नयाँदिल्ली । गत २४ घन्टामा भारतमा थप तीन हजार ९६७ जना कोरोनाभाइरस संक्रमित भएपछि भाइरस (कोभिड–१९)को संक्रमितको संख्या शुक्रबारसम्म ८१ हजार ९७० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा बिहीबार एकै दिनमा १०० को मृत्यु भएको र यसपछि प्रकोपबाट मृत्यु हुनेहरुको संख्या दुई हजार ६४९ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या २७ हजार ९१९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।
भारतमा शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार हाल यो रोगका ५१ हजार ४०१ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् । कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र २७ हजार ५२४ नागरिक कोरोनाभाइरस संक्रमित रहेका छन् ।
महाराष्ट्रमा छ हजार ५९ व्यक्ति निको भएर फर्किएका छन् । महाराष्ट्रमा कोरोनाभाइरसको संक्रमणबाछ एक हजार १९ जनाको मृत्यु भएको छ । महाराष्ट्रपछि तमिलनाडू दोस्रो स्थानमा रहेको छ । त्यहाँ नौ हजार ६७४ जनामा कोरोनाभाइरसको संक्रमण रहेको छ भने दुई हजार २४० जना भने निको भएका छन् ।
तमिलनाडूमा ६६ जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ । गुजरातमा नौ हजार ५९१ संक्रमति रहेका छन् भएका भने तीन हजार ७५३ निको भएका छन् । गुजरातमा कोरोनाभाइरसको संक्रमणबाट ५८६ जनाको मृत्यु भएको छ ।
दिल्लीमा कोरोनाभाइरस संक्रमितको संख्या आठ हजार ४७० पुगेको छ । दिल्लीमा तीन हजार ४५ जना निको भएको छ । दिल्लीमा यस संक्रमणबाट ११५ जनाको मृत्यु भएको छ । संक्रमण फैलिनेक्रम नरोकिएपछि भारत सरकारले देशव्यापी ‘लकडाउन’लाई थप दुइ साताको लागि लम्बाएको थियो ।
भारतले गत मे ४ देखि लागू हुनेगरी थप दुई साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा सुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिँदै थियो ।
कोरोनाभाइरसको संक्रमण देशभरि बढ्दै गएपछि दोस्रो लकडाउन नसकिँदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले थप योजनासहित चौथो चरणको लकडाउन गर्ने बताएका छन् ।
प्रतिक्रिया