एउटा निश्चित भूगोल र केही मानिस हुँदैमा राज्य नबन्दो रहेछ । यसका केही आधारभूत र अनिवार्य पक्ष हुँदा रहेछन् । खासगरी जुन राज्य जसले निर्माण गरेको हो, उसैका लागि समर्पित छैन भने या त त्यो राज्यका जनताले राज्य निर्माणको कारण बिर्सेका ठान्नुपर्छ या त राज्य सञ्चालनमा गलत मान्छेहरू हाबी भए भन्ने बुझ्नुपर्छ । संसारमा यस्ता तथाकथित राज्यहरूको संख्या प्रशस्तै छ । ल्याटिन अमेरिका, अफ्रिका र एसियामा यस्ता राज्यहरू धेरै छन् । स्वतन्त्र, सार्वभौम र स्वाधीन भनिएका यस्ता राज्यमा नागरिक भनिएका मानिसहरू पनि बस्तछन्, सेना, प्रहरी, निजामती, व्यापार वाणिज्य सबै थोक छ । पाठशाला, विश्वविद्यालय, अदालत, सरकार कुनै कुराको कमी छैन । तथापि न त त्यहाँको समाजमा अमनचैन छ, न त शान्ति । नागरिकहरू जबसम्म राज्यबाट हरेक कुरामा आश्वस्त हुँदैनन् अर्थात् राज्यको प्रतिनिधि संस्थाको रूपमा रहेको सरकारी काम कारबाहीप्रति विश्वस्त रहँदैनन्, तबसम्म त्यसलाई राज्यको दर्जा दिन मिल्दैन । आवधिक रूपमा सम्पन्न हुने निर्वाचन, त्यसले बनाउने सरकार र प्रतिपक्ष मात्र राज्यका चिनारी हुन सक्दैनन् । संसदका अधिवेशनहरू, अदालतका फैसलाहरू, सेनाको तालिम या लोकसेवाको परीक्षा मात्र पनि राज्यका पहिचान होइनन् । निर्वाचनमा उम्मेदवारहरूको प्रतिस्पर्धा, विभिन्न तहका सरकार र रंगीविरंगी नेताहरूको चहलपहलले पनि राज्य भएको प्रमाण दिँदैन । बेलाबेलामा देखिने नारा जुलुस, धरपकड, जेलजीवन बिताइरहेका बन्दीहरू टेलिभिजन, रेडियो, अनगगिन्ती सांस्कृतिक कार्यक्रमहरूले पनि राज्यको अस्तित्वको पुस्टि गर्दैनन् । यी त जहाँसुकै छन्, संसारभरि छन् । तर राज्य कहाँ छ त भन्ने कुरा प्रमाणित गर्न या हुन अरू केही आधारभूत तत्व चाहिन्छ । यी तत्वको अभावमा कुनै भूगोल देश हुन सक्छ, मुलुक बन्न सक्छ या अधिराज्य कहलिन सक्छ या कसैले त्यसलाई वतन पनि भन्न सक्छ । र त्यहाँका जनतालाई गुमराहमा राख्न पनि सक्छ । यस्तो अवस्था धेरै समय चल्न सक्छ र सीमित तत्वले धेरै ठूलो शोषण गर्न पनि सक्छ । यस्तो नियति संसारले भोग्दै आएको छ, हेर्दै र देख्दै आएको पनि छ । यस्ता तथाकथित राज्यहरूले आज जनतामाथि अकल्पनीय ज्यादति गर्दै आएका छन् र मानव सभ्यताको अस्मिता लुट्दै आएका छन् । यसका अनेकौं दृष्टान्तहरू छन् । तर आज यी दृष्टान्तहरूमा प्रवेश नगरी हाम्रो आफ्नै देशको परिस्थितिका बारेमा केही चर्चा गर्नु वाञ्छनीय र युक्तिसंगत हुनेछ र यो अहिलेको समसामयिक विषयवस्तुमा केन्द्रित हुँदा अझ वस्तुनिष्ठ र सही पनि हुनेछ ।
हामी यति बेला विश्वव्यापी रूपमा फैलिएको कोरोनाको तीव्र प्रकोप झेलिरहेका छौं । यसबाट उत्पन्न बहुआयामिक प्रभावका परिणामहरू देखिन थालेका छन् । यस व्याधिले इतिहासमै प्रथम पटक समाजको सबै अंगलाई एकैचोटी आफ्नो प्रभावमा लिएको छ । कारखाना बन्द छन्, विद्यालय, महाविद्यालय खुल्ने ठेगान छैन, मजदुरको रोजगारी बन्द छ, सरकारी अड्डा, वित्तीय संस्था, राजनीतिक दलका गतिविधि, चलचित्रको सुटिङ, व्यापारिक केन्द्रहरू, मिडियालगायतका क्षेत्रहरू बन्द र प्रभावित अवस्थामा छन् । हवाई यातायात, सडक यातायातलगायतका आवत्जावत स्थगित छ । घरघरमा तनाव बढ्न थालेको छ । दैनिक ज्यालादारी गरेर खानेहरू मात्र होइन, घरबार भएका बेरोजगार व्यक्तिहरूसमेत संकटमा परेका छन् । कतिपय आफ्नै घरभएका व्यक्तिहरू बैंकले ब्याज मिनाहा नगर्ने तर घरबहाल मिनाहा गर्नुपर्ने दबाबमा छन् । यसले उनीहरूको दैनिकीलाई नराम्ररी प्रभावित पारेको छ । रोग लागेर उपचार गर्नुपर्ने व्यक्तिहरू घरमै थन्किएका छन् । व्यापार व्यवसायबाट गुजारा गरिरहेका व्यक्तिहरूको चुल्हो निभ्ने खतरा बढिरहेको छ । किसानहरू मल बिउको समस्यामा पर्ने जोखिम बढेर गएको छ । कतिपय कृषि उपजहरू खेर गइरहेका छन् । नेपालमै उत्पादन भएका तरकारीहरूले उपयुक्त बजार पाउने वातावरण छैन । कृषि उत्पादनमा असहजता पैदा भएको छ । स–साना बालबालिकाहरूको पढाइ रोकिएकोले उनीहरूको मानसिकतामा नकारात्मक प्रभाव परिरहेको छ । ११ र १२ कक्षाका विद्यार्थीहरूको परिक्षा कहिले हुने हो ठेगान छैन । एसईई दिने तयारीमा बसेका विद्यार्थीहरूको बिजोग भएको छ । उच्च शिक्षा सकेर रोजगारी या उद्यम गर्ने योजनामा रहेका युवाहरूमा चरम निराशा बढ्न थालेको छ । बैदेशिक रोजगारीमा रहेका व्यक्तिहरू आफ्नो स्वदेश फर्कनुपर्ने बाध्यतामा पर्न लागेका छन् । देशकै अर्थतन्त्रमा ठूलो योगदान रहेको विप्रेषणको कमीले राष्ट्रिय अर्थतन्त्रको ढाड भाँच्चिने खतरा बढिरहेको छ । अर्थमन्त्री कर बढ्ने घोषणा गर्दैछन् तर जनताले कर तिर्ने कसरी ? त्यसको स्रोत के ? यी सबै केही प्रतिनिधिमूलक दृष्टान्तहरू हुन् । यसको आयतन अझै बढ्दै जाने खतरा छ ।
साँच्चै भन्ने हो कारोना महामारी मानव सभ्यतामा उत्पन्न भएको उच्च त्रासदीमध्येको हो । यसको अनुमान कसैले पनि गरेको थिएन । तर जब संसारमा यसले आफ्नो अस्तित्व देखाउन सुरु ग¥यो, हामीले समयमै होस् पुर्याउन किन सकेनौं भन्ने प्रश्न अहिलेको मूल प्रश्न हो । यस्तो त्रासदीका बीच पनि अहिले यही प्रश्नको उत्तर खोजिँदैछ । को जिम्मेवार छ, यसमा ? राज्यको प्रतिनिधि संस्था सरकार या आमनागरिक ? राजनीतिक दलहरू या नागरिक समाजका अगुवाहरू ?
बहुदलीय शासन प्रणालीमा बहुमत प्राप्त राजनीतिक दलले सरकार चलाउने र अल्पमतले प्रतिपक्षको भूमिका निर्वाह गर्ने हो । नेपालको अर्थात् हाम्रो सन्दर्भमा यति राम्रो बहुमत प्राप्त सरकार राष्ट्रका लागि अवसर हो । यो अवसर हम्मेशी आउँदैन । सरकारमा पुगेको दलसँग राष्ट्र चलाउने मार्गचित्र हुन्छ । नेकपासँग निर्वाचनका दौरानमा जनसमक्ष प्रस्तुत घोषणापत्र थियो र यही घोषणापत्र नै देश चलाउने मार्गचित्र हो । जनताले त्यही कागजको खोस्टोलाई विश्वास गरेर मत दिएका थिए । किनभने अहिले दुई तिहाइभन्दा बढी जनता साक्षर छन् र लेखेको पढ्न जान्दछन् । निर्वाचनका बेला अहिलेका प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मच्चिमच्ची भाषण गरेको सुनेर, देखेर र थोरै विश्वास पनि गरेर आफ्नो अभिमत दिएका थिए । कम्तीमा दुई वटा कम्युनिस्ट पार्टी गठबन्धन गरेर निर्वाचमा जाँदैछन् । हेरौ न त एकपटक राजनीतिक स्थिरता आइहाल्ला कि र विकास पनि भइहाल्लाकि भन्ने जनताको आशा थियो ।
उनीहरूलाई पार्टीले अंगीकार गरेको सिद्धान्तभन्दा तत्काल केही भइहाल्ला कि भन्ने अपेक्षा थियो । उनीहरूले कम्युनिस्ट पार्टीले विश्वभरि मच्चाएको हत्या र आतंकको शृंखलालाई हेरेका भए पक्कै पनि मत हाल्ने थिएनन् । तर उनीहरूले त्यता दृष्टिपात गरेर आफ्नो मत प्रयोग गरेनन् । त्यसैले एक प्रकारले त्यो जनताको नादानीपूर्ण निर्दोषिता थियो र राष्ट्र अगाडि बढोस् भन्ने शुभेच्छा पनि । तर वर्तमान सत्तारूढ दल नेकपाले जनताको यो सदासयतालाई बुझ्न या ठम्याउन सकेन वा चाहेन । किनभने विश्वव्यापी प्रयोगबाट सिद्ध भएको कम्युनिस्ट सत्य नै सत्तालाई आफ्नो हितमा प्रयोग गर्नु, त्यो पनि भरपुर दुरुप्रयोग गर्नु उनीहरूकोे आधारभूत चरित्र हो । ओली–दाहालको गठबन्धन अन्ततः नेकपा बन्यो र यही नेकपाले सत्ता प्राप्तिलाई आफ्नो स्वार्थ पूरा गर्ने ऐतिहासिक अवसर ठान्यो । नेकपाको वास्तविक अभिष्ट जनताको आकांक्षालाई सम्बोधन गर्ने छँदै थिएन । संसारमा कतै पनि कुनै पनि कम्युनिस्ट पार्टीले जनताको हितमा काम गर्दै गर्दैनन् । कम्युनिस्ट सिद्धान्त भनेको पढ्दा रोमाञ्चित भइने एक प्रकारको रोमाञ्चकारी साहित्य मात्र हो । क्षितिजपारिको मुक्तिको गाउँ कहिल्यै पुगिँदैन । उनीहरू सधैंभरि त्यही देउराली मात्र देखाउँछन्, जहाँबाट तथाकथित मुक्तिको गाउँ औल्याउन सकियोस् । त्यो देखाइएको गाउँ कहिल्यै पुगिँदैन किनभने त्यो एउटा काल्पनिक मिथक वा साहित्यको स्वरै कल्पना मात्र हो । आज हाम्रो देश त्यही नियति भोगिरहेको छ र नेपाल कम्युनिस्ट पार्टी आफ्नो लुटको स्वर्गमा राज गरिरहेको छ । यसको अन्त्य नगरी राष्ट्र र जनताले त्राण पाउने कुनै सम्भावना छैन । सरकारको गठनसँगै राज्य सञ्चालनमा चुक्दै गएको नेकपा कोरोना महामारी यता अझ नराम्ररी चुकेको छ । यसको लेखाजोखा नेपालको इतिहासले गर्नेछ र नयाँ पुस्ताले हिसाब किताब असुल्ने नै छ ।
अर्कातिर छिमेकी राष्ट्र भारतले नेपालको कालापानी क्षेत्र लिपुलेक हुँदै चीन प्रवेश गरी मानसरोवर जाने ७८ किलोमिटर सडकको उद्घाटन गरेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले प्रफुल्ल मुद्रामा यसको शुभारम्भ गरे । नेपाली भूमिको छातीबाट उसले आफ्नो सडक बनाएको सगर्व घोषणा र सुरुआत गरिरहँदा नेपालको सरकार भने चीर निद्रामा मग्न छ । निर्वाचनका बेला राष्ट्रवादको हावाहुन्डरी चलाएर जनतालाई अलमलमा पारी बहुमत ल्याएको नेकपा पार्टीका अरू क्रान्तिकारी, राष्ट्रवादी नेताहरूसमेत अस्वाभाविक रूपमा मौनता साधिरहेका छन् किनभने यतिखेर उनीहरूको मानसपटलमा सत्तारूपी अपूर्व सुन्दरी मात्र नाचिरहेकी छ जसको उपभोगद्वारा आफ्नो मनोगत लालसा पूरा गर्ने उद्देश्य नै उनीहरूको जीवनको महत्वपूर्ण गन्तव्य हो । जनता त फगत उनीहरूको स्वार्थ पूरा गर्न सघाउने त्यस्ता भर्याङ्ग हुन् जसलाई सत्ता कब्जा गर्न नसके फेरि प्रयोग गर्न सकिन्छ । नत्र देशको सीमाभित्र विदेशीले बीस वर्षदेखि बाटो बनाउँछ, उद्घाटन गर्छ र सगर्व आफ्नो घोषणा विश्वलाई सुनाउँछ, मिचिएको र थिचिएको राष्ट्रको सरकार लम्पसार परेर सुतिरहन्छ, न चटपटाउँछ, न बोल्छ । यस्तो घृणास्पद र टिठलाग्दो दृश्य यसअघि नेपाली जनताले कहिल्यै हेर्नु परेको थिएन ।
केही महिना अघि भारतले सार्वजनिक गरेको नक्सामा नेपालको भूमि आफ्नो सीमाभित्र पार्दा नेपालीहरूले खास गरेर नेपाली युवाहरूले व्यक्त गरेको गम्भीर चिन्ता या चासो अहिले पनि यो पंक्तिकारको मानसपटलमा ताजै छ । हामी जनताले गर्न सक्ने त्यति मात्रै हो । आफ्नो सरोकार व्यक्त गर्ने र सरकारलाई उसको जिम्मेवारी सम्झाइदिने काम जनताले गर्ने हो । यो काम जनताले बारम्बार गर्दै आएका छन् । तर दुर्भाग्यको कुरा, सरकार जनताका कुरा पटक्कै सुन्दैन या सुनेको नसुनेझै गर्छ । त्यसैले भन्नैपर्छ, हामी नेपाली आफ्ना कारणले कहिल्यै हारेका छैनौं, बरु हामी आफैंले खडा गरेको तथाकथित सत्ताका कारणले पराजित भएका छौं । जीवन्त मानेर खडा गरेको सत्ता अन्ततः वुख्याचामा परिणत हुन्छ, त्यसको लगाम विदेशीले समाउँछ र उसले आफूले चाहेअनुसार नचाउँछ, परिणाम जे चाहन्थ्यो त्यसैअनुरूप ल्याउँछ । त्यसैले कहिलेकाहीँ के लाग्छ भने नेपालको चुनावी परिणाम विदेशीले चाहेअनुसार नै आउँदो रहेछ, जसबाट कुनै पनि जनताले चाहेअनुसार र देशको आवश्यकता अनुरूपको गतिलो कार्य सम्पादन हुन सक्दैन । वर्तमान सरकारबाट फेरि पनि एकपटक नेपाली जनताको हुर्मत लिने काम भएको छ । राष्ट्र लुटिएको छ, जनता हतप्रभ भएका छन् । त्यसैले भन्नु पर्दछ, निश्चित भूगोल छ, जनसंख्या छ, अरु औपचारिकता छन् तर राज्य छैन । यस्तो नियति भोग्न हामी जनता अभिशप्त छौं ।
२०७७ वैशाख २८ गते प्रकाशित देशान्तर साप्ताहिकबाट
प्रतिक्रिया