श्चिम नेपालका गर्ब्याङ, गुन्जी, बुदीसहितका गाउँका मुखियाहरूले १ सय १६ वर्षअघि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबरालाई पत्र लेखेको पाइएको छ जसले भारतीय अतिक्रमणमा परेका गाउँ नेपालकै रहेको प्रमाणित गर्छ । गर्ब्याङ, गुन्जी, बुदी, छाङरु र तिंकर गाउँका मुखियाले आफ्नो क्षेत्रमा आन्तरिक रूपमा जग्गा अतिक्रमण तथा गरिब, दु:खीमाथि थिचोमिचो भइरहेको भनेर प्रधानमन्त्री चन्द्रशमशेरलाई विसं १९६१ असार १८ गते पत्र लेखेका थिए ।
त्यसको जवाफ दिँदै प्रधानमन्त्री चन्द्रशमशेरले ‘आफ्ना रैतीलाई असुबिस्ता गराउनेलाई कानुनअनुसार दण्ड–सजाय गर्नू’ भनेर राजकीय पत्र लेखेका थिए । नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा गत साता सार्वजनिक गरेपछि नेपाल सरकारले लिम्पियाधुरासम्मको भूभाग भोगाधिकारका निम्ति औपचारिक प्रमाण जुटाउने क्रममा राजकीय पत्र फेला परेको हो । पत्रमा उल्लेख गरिएका यी गाउँमध्ये बुदीको केही भाग, गर्ब्याङ र गुन्जीलाई केही वर्षयता भारतले दाबी गर्दै आएको छ । छाङरु र तिंकर भने दार्चुलामै पर्छन् ।
त्यति बेला मुखियाहरू गब्र्याङका गोबरसिंह बुढा, गुन्जीका ञेरा बुढा, तिंकरका नैनसिं बुढा, बुदीका पनिया बुढा र छाङरुका धनीराम बुढाले चन्द्रशमशेरलाई पत्र लेखेका थिए । ‘५ गाउँका तालुकदारहरूका नाउँमा सनद गरी बक्स्याको जग्गाहरूमा कसैले कसैका सन्धिसर्पन थुनी जग्गा रोकिदिने गर्दा निर्धा–गरिबहरूले जग्गा तिराउन/कमाउन नपाउने भई सरकारको पनि ठेक्का/तिरो नबढाएको हुनाले’ प्रधानमन्त्रीमा जानकारी गराइएको बारे पत्रमा सन्दर्भ उल्लेख गरिएको छ । उक्त जग्गाको फुकुवा गर्न र गरिब जनतालाई न्याय दिन दार्चुला अमिन कार्यालयमा लैजान सकिनेसमेत जनाइएको छ ।
प्रतिक्रिया