीसँग छ । सबै सैन्य किल्लाहरू फिर्ता लगेता पनि भारतले एउटा सैन्यबललाई अद्यपरिमित त्यहीँ राखेर हाम्रो भूमिलाई मिच्दै आएको छ ।

नेपाल सानै भए पनि एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हों यद्यपि यो बाँदरका हातमा नरिवल भएको छ । नेताहरूले यो राष्ट्रलाई सही दिशातर्फ उन्मुख गर्न सकेका छैनन् र सक्तैनन् पनि यिनीहरूले किनभने यिनीहरू सबै दृष्टिकोणबाट दरिद्र छन् ।

म आशावादी छु तर पुस्तान्तरण हुनुपर्छ नेतृत्व । सबै पार्टीका बूढाहरूले अवकाश लिनुपर्छ । युवाहरूलाई मुलुक हाँक्न दिनुपर्छ । हामीले युटर्न लिन सक्नुपर्छ । कृषि र औद्योगिक क्रान्ति हुनुपर्छ नेपालमा । पर्यटन र पानीलाई आन्तरिक र बाह्य पर्यटनका लागि आकर्षित गर्नुपर्छ ।

सीमा विवादको विषयमा उत्तेजित भएर, झगड़ा गरेर समस्याको समाधान हुँदैन । विषय त्यति सजिलो र छिटै समाधान हुँदैन । भूमि हाम्रो हो । प्रमाण हामीसँग छ तर भारतको हात माथि छ । तसर्थ कूटनैतिक ढंगबाट यसको समाधान गर्न सकिन्छ तर भारत सजिलैसँग वार्तामा आउनेवाला छैन । हामी एक्ला छौँ । हामीले यस विषयलाई क्रमशः अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । ककस बनाएर विभिन्न अन्तराष्ट्रिय सभा–सम्मेलन र समिटहरूमा जानकारी गराउनु पर्छ । अन्य देशहरूको पनि साथ, सहयोग र समर्थन लिन सक्नुपर्छ । नेपाली मिडियामा मात्रै यो कुरा उठाएर हुन्न । भारत, पाकिस्तान, बंगलादेशलगायत चीन, अमेरिका, युरोपलगायत सबै देशका मिडियाहरूमा आउनुपर्छ । भारत, पाकिस्तान सबै देशहरूमा हाम्रा मित्रहरू छन् । उनीहरू बोल्छन् हाम्रो पक्षमा ।

साराँ्ंशमा भन्ने हो भने, यो सीमा विवाद समस्या समाधानको जिम्मेवारी सरकारले नै लिनुपर्छ तर संयमित भएर ।
अहिले फलाकेर मात्रै के गर्नु ?

(क्यालिफोर्निया निवासी प्रा.डा. दाहाल नेपाली कांग्रेसका प्राक्तन केन्द्रीय प्रशिक्षक र राजनैतिक विश्लेषकसमेत हुन् ।)

२०७७ जेठ १८ गते प्रकाशित देशान्तर साप्ताहिकबाट