रूसमा पछिल्लो २४ घण्टामा १० हजार व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको शुक्रबार जनाएको छ । रूसमा शुक्रबारसम्म संक्रमितको संख्या एक लाख ८७ हजार ८५९ नाघेको छ । रुसी कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रका अनुसार विगत छ दिनदेखि रूसमा संक्रमितको संख्या निरन्तर १० हजारको हाराहारीमा रहेको बताइएको छ ।
सबैभन्दा बढी प्रभावित क्षेत्र मस्कोमा गत २४ घण्टामा थप पाँच हजार ८४६ जना संक्रमित भएका छन् । यससँगै मस्कोमा ९८ हजार ५२२ जना संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या भने एक हजार ७२३ पुगेको छ । पछिल्लो २४ घण्टामा ९८ जनाको मृत्यु भएको छ । त्यहाँ शुक्रबारसम्म ५० लाख व्यक्तिको कोरोनाभाइरस संक्रमण परीक्षण गरिएको छ ।
भाइरस फैलिनबाट रोक्न नागरिकहरूलाई अत्यावश्यकबाहेक घरबाट बाहिर नजान निर्देशन दिइएको छ । यो आदेश मे ३१ सम्मका लागि बढाइएको मस्कोका नगरप्रमुख सेर्गेई सोवियानिनले बताएका छन् । सोमबारदेखि मास्क र पञ्जा लगाएर व्यवसायिक सुविधा लिनदिन र शहरभित्र सार्वजनिक यातायात सञ्चालन गर्न सकिने बताएको छ भने मंगलबारदेखि रूसी राजधानी मस्कोमा औद्योगिक तथा निर्माण क्षेत्रलाई फेरि सञ्चालनका लागि अनुमति दिइएको छ ।
प्रतिक्रिया