काठमाडौं । शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेसनअघि प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना भाइरस परीक्षण सुरु गरिएको छ ।
सांसदहरुको कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षण पीसीआर प्रविधिबाट हुने छ । त्यसका लागि बिहीबार बिहान १० बजेदेखि राष्ट्रिय सभा सांसदहरुको र ११ बजेदेखि प्रतिनिधिसभा सांसदहरुको स्वाब संकलन सुरु गरिएको हो ।
स्वाब संकलन संघीय संसद भवन परिसर बानेश्वरमा गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सबै सांसदहरुको महत्वपूर्ण काम भएको र हाउस सञ्चालन गर्नुपर्ने अवस्थामा सबै जिल्लाबाट आएका सांसदहरु हुने भएकाले स्वाब परीक्षण आवश्यक रहेको बताए ।
कार्यव्यवस्था परामर्श समितिले पनि संसद भवन छिर्नेहरु सबैको कोरोना भइरस परीक्षणसहित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो । आउँदो शुक्रबारदेखि संघीय संसद्को वर्षे (बजेट) अधिवेशन सुरु हुँदैछ ।
प्रतिक्रिया