काठमाडौं । लकडाउनमा विरामीको घरमै पुगेर निशुल्क दन्त उपचार गर्दै आएको ओम समाज डेन्टल हस्पिटलले विहीबार देशान्तर मिडिया ग्रुपमा पुगि दन्त उपचार सेवा प्रदान गरेको छ । विहीबार अध्याधुनिक उपकरणजडित एम्बुलेन्सको प्रयोगबाट हस्पिटलका प्रमुक डा. सुभाष घिमिरेले अनामनगरस्थ्ति देशान्तर कार्यालयमा देशान्तर मिडिया ग्रुपका कार्यकारी अध्यक्ष कविर राणा तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेको दन्त उपचार गरे ।
चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलले लकडाउनका बेला घरघरमै पुगेर निशुल्क दन्त उपचार सेवा प्रदान गरिरहेको छ । दुई साता अघि सुरु गरिएको यो सेवाले गर्दा दन्त रोगका विरामीहरुलाई लकडाउनका कारण उपचार सेवाबाट बञ्चित हुनुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।
‘यस किसिमको सेवाले वास्तवमै चिकित्सा पेशाको गरिमालाई अझ अभिवृद्धी गरेको छ, यसको किसिमको पुण्यको काम गरेकोमा ओम समाज डेन्टल हस्पिटललाई धेरै धन्यवाद तथा शुभकामना व्यक्त गर्दछु’, उपचारपछि राणाले भने ।
कांग्रेस नेता घिमिरेले पनि ओम समाज डेन्टल हस्पिटलले प्रदान गरेको यस किसिमको सेवाले लकडाउनमा धेरैको उद्दानर भएको जनाउँदै संकटका बेला मानव कल्याणमा लाग्न अरुलाई पनि प्रेरणा मिलेको बताए ।
अस्पतालले उपचार सेवाका लागि दन्त रोगको सम्पूर्ण उपचार गर्न मिल्ने अत्याधुनिक उपकरण जडित एम्बुलेन्स प्रयोग गरेको छ । विरामीको फोन आउनासाथ चिकित्सकसहितको टोली एम्बुलेन्स लिएर विरामीको घरमै पुगेर उपचार गरिदिने व्यवस्था मिलाइएको छ । चिकित्सकहरु कोरोना भाइरसको जोखिम नहोस भनेर पिपिई लगायतका आवश्यक सम्पूर्ण सुरक्षात्मक बन्दोबस्तीका साथ विरामीको सेवामा लागेको अस्पतालका प्रशासन प्रमुख अजय रेग्मीले जानकारी दिए ।
लकडाउनको समयमा दाँतमा समस्या हुँदा त्यसको पीडा सहेर बस्न नपरोस भन्दै एम्बुलेन्सको सहायताले आइतबार देखि दन्त उपचार सेवा घरघरमा गएर निःशुल्क सेवाको सुरुवात गरेको रेग्मीले बताए । रेग्मीका अनुसार तीन दिनको अवधिमा करिब एक सय जना दन्त रोगका विरामीहरुको उपचार अस्पतालले गरिसकेको छ ।
रेग्मीले सामाजिक कार्यका लागि यो एउटा सानो प्रयास भएको भन्दै कोहि पनि दाँतको उपचारबाट बञ्चित हुन नपरोस्, कसैले पनि दुःख नपाउन्, अशक्त, ज्येष्ठ नागरिक वा अन्य कुनै रोगले हिँडडुल गर्न नसक्नेहरुलाई दाँत मुखको समस्याले अफ्ठ्यारो पारेको बेला घरमै गएर निःशुल्क आपतकालिन सेवाको व्यवस्था गरिएको बताए ।
यस अभियानबाट लाभ लिन दाँत र मुखको समस्याबाट पीडितले आफ्नो टेलिफोन नम्बर र आफू रहेको स्थानबारे अस्पताललाई जानकारी गराउनुपर्नेछ । हाललाई यो सेवा विहान ११ देखि दिउसो २ बजेसम्म संचालन हुने व्यवस्था मिलाइएको छ ।
अत्याधुनिक उपकरण जडित एम्बुलेन्समा चिकित्सकसँगै आवश्यक औषधीहरु पनि राखिएको र चिकित्सकहरु पिपिई, मास्क, ग्लोब लगाएर विरामीको उपचारमा संलग्न हुने गरेका छन् । विरामीको फोन आउनासाथ लोकेसन बुझेर एम्बुलेन्स सहित चिकित्सकहरु सम्बन्धीत विरामीको घरमै पुग्ने गरेको रेग्मीले जानकारी दिए । उपचार सेवा चाहने विरामीले ९८५१२१९३४२ र ९८५१२२९३४२ मा सम्पर्क गर्न सक्ने हस्पिटलले जनाएको छ ।
प्रतिक्रिया