देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदीय दलमा बहुमत जुटाउने प्रयासमा प्रधानमन्त्री ओली

देशान्तर

राजीनामाका लागि पार्टीभित्र दबाब बढ्दै गएपछि प्रधानमन्त्री केपी ओली संसदीय दलमा बहुमत पुर्‍याउने प्रयासमा जुटेका छन् । उनले पूर्वएमाले मात्र होइन, पूर्वमाओवादीका सांसदलाई सामूहिक र व्यक्तिगत रूपमा भेट गरिरहेका छन् ।

पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा समेत अल्पमतमा रहेका ओली संसदीय दलमा भने टक्कर लिने मनस्थितिमा छन् । प्रधानमन्त्री पदको निर्णय पनि संसदीय दलले गर्ने संवैधानिक व्यवस्था छ । संसदीय दलमै बहुमत पुर्‍याएर प्रचण्ड–नेपाल समूहको प्रयास बिफल बनाउन सकिनेमा ओली समूह आशावादी पनि छ ।

‘संसदीय दलमा बहुमत पुग्छ भन्नेमा उहाँहरू ढुक्क देखिनुहुन्छ, जस्तोसुकै परिस्थितिको पनि सामाना गर्न तयार हुन सांसदहरूलाई निर्देशन पनि दिनुभएको छ,’ मंगलबार बालुवाटार भेलामा सहभागी एक सांसदले नयाँ  भने ।

नेकपामा एक सय ७४ सांसद छन् । संसदीय दलमा बहुमतका लागि ८८ सांसद आवश्यक पर्छ । नेकपा संसदीय दलमा पूर्वएमालेको एक सय २१ तथा पूर्वमाओवादी समूहका ५३ सांसद छन् । वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमसहित नेपाल समूहमा ४३ सांसद भएको सो समूहको हिसाब छ । यसरी आफ्नो पक्षमा ९६ जना भएको र ओली समूहबाट पनि केही मान्छे जोडिँदा एक सय नाघ्ने हिसाब प्रचण्ड–नेपाल समूहको छ । उता, अहिलेसम्म ओली एक्लैसँग ७८ सांसद रहेको उनीनिकट नेताहरूको दाबी छ । बहुमतका लागि ८८ जना सांसद आवश्यक हुने भएकाले थप १० सांसद जोड्न सो समूह सक्रिय छ ।

त्यति मात्र होइन, नेपाल समूहको मुख्य स्तम्भ मानिएका घनश्याम भुसाल र योगेश भट्टराई अहिले निष्क्रिय छन् । उनीहरू पनि तटस्थ रहने ओली समूहको विश्वास छ । नेपाल समूह मात्र होइन, पूर्वमाओवादी समूहलाई आकर्षित गर्ने ओलीको प्रयास निरर्थक भएको छैन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग–वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ओलीलाई समर्थन गर्ने संकेत गरेका छन् ।

उद्योगमन्त्री भट्टले भने अहिले सरकारको नेतृत्व खोज्दा जनमतको अपमान हुने टिप्पणी गर्दै आएका छन् । उनी ओली समूहले सोमबार बालुवाटारमा बोलाएको भेलामा पनि सहभागी थिए ।

स्थायी समिति सदस्य टोपबहादुर रायमाझीलाई मनाउन प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललाई जिम्मा दिएका छन् । रायमाझीले भने आफू पार्टी एकताको पक्षमा रहेको भन्दै संस्थागत विधि र प्रक्रियाभन्दा बाहिर गएर समस्या समाधान खोजिए आफ्नो साथ नरहने बताए ।

‘पार्टी र सरकारमा देखिएका समस्या र अन्तरविरोध पार्टी एकतालाई केन्द्रविन्दुमा राखेर विधिसम्मत, संस्थागत र सामूहिक रूपमा हल गर्नुपर्छ, त्यसभन्दा बाहिर गएर जुनसुकै तरिकाबाट गरिने हर्कत लाभदायी हुँदैन,’ रायमाझीले नयाँ पत्रिकासँग भने ।

गृहमन्त्रीका प्रमुख स्वकीय सचिव तथा नेकपा केन्द्रीय सदस्य सूर्य सुवेदी ‘पथिक’ले सामाजिक सञ्जाल ट्विटरमार्फत भनेका छन्, ‘माहामारीविरुद्ध विश्वव्यापी जुधिरहेको मानव समुदाय अहिले अस्वस्थ, अमर्यादित बचकाना बेमौसमी हर्कतका विरुद्ध छन् । पहिला महामारीसँग लडेर बचाऊ, तत्पश्चात् अरू गरौँला भनिरहेको अवस्थामा त्यसको ठीक उल्टो धारमा हिँड्ने पार्टी, सरकार र व्यक्तिलाई समयक्रममा निक्कै ठूलो सजाय दिने निश्चित छ ।’ नयाँ पत्रिकामा खबर छ।