तोकेको समयमा आयोजना नसक्ने ठेकेदार र ठेकेदारकै पक्षपोषण गर्ने कर्मचारीलाई कारबाही गर्नुको सट्टा सरकारले उल्टै पुरस्कृत हुने गरी सार्वजनिक खरिद नियमावाली संशोधन गरेको छ । एक वर्षमै पाँचौँपटक नियमावली संशोधन गर्दै सरकारले १५ वैशाख ०७७ सम्म काम सम्पन्न गर्न समयावधि तोकिएका, तर नसकिएका सबै आयोजनाको म्याद थपको व्यवस्था गरेको हो । निर्णय १५ वैशाखमा राजपत्रमा प्रकाशित भएको छ ।
‘यो संशोधन प्रारम्भ हुनुअघि म्याद समाप्त भई कुनै कारणवश सो अवधिभित्र म्याद थपका लागि निवेदन दिन नसकेको सम्बन्धित निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवाप्रदायक वा परामर्शदाताले यो उपनियम प्रारम्भ भएको मितिले २१ दिनभित्र म्याद थपका लागि निवेदन दिन सक्नेछ,’ संशोधनमा उल्लेख छ । अर्थात् समयमा काम सम्पन्न गर्न नसक्ने आयोजनाले ४ जेठसम्म म्याद थपको निवेदन दिन सक्नेछन् । समग्रमा सार्वजनिक खरिद नियमावली, २०६४ को यो संशोधान दशौँ हो ।
खरिद नियमावलीको आठाैं संशोधनले २३ जेठ ०७६ सम्म निर्माण अवधि तोकिएको, तर सम्पन्न हुन नसकेका रुग्ण आयोजनालाई म्याद थप्ने व्यवस्था गरेको थियो । तर, दशौँ संशोधनले त्यसलाई पनि भत्काएर १५ वैशाख ०७७ सम्म सम्पन्न नभएका आयोजनालाई म्याद थप गरिदिने व्यवस्था गरेको हो । म्याद थपका लागि निवेदन दिन तोकिएको समयावधि समाप्त भएको ६० दिन अर्थात् साउन पहिलो साताभित्र म्याद थप गर्ने वा नगर्नेबारे निर्णय गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
यसअघिकै व्यवस्थाअनुसार निवेदन दिएर पनि सार्वजनिक निकायबाट निर्णय हुन बाँकी आयोजनाका हकमा भने ३० दिनको मात्रै समय दिइएको छ । नियमावली संशोधनअघि नै म्याद थपका लागि निवेदन दिएका दर्जनौँ निवेदनबारे कुनै निर्णय भएको थिएन । दशौँ संशोधनले अब एकपटक म्याद थप भएपछि भने पुनः थप्न नसकिने व्यवस्था गरेको छ ।
अहिले संशोधन गर्नुुमा सरकारी कर्मचारीको कमजोरी लुकाउने तथा समयमा म्याद थपका लागि निवेदन नदिने निर्माण व्यवसायीलाई पुरस्कृत गर्ने उद्देश्य देखिन्छ । नवौँ संशोधनमा भएको व्यवस्थाअनुसार अधिकांश निर्माण व्यवसायीले सार्वजनिक कार्यालयमा म्याद थपको निवेदन दिएका थिए । तर, ६० दिनमा निवेदनउपर निर्णय गर्नुपर्ने भए पनि केही सार्वजनिक निकायका हाकिमहरूले पहल गरेनन् । कतिपय निकायमा कार्यालय प्रमुख नभएको वा भर्खर आएको अथवा अन्य कारणले म्याद थपको निर्णय हुन नसकेको बहाना उनीहरूले बनाएका छन् । म्याद सकिएपछि निवेदनउपर के कारबाही गर्ने भन्ने प्रश्न उठेपछि अहिलेको संशोधन ल्याइएको देखिन्छ ।
त्यस्तै, म्याद थपका लागि निवेदन नदिएका निर्माण व्यवसायीले अवधि सकिएपछि एकपटक पुनः व्यवस्था गरिदिन सार्वजनिक निकाय, मन्त्री र कर्मचारीलाई दबाब दिएका थिए । त्यसैले पनि अहिले म्याद थप गर्ने व्यवस्था भएको हो । तर, यति छिटो–छिटो संशोधन गर्दा नीतिगत अस्थिरता भई विकास निर्माणका काममा अझ प्रभाव पर्ने विज्ञहरूको बुझाइ छ । यसबाट काम गर्नेको पनि कानुनी अनिश्चितता भई मनोबल घट्ने पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव पूर्ण कडरियाले बताए ।
नेपाल निर्माण व्यवसायी महासंघले अहिको संशोधन आफ्नो माग नभएको बताएको छ । ‘दशौँ संशोधन हामीसँग छलफल गरेर वा हामीले माग राखेर आएको होइन,’ महासंघका अध्यक्ष रवि सिंहले भने, ‘तर, कोही छुटेको भए पुनः म्याद थपका लागि निवेदन दिने व्यवस्था गरिएको रहेछ । त्यो हामीलाई सकारात्मक लागेको छ ।’
सार्वजनिक खरिद अनुगमन कार्यालयका कानुन शाखा प्रमुख राजेशकुमार थापाले आयोजनाको म्याद थपसम्बन्धी व्यवस्था गर्न नियमावली संशोधन गर्नुपर्ने निर्देशन आएकाले सोहीअनुसार गरिएको बताए । ‘माथिबाट संशोधन गर्ने भनियो, त्यसैअनुसार मस्यौदा गरियो, तर कुन प्रयोजनका लागि संशोधन गरियो भन्ने थाहा भएन,’ उनले भने ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पहिला म्याद थपका लागि छुटेका र प्रदेशमा पठाइएका आयोजनाको संशोधन गरिएको हुन सक्ने बताए । सडक विभागमा भने त्यस प्रकारको कुनै समस्या नभएको उनले बताए । ‘नियमावलीमै म्याद थप गर्ने, म्याद थपका लागि निवेदन दिने र समयावधि तोक्ने विषय गलत हो,’ उनले भने । नियमावलीमा यस्तो व्यवस्था राखिएकै कारण निरन्तर नियमावली संशोधन गरिरहनुपरेको उनको भनाइ छ ।
प्रतिक्रिया