देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा. लीको मृत्यु कि हत्याको विवाद हेग पुग्यो भने के होला ?

देशान्तर

चीनका प्रख्यात चिकित्सक डा.ली वेनलियाङको मृत्युलाई लिएर विश्वभरि चासो, चिन्ता र शंका प्रकट गरिएको थियो, जुन बेला उनको रहस्यमय तरिकाले जेलमा मृत्यु भएको थियो । चीनमा कोरोना भाइरस नामको नयाँ रोग फेला परेको र त्यो अहिलेसम्मकै गम्भीर तथा विनाशकारी महामारीका रूपमा विश्वभरि फैलिन सक्ने प्रबल सम्भावनाको प्रक्षेपण गरेर उनले प्रस्तुत गरेको रिपोर्ट कम्युनिस्ट सरकारका अधिकारीले वास्ता नगरेपछि त्यसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मा पुर्‍याएर विश्व समुदायको गम्भीर ध्यानाकर्षण मात्र गराएका थिएनन्, सावधान रहन सचेत पनि गराएका थिए । उनको मानव कल्याणप्रति समर्पित त्यस्तो प्रयासलाई चीनको कर्मचारीतन्त्रले अनावश्यक अफवाह फैलाएर अन्तर्राष्ट्रिय जगत्मा आफ्नो देशलाई बदनाम गर्न खोजेको आरोप लगाएर उनलाई तत्कालै नियन्त्रणमा लिएको थियो । चीनमा नियन्त्रणमा लिनु भनेको गिरफ्तार गरेर हिरासतमा राख्नु हो । थुनामा रहेकै अवस्थामा उनको मृत्यु भएको र उनको मृत्युका बारेमा उच्चस्तरीय जाँच गर्ने राष्ट्रिय सुपरिवेक्षण आयोगको निर्णयलाई कम्युनिस्ट पार्टीले समेत अनुमोदन गर्न बाध्य हुनु परेको घटनाले उनको मृत्यु, जस्तो कि चिनियाँ सरकारले भनेको छ, कोरोना भाइरसबाटै भएको हो कि हत्या हो ? भन्ने सवाल चीनभित्र मात्र होइन, बाहिर पनि उत्तिबेलै उठेको थियो । उनको चेतावनीलाई समयमा सम्बोधन गर्नुको बदला उनीमाथि देशलाई बदनाम गर्ने षड्यन्त्र गरेको आरोप लगाएर जेलमा थुनिएको र त्यही उनको निधन भएकाले कोरोना भाइरस विश्वभरि संक्रमित भएर जति मानवीय क्षति भएको छ, त्यसको क्षतिपूर्ति चीनले व्यहोर्नुपर्छ भन्ने थप माग उठ्न थालेको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ, चिकित्सक तथा मानवअधिकारवादीहरू डा.लीको हत्याको जाँच तथा छानबिन विश्वसनीय र पारदर्शी तुल्याउन चीन सरकारले होइन, अन्तर्राष्ट्रिय एजेन्सीका प्रतिनिधिहरू सम्मिलित विशेष आयोगबाट हुनुपर्ने माग पनि बढ्दो छ, त्यसप्रतिको समर्थन पनि निरन्तर जारी छ ।

त्यस्तो मागका पछाडिको कारण बडो प्रष्ट छ । जुन डाक्टरले त्यो भाइरस पत्ता लगाए र त्यसको गम्भीरताका बारेमा सबैलाई सचेत गराए, उनी आफैं त्यही रोगबाट मरेको कुरा धेरैलाई हजम हुन नसकेकाले त्यस्तो प्रश्न र माग उठेको हो । उनको मृत्यु यत्ति चाँडै हुँदैनथ्यो भने उनले कोरोना भाइरसका सम्बन्धमा जुन भविष्यवाणी गरेका थिए, त्यसमाथि बृहत् रूपमा खोज र अनुसन्धान हुने थियो । हुन सक्छ, उनलाई विश्व स्वास्थ्य संघको सिफारिसमा नोबेल पुरस्कारले समेत सम्मानित गर्ने थियो । जुन कामले उनलाई त्यस्तो सम्मानको हकदार बनाउने सम्भावना थियो, त्यही काम, चिनियाँ सरकारलाई सुपाच्य हुन सकेन र उनी सरकारी नियन्त्रणमा पुगे । त्यही उनको निधन भयो । ३६ वर्षीय डा.लीको मृत्यु, शंकास्पद, रहस्यमय तथा अकल्पनीय मानिएको कारण त्यही हो । त्यो घटनाको छानबिनलाई अन्तर्राष्ट्रिय जगत्को मान्यता प्राप्त एजेन्सीको रोहवरमा हुनुपर्छ भन्ने माग सबैभन्दा पहिलो चीन भित्रैबाट उठेको थियो । सुरुमा त्यसमाथि कसैले ध्यान नदिएको र अहिले त्यसको भयानक परिणाम झेल्नु परेपछि बल्ल सबैका घैंटामा घाम लाग्न थालेकाले त्यो माग विश्वव्यापी बन्न पुगेको हो ।

चीनसँग त्यस्ता मेधावी चिकित्सक तथा अनुसन्धानकर्ता थिए, जसले नितान्त नयाँ रोगको सघन अध्ययन गरेर त्यस्तो घातक सरुवा रोगलाई नामकरण गरेका थिए– कोरोना भाइरस । त्यत्ति मात्र होइन, उनले त्यो रोग विस्फोट भएपछि महामारी बनेर विश्वभरि फैलिने र संसारलाई नै थर्काउने छ भन्ने भविष्यवाणी पनि गरेका थिए । डा. लीको अध्ययन, विश्लेषण र निक्र्योल कति सही र सटिक रहेछ, त्यो तब सावित भयो, जब उनले भविष्यवाणी गरेअनुसार केही दिनभित्रै त्यसले विश्वव्यापी महामारी बनेर मानव जातिलाई आतंकित तुल्याउन थाल्यो । त्यसपछि सबैले स्वीकार गरे, डा. लीको चेतावनी ठीक थियो, कोरोना भाइरस आधुनिक युगको सबैभन्दा घातक तथा विनाशकारी सरुवा रोग हो । उनलाई डब्लूएचओलाई सूचना दिएर साखुल्य बन्न खोजेको आक्षेप लगाएर चीनविरुद्ध अफवाह फैलाउने आरोप लगाउनेहरू चाहिँ गलत प्रमाणित भए । त्यो निष्कर्षको परिणाम यो भयो कि ज–जस्ले उनलाई कारबाहीको सिफारिस गरेका थिए, रोग फैलिन थालेपछि ती सबै अप्ठ्यारोमा पर्न पुगे । सरकारी चिकित्सा प्रणालीको मेरुदण्ड भनेको चेन अफ कमान्ड हो । त्यही कमान्डका माध्यमबाट जुन सूचना माथिल्लो निर्णायक निकायमा पुगेको थियो र जहाँबाट निःशृत निर्देशनबाट उनलाई हिरासतमा राखिएको थियो, ती सम्पूर्ण प्रक्रिया गलत सावित हुनुको अर्थ हो, त्यसमा संलग्न अधिकारी सबै कारबाहीको भागीदार हुनु । त्यही कारण सबैको मिलेमतोमा उनको हत्या भएको आरोप लगाइएको थियो ।

कम्युनिस्ट पार्टीको एकदलीय शासन व्यवस्था भएको मुलुकमा स्वास्थ्य सेवाको क्षेत्रलाई व्यवस्थित तुल्याउने सञ्जालको चेन अफ कमान्डमा विज्ञ र विशेषज्ञ जतिसुकै कार्यरत भए पनि माथिल्लो निकायको नेतृत्व गर्ने व्यक्ति चाहिँ पार्टीको वरिष्ठ नेता हुनु स्वाभाविक हो । उनैको स्वीकृति अथवा अनुमतिबेगर कसैमाथि कारबाही सम्भव हुँदैन । तैपनि कारबाही भयो र डा. ली हिरासतमा परे । त्यसैबेला जुन रोग महामारी बनेर फैलियो, त्यो कोरोना भाइरस नै हो भन्ने पनि पुष्टि भयो र डा. ली हिरासतको होइन, पुरस्कारको पात्र भएको चर्चा चल्न थाल्यो । आश्चर्यलाग्दो र अविश्वसनीय घटना तब भयो, जब कोरोना भाइरस पत्ता लगाउने डाक्टर आफैं त्यसको सिकार बनेको कथा बाहिर आयो । त्यत्ति मात्र होइन, अर्को दिन त्यही रोगबाट उनको निधन भएको छोटो र संक्षिप्त समाचार पनि आयो । त्यहीबाट सुरु भयो, उनीमाथिको षड्यन्त्र र हत्याको आशंकाको अन्त्यहीन शृंखलाको कथा । यद्यपि चीनको सुपरिक्षण आयोग र कम्युनिस्ट पार्टीसमेतको सहमतिबाट छानबिन आयोग बनिसकेको छ र त्यसले काम पनि थालिसकेको बताइएको छ, तथापि कम्युनिस्ट शासनअन्तर्गत जाँच र छानबिन स्वतन्त्र र निष्पक्ष हुँदैनन् भन्ने आरोपलाई गैरकम्युनिस्ट कसैले पनि खण्डन गर्न सक्तैनन् ।

अब सबाल, कसले कहाँबाट त्यस्तो आततायी सरुवा रोग फैलायो भन्ने आरोप–प्रत्यारोपमा सीमित छैन । त्यो चीनमा उत्पन्न भएर विश्वभरि फैलियो भन्ने पनि दोहोर्‍याइरहन आवश्यक छैन । त्यो तथ्य, घामजत्तिकै छर्लंग छ । यो पंक्ति पाठकहरूसमक्ष पुगुन्जेल त्यो वैश्विक महामारीबाट विश्वका दुई लाखभन्दा बढी मानिस कालकवलित भइसकेका हुनेछन् । त्यो शृंखला अझै रोकिएको छैन, त्यसैले कहाँ पुगेर त्यो क्रम थामिने हो, त्यो पनि भन्न सकिने अवस्था छैन । तर जाँच र छानबिनको माग जुन रफ्तारमा बढ्न थालेको छ, त्यसले चीनलाई प्रतिरक्षामा मात्र होइन, भयानक अप्ठ्यारो स्थितिमा खडा गरिदिएको छ । चीनले कोरोना भाइरस आफ्नो देशबाहिर जानीजानी फैलाएको आरोप पुष्टि हुन नसक्ला अथवा त्यसलाई सावित गरे पनि दण्ड र सजायका निम्ति भागीदार तुल्याउन सहज नहोला । तर त्यो रोगको महामारी चीनबाट फैलेको र त्यसलाई पत्ता लगाउने चिकित्सक डा. लीको हत्या रोक्न नसकेको आरोपबाट भने चीन बच्न सक्ने छैन । राजनीतिक र कूटनीतिक माध्यमबाट चीनलाई अभयदान पनि होला । त्यसो भन्दैमा हेगको अन्तर्राष्ट्रिय अदालत जानबाट कसैले कसैलाई रोक्न सक्ने छैनन् । दोस्रो विश्वयुद्धमा जर्मनीका तानाशाह हिटलरले मार्न लगाएका यहुदीहरूको संख्या नजोड्ने हो भने ६ वर्ष लामो महायुद्धमा पनि दुई लाखको मृत्यु भएको थिएन । अहिले चार महिनामा कोरोनाले त्यो संख्या उछिनिसकेको छ । अझै पनि सत्रौं शताब्दीका प्रसिद्ध लेखक जोन बुनियानको पुस्तक– ‘दि पिल्ग्रिम्स प्रोग्रेस’ झैं कोरोनाको यात्रा निरन्तर अघि बढिरहेको छ । के मानवअधिकारवादी कुनै संस्थाले त्यसको उद्गम, विकास र विस्तारको खोजखबर र छानबिन गरिपाउँ भन्ने माग गरे भने चीनमा डा. लीको जे नियति भयो, हेगबाट पनि त्यही दोहोरिन सक्ला कि मानवीय मूल्य, मानवअधिकारको प्रश्न र न्याय असान्दर्भिक भइसकेको छैन भन्ने सन्देश प्रवाहित होला, त्यो देख्न कोरोना भाइरसबाट बच्न जरुरी छ, अनि मात्र ‘जिवितं किम् नदृश्यते’ सार्थक हुनेछ ।