देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना भाइरसबाट नाइजरका श्रममन्त्रीको निधन

देशान्तर

नियामे । कोरोना भाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको निधन भएको सरकारी टेलिभिजनले घोषणा गरेको छ।

सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी पिएसडीले राजधानी नियामेमा उपचारकै क्रममा ५५ वर्षीय बेन ओमारको आइतबार निधन भएको जनाएको छ। मन्त्री बेन ओमारको निधन भएको समाचार प्रशारण गर्नुअघि टेलिभिजनले मन्त्री बेन ओमारले कोरोना भाइरसका बारेमा व्यक्त गरेका सन्देशहरु प्रशारण गरेको थियो।

सन्देशमा मन्त्री ओमारले कोरोना भाइरस निकै खतरनाक र घातक रहेको तथा यो प्रकाशको गतिमा तिब्र रुपमा फैलिने स्वभावको रहेको बताएका थिए। नाइजरका राष्ट्रपति मोहमदु इसोफुले बेन ओमारको निधनबाट आफू अत्यन्त दुखित भएको बताएका छन्।

नाइजरमा हालसम्म ७५५ जनामा कोराना संक्रमण हुनुका साथै ३७ जनाको मृत्यु भएको छ। नाइजरमा हाल आपतकालीन स्थितिको घोषणा गर्नुका साथै यसका सीमा, धार्मिक स्थल तथा विद्यालयहरु सबै बन्द गरिएका छन्।