काठमाडौं । अमेरिकाले एचआईभी संक्रमितहरुले प्रयोग गर्दै आएको एन्टी-रेट्रोभाइरल (एआरभी) औषधी नेपाललाई हस्तान्तरण गरेको छ । कोरोना भाइरसको महामारीले गर्दा लकडाउन सुरु भएपछि नेपालमा एआरभी औषधीको अभाव हुने जोखिम बढेको थियो । नेपालमा रहेका एचआईभी संक्रमितहरुसँग औषधीको एक-दुई मात्रा मात्र बाँकी रहेपछि अमेरिकी सरकारले आपत्कालिन रुपमा एआरभीको पहिलो खेप बुधबार हस्तान्तरण गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । नेपालमा मार्चदेखि नै एआरभी औषधीको अभाव रहँदै आएको थियो ।
‘यी औषधीले नेपालमा रहेका १८,६२८ जना एचआइभी सङ्क्रमित व्यक्ति (पिएलएचआइभी) को कोभिड(१९ सङ्कटका माझ पनि हेरचाहको निरन्तरता सुनिश्चिइत गर्नेछन् । औषधीको यो खेप आउनु अघि नेपालमा एआरभी सकिन केही दिन मात्र बाँकी थियो भने केही बिरामीसँग औषधीको एक–दुई मात्रा मात्र बाँकी रहेको थियो’, दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा रहेका एचआइभी सङ्क्रमितका लागि औषधीको निर्बाध आपूर्ति सुनिशिचत गर्न यी जीवनरक्षक औषधीको खरिद तथा आयातमा भारत र नेपाल दुवैका आपूर्तिकर्ता, ढुवानीकर्ता, र अधिकारीहरूसँग सहकार्य गर्न पाएकोमा अमेरिकी सरकारले खुसी मानेको जनाइएको छ । तीन लाख डलरभन्दा बढी मूल्यका यी एआरभी औषधी खरिद गर्न एड्सबाट राहतका लागि अमेरिकी राष्ट्रैपतीय आपत्कालीन योजना (पेपफार) मार्फत युएसएआइडी र द ग्लोबल फन्डले साझेदारी गरेका हुन् ।
विश्वव्यापी स्वास्थ्यका लागि द्विपक्षीय सहायतामा अमेरिका दशकौँदेखि विश्वकै सर्वाधिक ठुलो प्रदायक रहिआएको छ । विगत २० वर्षमा नेपाललाई प्रदान गरिएको करिब ६० करोड ३० लाख डलरको स्वास्थ्य सहायता सहित, सन् २००९ देखि अमेरिकी करदाताले विश्वव्यापी रूपमा १०० अर्व डलर भन्दा बढीको स्वास्थ्य सहायता र करिब ७० अर्वको मानवीय सहायता उदारतापूर्वक प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया